Bp-Sahबीपी साह

टीकापुर घटनापछि कैलालीका तीन गाविस निकै प्रभावित छन् । मुनुवा, थापापुर र जोशीपुर । यी गाविस टीकापुर छेउछाउका हुन् । जहाँ थारुहरूको बाहुल्य छ । थरुहट प्रदेशको माग गर्दै भइरहेको आन्दोलनका क्रममा टीकापुरमा सात प्रहरी र एक बालकको ज्यान जाने गरी हिंसा भड्कियो, गत भदौमा । त्यसपछि ती गाविसवासी भयमा बाँचिरहेका छन् ।
एक्लै कोही नयाँ मान्छे त्यहाँ पुग्यो भने उसलाई नयाँ ग्रहबाट आएको जस्तो व्यवहार गरिन्छ । न कोही बोल्न चाहन्छ न त कोही कसैको घर देखाउन चाहन्छ । गत हप्ता यो पंक्तिकार र एक पुरुष थारु मानवअधिकारकर्मी ती गाविसमा पुग्यौँ । त्यो दिन त्यस गाउँका केही महिला हामीसँग कुरा गर्न मानेनन् । गाउँमा जान्ने–सुन्ने खालको कोही पुरुष थिएनन् । त्यो दिन हामी त्यत्तिकै टीकापुर फर्कियौं ।

दोस्रो दिन, त्यस क्षेत्रसँग चिनजान भएकी एक थारु महिला मानव अधिकारकर्मीसँगै गयौँ । उनको घर पनि त्यतैतिर भएकाले त्यस गाउँका महिलासँग उनको राम्रो सम्बन्ध थियो । त्यसैले त्यहाँका स्थानीयसँग कुराकानी गर्न सजिलो भयो ।
थापापुर गाविस नवलपुरकी करुणा चौधरी (नाम परिवर्तन) सँग कुराकानी भयो । उनका अनुसार उनका श्रीमान भारतीय बजारबाट आलु र प्याज ल्याएर गाउँमा बेच्थे । आफ्नै घरमा उनको किराना पसल छ । टीकापुर घटनाभन्दा केही दिनपहिले गाउँमा थारु संघर्ष समिति बनेको थियो । स्थानीय युवाले उनका श्रीमानको नाम पनि संघर्ष समितिमा राखेका थिए । स्थानीय एफएमबाट नाम बजेपछि प्रहरीले उनको घरको निगरानी गर्न थालेको थियो । टीकापुर घटनापछि आन्दोलनमा गएका र नगएका थारुहरू भागाभाग भए । तर, उनका श्रीमान आन्दोलनमा गएका थिएनन् । त्यसैले उनी आरामले राति घरमा सुतेका थिए । ‘रातको ११ बजिसकेको थियो । हामी सबै सुतिसकेका थियौं । अचानक घरको ढोका कसैले ढकढक्यायो । थारु भाषामै ‘दाइ सिगरेट दिनुस्’ भन्दै । हामीले केहीबेर ढोका खोलेनौं । त्यसपछि बन्दुकको कुनाले ढोकामा हान्दै, अपशब्द प्रयोग गरेर गाली गर्न थाले, ढोका खोल होइन भने अहिले ठोकदिन्छु,’ नेपाली भाषा बोल्न नजान्ने करुणा करुण स्वरमा भन्छिन्, ‘त्यसपछि ढोका खोलेर श्रीमानलाई कुट्दै लगे । घरमा रुवावासी मच्चियो । म उनीहरूको पछि लाग्दै चौराहासम्म गएँ, तर पनि छोडेनन् । मलाई एक प्रहरीले बेसरी धकेलिदिए ।’
केही दिनपछि उनी श्रीमान्लाई भेट्न धनगढी पुगिन् । पहिलो दिन टाढैबाट हेर्न मात्र दियो । त्यसपछि उनी एक वकिलसँग बुझिन्, श्रीमानलाई कसरी छुटाउन सकिन्छ भनेर । भोलिपल्ट फेरि श्रीमानलाई भेट्न गइन् । त्यो दिन श्रीमान्सँग पाँच मिनेटका लागि भेट्न दिइयो । करुणा भन्छिन्, ‘मेरो थरुवालाई निकै कुटिएको रहेछ । उनको खुट्टा उठ्दैनथ्यो । पेटभरि खान पनि दिइएको रहेनछ । मेरो थरुवा केही दिनमै निकै दुब्लो भएछन् ।’
थापापुरमा यस्ता कैयौं परिवार छन् । पीडाहरू असैह्य छन् । सुरक्षाका कारण अहिले पनि धेरै कुरा सार्वजनिक गर्ने अवस्था छैन ।
House-of-sakiram-chaudhry

मृतक शाकिराम चौधरीको घर

कमैया बस्तीमा सास्ती
जोशीपुरमा रहेको मुक्त कमैया बस्ती पनि डर र त्रासमा छ । हामी पुग्दा त्यहाँका एकै ठाउँमा थिए । उनीहरु हामीसँग कुराकानी गर्न निकै डराएका देखिन्थे । सर्वप्रथम त उनीहरुलाई हामी पुलिसका सुराकी होइनौँ भनेर प्रमाणित गर्नुपर्दोरहेछ, त्यो पनि मैथली भाषा बोलेर ।
हामी त्यहाँ पुग्नु दुई साताअघि आन्दोलनकारी थारुहरूलाई खोज्दै प्रहरी त्यो बस्तीमा पुगेको रहेछ । तर, कोही युवालाई फेला पारेनछ ।
एकजना सकीराम चौधरी नामका वृद्ध भेटिएछन् । ती वृद्धले जाँड खाएका रहेछन् । उनले प्रहरीसँग मुख लगाएछन् । त्यसपछि प्रहरीले उनलाई कुटपिट गरेछ । भोलिपल्ट बिहान उनी मृत फेला परेछन् । बस्तीका मान्छेले गुपचुप उनको दाहसंस्कार गरे ।
नजिकैको गाउँमा डबल बम भन्ने पहाडी जमिनदारको घरमा उनकी कान्छी छोरी कमलरी बसेकी रहिछन् । कान्छी छोरीलाई बोलाइएछ र अन्य गाउँले जम्मा भएर गुपचुपमै उनको दाहसंस्कार गरिएछ । सकीराम चौधरीको न पोस्टमार्टम भयो न त कुनै मुद्दा नै दर्ता भयो ।
टीकापुरको खड्ग मेमोरियल विद्यालयका एक विद्यार्थीका काका टीकापुर घटनापछि मारिएका छन् । विद्यायलको छात्रावासमा बस्ने ती विद्यार्थीलाई विद्यालयकै सेटमा फोन आयो, काकाको देहान्त भयो भनेर । घरबाट पुनः फोन आयो, कसैलाई नभन्नु र सुरक्षित बस्नु भनेर । ती विद्यार्थीलाई त्यहाँका शिक्षकहरूले सम्झाइबुझाई राखेछन् । र, यो घटना पनि बाहिर आएन ।
हामीले यस्ता दर्जनौं घटनाका पीडितलाई भेट्यौँ । उनीहरूको भिडियो लियौँ, उनीहरुका दुःख खिच्दै गर्दा हाम्रा आँखा रसाउँथे ।
सरकारले सेना लगाएर शान्त गरेपछि कैलालीमा एक ढंगको मुर्दा शान्ति छाएको छ । टीकापुरमा गैरथारुहरूको मानसिकताले कुनै बेला टीकापुरमा पुनः द्वन्द्व निम्तिन सक्छ भनेर थारुहरू निकै डर त्रासमा छन् ।

अस्पतालमै आक्रमण
‘त्यो दिन थारुहरूलाई जिउँदै जलाउनुपर्छ’ भन्दै त्यो भीड टीकापुर अस्पतालमा पस्यो । प्रहरी र स्थानीय भद्र–भलादमीहरू मुकदर्शक थिए । भीडले अस्पतालमा रहेका दुई थारु बिरामीका कुरुवालाई कुटे । झडपमा घाइते थारुहरूलाई खोज्दै थिए । हामीले घाइते थारुहरूलाई स्टोर रुममा लुकाएका थियौं । पछि प्रहरीले पनि घाइतेहरूलाई स्टोर रुमबाटै कुट्दै लगे, घाइतेहरूको रक्तश्राव पनि रोकिएको थिएन । अस्पतालकै साथीहरूले हामीलाई लुक्न भने । म र एकजना थारु अहेब सर ट्वाइलेटमा डेढ घन्टा लुक्यौं । साँझ हामी लुकेरै घर गयौं । त्यो दिनदेखि करिब तीन सातासम्म अस्पताल गएनौं, घरबाट पनि बाहिर निस्केनौं,’ टीकापुर अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट मीना चौधरी (नाम परिर्वतित) को कथा हो ।
स्वास्थ्य क्षेत्र निकै संवेदशील मानिन्छ । जस्तोसुकै युद्धमा पनि स्वास्थ्यकर्मीलाई सहयोग गरिन्छ । तर, टीकापुर घटनापछि एक समुदायका स्वास्थ्यकर्मी शौचालयमा लुकेर बस्नुपर्यो । जहाँ सुरक्षाकर्मी तथा स्थानीय भद्रभलादमी उपस्थित थिए । अस्पताल परिसरभित्रै एक समुदायका कुरुवालाई निर्मम ढंगले कुटियो । किनकि उसको समुदायका मान्छेमाथि प्रहरी मारेको आरोप थियो, र प्रहरीले पनि आन्दोलनमा घाइतेको मलमपट्टी नहुँदै कुट्दै लगे ।
त्यति मात्र होइन, रेडक्रसका सहयोगीले ल्याएका घाइतेलाई प्रहरीले नियन्त्रणमा लिए, उसको स्वास्थ्य अधिकार पनि हनन गरे । अस्पतालभित्रै सुरक्षा निकाय र गैरथारु समुदायले त्यस्तो रुप देखाएपछि टीकापुर घटनामा घाइते भएकाहरू अस्पताल समेत गएनन् । स्थानीय मानव अधिकारकर्मी फेरुलाल चौधरीले भने, ‘थारु समुदायका मानव अधिकारकर्मीमाथि पनि त्यस्तै व्यवहार भयो । हामी पनि बाहिर आउन सक्ने अवस्था थिएन । आन्दोलनका घाइतेहरू पनि घाउको रगत र पीडा दबाएर बसे । अन्य ठाउँमा लुकेर उपचार गराए ।’
(कैलालीबाट फर्केपछि) via ratopati




Leave a Reply

Your email address will not be published. Required fields are marked *