Gachhadar Express his View

मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजय कुमार गच्छदारले यही प्रक्रियाभित्रैबाट सहमति नखोजे थारु समुदाय र मधेसी जनता सीमापारी गएर शरण लिने चेतवानी दिएका छन्। बुधबार लोकतन्त्र र शान्तिका लागि पेशागत सञ्जाल (पापड)का प्रतिनिधिहरुसँग उनले त्यस्तो धारणा व्यक्त गरेका हुन्।
संशोधित विषयगत छलफल जारी रहेकै बेला सहमति खोज्न संविधानसभाका अध्यक्षलाई आफूले गम्भिर ध्यानाकर्षण गराएको औंल्याउँदै सीमापारी गएर शरणार्थी बन्ने वाध्य नपार्न उनले तीन दलका शीर्ष नेताहरुलाई आग्रह समेत गरे। यही प्रक्रियाभित्र ७ प्रदेशमा केही जिल्ला मिलाउने वा ८ प्रदेशमा गएर थारु र मधेसीको माग पुरा नगरे स्थिति गम्भिर बन्ने उनले बताए।
आफू संविधानसभाबाट न बाहिरिने बताउँदै उनले भने- ‘यही प्रक्रियालाई ५-१० दिन बढाएर सहमति खोजौं । तीन दलका नेताले चाहे हुन्छ । यस्तै बल प्रयोग गरेर संविधान जारी भए कैलाली, कञ्चनपुरका ५ लाख थारु र मधेसका जनता नेपालको सीमा पारी गएर शरण लिए नेपालको अवस्था के हुन्छ? अहिले त्यहाँका जनताको मनस्थिति त्यही छ। राज्यले दमन गर्दै जाने, आफ्नो माग पूरा नगरे त्यहीँ अवस्था आउँछ। त्यसबेला अन्तर्राष्ट्रिय समुदायले के भन्छ? यस बारे नेताहरुले सोचेका छैनन्।’

आफ्नो लामो प्रयासपछि १६ बुँदेसम्म आइपुगेको सन्दर्भ उल्लेख गर्दै सबै नेताहरुको मनोविज्ञान बुझेकाले यही प्रक्रियाबाट सहमति सम्भव भएको उनले बताए। ‘पटक-पटक नेताहरुको घरमा पुगेर यो वातवरण बनाएको हुँ। मेरै घरमा लिएर भात, मासु, ह्वीस्की खुवाएर उनीहरुको मनोविज्ञान बुझेर यहाँसम्म लिएको हुँ। निकासका लागि थुप्रै उपाय दिएँ। उनीहरु मान्दैनन । सानो आफ्नो स्वार्थमा उनीहरु काम गर्छन । मलाई प्रधानमन्त्री हुनु छैन । राष्ट्रपति हुनु पनि छैन । आखिर हुने उहाँहरु नै हो । सहमतिमा जाऔं भन्दा मान्नुहुन्न’, गच्छदारले पापड प्रतिनिधि मण्डलसँग भने ।

प्रधानमन्त्री सुशील कोइराला बाहेक सबै शीर्ष नेताहरु एकै पुस्ताका भएकाले अहिले संविधानसभाबाट संविधान जारी गरेरमात्रै सबैको लक्ष्य पूरा हुने उनले बताए। ‘अघिल्लो पुस्ता जस्तो लाग्ने सुशील कोइराला मात्रै हुनुहुन्छ । हामी अरु सबै एउटै पुस्ताका शिर्ष नेतृत्वमा छौं । हामीहरु पढेलेखेका, पुराना र नयाँबाट अनुभव लिएका नेतृत्वमा छौं यस्तो मौकामा पनि हामीले सहमतिबाट संविधान लिन सकेनौं भने हामी सबै एकै पटक समाप्त हुन्छौं’, गच्छदारले भने ।

-everestdaily




Leave a Reply

Your email address will not be published. Required fields are marked *