नशानशामा रंगमञ्च : इन्द्र चौधरी

इन्द्र चाैधरी।
रंगमञ्चको संसार एक अद्भुत संसार। विल्कुलै नयाँ अनि फरक संसार। यही संसारमा भर्खरै बामे सरिरहेको म एक कलाप्रेमी बबुरो, थाहा छैन उभिन सक्छु या सक्दिनँ। तर अहिले भने रंगमञ्च मेरो नशानशामा दौडिरहेको छ। मैले रंगमञ्चको संसारमा जानीनजानी प्रवेश गरे पनि यसले मेरो जीवनमा एउटा ठूलो परिवर्तन ल्याएको छ। यसले मेरो सोच नै परिवर्तन गरिदिएको छ।

मैले रंगमञ्चमा धेरै नाटक त गरेको छैन। हालसम्म जनयुद्ध जारी छ ? , चाँपको फूल, लोकतान्त्रिक बहस, इक्वालिटी, ह्वाट अ बिग क्वाइस्चेन, भुरभुरा रहरलगायत करिब आधा दर्जन नाटकमा अभिनय गरेको छु। जति नाटक गरेँ, त्यसबाट धेरै सिक्ने प्रयास गरिरहेको छु।

रंगमञ्च सोचेजस्तो भने त्यति सजिलो छैन। सर्वनाम थिएटरमा यही असोज ५ बाट सुरु भएको ‘जनयुद्ध जारी छ ? ’ नाटकको समापन असोज २१ मा भयो। तर, यसको कार्यशालाको समय सुन्दा तपाईंहरूलाई अचम्म लाग्न सक्छ। यो नाटकको कार्यशाला वैशाख २१ गते सुरु भएको थियो। नाटक समापन हुँदा ठ्याक्कै पाँच महिना लाग्यो। यो नाटकको मुख्य पात्र म पनि थिएँ। यसको नियम थियो— बिहान ७ देखि बेलुका ७ बजेसम्म कार्यशालामा बस्नुपर्ने।

कलेज, जागिर, अन्य आफ्ना प्राइभेट काम सबै छोड्नुपर्ने। एउटा हलभित्र दैनिक नौ घण्टा अभ्यास अनि छलफल। सायद यति समय दिन कसैलाई पनि त्यति सजिलो छैन। त्यसमा पनि एउटा शिक्षित बेरोजगारका लागि यो समय चानचुने होइन।

म भर्खर स्नातकोत्तर सकेर गाउँ गएको थिएँ। गाउँमा कक्षा १० सम्म पढाउने जागिर पाएको थिएँ। नाटक गर्ने भन्ने खब्र सुन्नासाथ म जागिरसागिर छाडेर हुत्तिएर काठमाडौं आइपुगे। र, सबै काम छाडेर कार्यशालामा सहभागी भएँ, सबैबाट टाढा भएँ।

कतिपय साथीहरू ठूलो भइस् भनेर रिसाए पनि। एकातिर घरपरिवारको चिन्ता। घरबाट फोन आउँदा बुवाले भन्नुहुन्थ्यो, ‘तँ अझै पनि नाचगानमा छस्। भन्, कति कमाइस् ? ’ साथीभाइहरूले भन्ने गर्थे, ‘पैसाले त बैंक भरिसकियो होला।’ तर म मनमनै नरोएको कुनै दिन थिएन। तर पनि म दृढताका साथ आफ्नो काममा लागिरहन्थेँ। यसलाई म के भनूँ पागलपन ?

असोज २१ गते नाटक ‘जनयुद्ध जारी छ ? ’ सकिएलगत्तै २७ गते गुरु अशेष मल्लको नाटक ‘भिक्षाम् देही’ गर्नु छ भन्ने खबर सुनेर म झनै उत्साहित भएँ। दसैंको माहोल थियो। कसैलाई सपिङ गर्न त कसैलाई भने गाडीको टिकट बुकिङ गर्न हतार। तर, मलाई अर्को नाटकको बारेमा चिन्ता थियो। गाडीको टिकट बेलैमा बुकिङ गर्ने मेलेमेसो नमिल्दा घर जान पाइनँ। त्यति बेला काठमाडौं र मेरो हालत उस्तै थियो— सुनसान, केवल सुनसान। अरूहरू आआफ्नो घरमा दसैँ मनाइरहेका बेला म एक्लो सुनसान कोठामा किताबहरूसँग आफ्ना भावनाहरू साट्दै केही योजना बनाइरहेको हुन्थेँ।

उता आमाबुवाबाट दसैंको टीका थाप्न नपाउँदाको पीडा थियो। यता गुरु तथा रंगमञ्चका सम्पूर्ण अग्रजबाट टीका थाप्न पाउँदा मन खुसीमा परिणत भयो। राम्रो काम अनि असल मान्छे बन्न सके जुनसुकै ठाउँ पनि आफ्नो हुन सक्छ, मलाई रंगमञ्चले यही पाठ सिकायो।

रंगमञ्च अति नै चुनौतीपूर्ण क्षेत्र हो। चुनौती हुँदाहुँदै पनि अति सम्भावना बोकेको क्षेत्र पनि। नेपाली रंगमञ्च विस्तार हुने क्रममा छ। यो सबैको पहुँचमा आइसकेको छैन। यसलाई पूरै राष्ट्रभरि फैलाउन जरुरी छ। सरकारी तवरबाट पनि रंगमञ्चलाई हेरिनुपर्छ भन्ने मलाई लाग्छ।

सबैभन्दा महत्वपूर्ण कुरा, रंगमञ्चमा आबद्ध भएका र हुन चाहनेलाई बाँच्नका लागि पारि श्रमिक पाउने वातावरण बनाउनु आवश्यक छ। यसो गर्दा उसले त्यही कामबाट जीवन निर्वाह गर्न सक्छ। अनि समाज रूपान्तरणमा सहयोग गर्न सक्छ। जय रंगमञ्च, जय रंगकर्म।

अन्नपूर्ण शैलीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *