rajendra mahatoसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले मोर्चा घटक सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई अघोषित रूपमा कारबाही गरेको छ। मोर्चाको औपचारिक निर्णयबिनै नाकाबन्दी खोल्ने जानकारी दिएको भन्दै महतोलाई मोर्चाको बैठकले अघोषित रूपमा कारबाही गरेको हो।

‘आन्दोलनकै क्रममा सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको हुँदा अब उप्रान्त यस्ता क्रियाकलाप नगर्न/नगराउन मोर्चा निर्देश गर्दछ,’ मोर्चाले भनेको छ। नाका अवरोध स्थगित गर्नेलगायत मोर्चाको प्रेस विज्ञप्तिमा पनि अध्यक्ष महतोको हस्ताक्षर छैन।

सानोठिमीस्थित तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको पहिलो चरणको बैठकमा औपचारिक निर्णयबिनै ‘नाका खुल्ने’ अभिव्यक्ति दिएको भन्दै मोर्चाले उनलाई लिखित माफी माग्न अनुरोध गरेको तमसपा अध्यक्ष महेन्द्र राय यादवले बताए। ‘मोर्चाको निर्णयबिनै नाका खोल्ने अभिव्यक्ति दिएर आन्दोलनलाई क्षति पुर्याेएकाले उहाँलाई लिखित रूपमा माफी माग्न अनुरोध गरेका थियौं तर उहाँले माफी माग्नुभएन,’ यादवले भने, ‘दोस्रो चरणको बैठकमा आउँछु भनेर पनि नआएको र माफी पनि नमागेकाले उहाँलाई सचेत गराउने निर्णय मोर्चाले गरेको हो।’ उनको अभिव्यक्तिका कारण जारी आन्दोलनमा क्षति पुगेको मोर्चाको निष्कर्ष छ।

बिहान ८–११ बजेसम्म पहिलो चरणको बैठकमा महतोलाई लिखित माफी माग्न लगाउने र नाका अवरोधलगायत विषयमा छलफल केन्द्रित भएको थियो। तर, महतोले आफ्नो जस्तो अभिव्यक्ति संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमसपा अध्यक्ष महेन्द्र रायले पनि दिएको भन्दै माफी माग्न अस्वीकार गर्दै हिँडेका थिए। उक्त बैठकमा अध्यक्ष तहका नेता मात्रै उपस्थिति थिए।

दोस्रो तहका नेतासहित दिउँसो पुनः बसेको मोर्चाको बैठकमा आउन महतोले आनाकानी गरेको र माफी माग्न पनि अस्वीकार गरेपछि मोर्चाले महतोको नाममा निर्देशन नै जारी गरेर अघोषित कारबाही गरेको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *