मदन चौधरी- विगत ९ वर्षदेखि रंगकर्मीको रुपमा परिचित छिन् सरस्वती चौधरी। बर्दियाबाट नाटककै लागि राजधानी प्रवेश गरकी उनले यहाँसम्म आइपुग्न धेरै मेहनत गरेको बताइन्। सत्यमोहन जोशीको चर्चित नाटक बाघ भैरवबाट क्यारियर सुरु गरेकी सरस्वतीले एल्ममुनिको तिर्खा, मायादेबीको सपना, ताराबाजी लैलै र बुख्याँचासहित डेढ दर्जन नाटक खेलेकी छन्। उनै अभिनेत्रीसँग गरेको कुराकानी पढ्नुस् :

नाटकमा प्रवेश गरेको कति भयो?
८ वर्ष पूरा लागेर ९ वर्ष लाग्यो।

रंगमञ्चमा कसरी आइयो ?
सुरु सुरुमा गुरुकुल भनेको केही थाहा थिएन। साँच्चै भन्नुपर्दा नाटक भनेको के हो भन्ने कुरै थाहा थिएन। म गाउँको स्कुलमा फर्स्ट केटी थिएँ। स्कुलमा हुने विभिन्न कार्यक्रममा भाग लिन्थे। बाल चेतना समूहअन्तर्गत अभियान पनि चालाउँथे। एक जना सुशील चौधरी दाइ हुनुहुन्छ। उहाँले इन्सेकको कार्यक्रम लिएर हाम्रो गाउँ आउनुहुन्थ्यो। निर्देशक सुनिल पोखरेलले उहाँलाई एउटा थारु केटी चाहिएको भनेर प्रस्ताव गर्नुभएको रहेछ। जसले थारु भाषा, सांस्कृतिबारे जानेको होस्। त्यही प्रस्ताव सुशील दाइले मलाई गर्नुभयो।

अनि प्रवेश सजिलै भयो?
उहाँको प्रस्ताव आएपछि मैले एउटा फर्म भरेँ। फर्म भरेको केही हप्तामा अन्तर्वार्ताका लागि काठमाडौं आउनुपर्ने भो। २०६१ साल थियो। सेलेक्ट हुने हो कि नहुने हो मन ढुकढुक भइराथ्यो। अन्तर्वार्ता दिइयो र सेलेक्ट पनि भइयो।

गुरुकुलका दिन कसरी बिते?
यो ८ वर्षमा धेरै मेहनत गरेकी छु। प्रवेश पाएलगत्तै हामीले नाटक खेल्‍न पाउँदैन्थ्यौं। दुई वर्ष हाम्रो ट्र्याल पिरिएड हुन्थ्यो। त्यस दौरान धेरै दुःख खेपियो। भन्नुपर्दा आर्मी ट्रेनिङ नै दिनुपर्थ्यो हामीले। बिहान पाँच बजेदेखि रातिसम्मै डान्सदेखि मार्सल आर्टसम्मको क्लास हुन्थ्यो। अनि सडक नाटकमासमेत जानुपर्ने। सडक नाटकका लागि कहाँ कहाँ पुग्थ्यौं हामी। त्यहीबेला धेरै विद्वानका सिद्धान्त घोकियो। तेस्रो वर्षदेखि बल्ल हामी गुरुकुलको नाटकमा प्रवेश पायौं। अहिले बल्ल थाहा हुन्छ त्यतिबेलाको दुःखले अहिले कति सजिलो बनाइदिएको छ। किनकि अहिले हरेक नाटकमा ती कुराहरु दोहोरिन्छन्।

कुन नाटकदेखि तपाइँको यात्रा सुरु भयो?
सत्यमोहन जोशीले लेख्‍नुभएको नेवारी नाटक ‘बाघ भैरव’ मेरो पहिलो नाटक हो। नजानेर गरेजस्तो लाग्याथ्यो। तर राम्रो प्रतिक्रिया पाएँ। नाटक पनि सुपरहिट भएर दिनमै तीन सोसम्म गर्नुपरेको थियो।

अनि त्यसपछि ?
त्यसपछि अनुप बरालको नाटक खेले। अनि मायादेबीको सपना। ताराबाजी लैलै, सुनिल पोखरेलको प्रायः सबै नाटक खेलेँ। बुख्याँचासहित डेढ दर्जन जति नाटक खेलेँ होला।

विदेशी रंगमञ्चमा पनि नाटक देखाउनुभयो?
अँ… बेलायत, चीन र भारतका विभिन्न थियएटरमा नाटक गरेँ।

विदेशी भूमिमा नाटक देखाउँदा कस्तो महसुस हुन्थ्यो।
एउटा रंगकर्मीका लागि थियएटर नै सबै कुरा हो। त्यसैले होला जहाँ जाँदा पनि म थिएयटर पर्सन भएकीले खासै भिन्नता भेटाउँदिन्। बाहिरका कलाकार नेपाल आउँदा पनि मलाई उस्तै लाग्छ। उनीहरुको लवाइ खवाइ काम गराई सबै उस्तै लाग्छ। हामीबीच यो नाटक उस्तो त्यो नाटक तेस्तोबारे मात्र कुरा हुन्छ।

अडियन्सले तपाइँको कुन नाटक सबैभन्दा बढी मन पराए?
बढी मन पराइएको नाटक एल्ममुनिको तिर्खा हो। जुन मेरो क्यारियरकै टर्निङ प्वाइन्ट पनि हो। त्यसपछि ताराबाजी लै लै र बाघ भैरव।

अडियन्ससँग कनेक्सन कस्तो छ नि?
मेरो र अडियन्सको कनेक्सन राम्रै छ। फ्यानहरु आ-आफ्नै तरिकाका छन्। तपाइँको यो मन पर्‍यो त्यो मन परेन भनेर फेस टु फेस प्रतिक्रिया गर्नेहरु पनि छन्। कोही कोही भने फेसबुकतिर प्रतिक्रिया दिनुहुन्छ। कसैले कल गरेरै पनि प्रतिक्रिया दिनुहुन्छ।

८ वर्ष काम गर्नुभयो। तर मिडियामा तपाइँकोबारे त्यति सुनिन्न नि?
मिडियामा नआएकोप्रति कुनै बेला दुःख चैं लाग्छ। नाटक सकिनेबितिकै पहिले पहिले पत्रकारहरु प्रतिक्रिया लिन आउनुहुन्थ्यो। मै ह्याँ भन्दै पन्छिन्थे। साथीहरु भने मजाले गएर प्रतिक्रिया दिनुहुन्थ्यो। अहिले आएर महसुस गर्छु। मिडिया चाहिने रहेछ भनेर।

सँगै काम गर्ने साथीहरु मिडियामा जमिरहेका बेला आफू ओझेलमा परिएजस्तो लाग्दैन?
ओझेलै परियाजस्तो चैं लाग्दैन। किनकि उहाँहरु मभन्दा सिनियर हुनुहुन्छ। मिडियाले पनि सिनियरको कभरेज गर्नु नराम्रो होइन। बरु यो बेला उहाँहरुको यति धेरै मिडिया कभरेज हुन्छ भने भविष्यमा मेरो पनि त्योभन्दा धेरै हुन्छ होला जस्तो लाग्छ। अर्को कुरा के भने मिडियामा कसैको कनेक्सनले नै सेलिब्रेटीहरु हाइलाइटेड हुन्छन्। जसको हुँदैन त्यो ओझेलमा पर्छन्।

गुरुकुल भत्कियो? कस्तो लाग्याथ्यो भत्‍काउने बेला?
गुरुकुल भत्काउँदा धेरै दुःख लाग्यो। म आएदेखि गुरुकुलमै बस्थेँ। मेरो आफ्नै घरजस्तो लाग्थ्यो। आफैँले बनाएका कोठा, आफैँले बनाएका क्यान्टिन त्यसरी भत्काउँदा यति पीडा भएन! साँच्चै भन्नुपर्दा भत्काउने दिन हामी खुब रोयौं।

सरकार गुरुकुलको लागि जग्गा दिने भनेको छ नि?
अँ। भृकुटीमण्डपमा दिने भनेको हो। हामी त्यो भवनको ब्यग्र प्रतिक्षामा छौं। नयाँ जोश, नयाँ उमंगका साथ काम गर्न हामी प्रतिक्षारत छौं।

अहिले के व्यस्त हुनुहुन्छ?
अमेरिकन डिरेक्टरको ‘नेपाली आमा’ हालै अन्तर्राष्ट्रिय नाटक महोत्‍सवमा देखाइयो। त्यही नाटक सर्वनाम थियएटरमा पनि देखाउने प्लान छ।

अनि कतिको कमाई हुन्छ यो क्षेत्रमा?
हाम्रो कमाई नाटकको प्रोडक्सन, नाटकको अविधमा डिपेन्ड पर्छ।

फिल्म खेल्ने प्लान छैन?
प्रतीक्षामा हो। फिल्मका अफरहरु नआएका होइन, तर फिल्मको क्यारेक्टर मन नपरेकाले नगरेकी हुँ।

कस्तो क्यारेक्टरको खोजीमा हुनुहुन्छ?
एउटा रंगकर्मी भएको नाताले म क्यारेक्टरलाई बढी फोकस दिन्छु। राम्रो क्यारेक्टर भएको फिलिममा प्रस्ताव आए पक्कै गर्नेछु।

थप तस्बिर हेर्न यहाँ क्लिक गर्नुस् 




Leave a Reply

Your email address will not be published. Required fields are marked *