बाँके बैजनाथमा पूर्वकमैया होमस्टे

ठाकुरसिंह थारु/कान्तिपुर दैनिक

बाँके बैजनाथ गाउँपालिका–१ गाभरफाँट । उत्तर र पूर्वतर्फको चुरे छ भने दक्षिण र पश्चिम सामुदायिक वनले घेरिएको छ । उपत्यका (भ्याली) झैं लाग्ने सुन्दर फाँटमा लस्करै तीनवटा होमस्टे सञ्चालनमा छन् । पहुना बस्नका लागि चिटिक्क परेका साना घर छन् । खाजा खान र विश्रामका लागि गोल घर । त्यसका मालिक हुन् पूर्वकमैया परिवार ।

कोहलपुरबाट करिब सात किलोमिटर सुर्खेत राजमार्गदेखि पूर्वतर्फ नमुना थारू होमस्टे पर्छ । नमुना होमस्टेका हालका मालिक मानिने पुरुष कुनै दिन कमैया बस्थे । महिलाहरू जमिनदारका घरमा कम्लरी । पूर्वकमैया परिवार आज होमस्टेमा आउने पाहुनाको सेवा–सत्कारमा लागेका छन् । त्यहाँ आउने पहुनालाई अर्गानिक परिकारले अतिथि सत्कार गर्छन् ।

त्यसो त कम्लरी बस्दा महिलाले जमिनदारका सेवामा जुट्थे । उनीहरूकै लागि काम गर्थे । त्यसबापत मुस्किलले वर्षमा दुई/चार बोरा धान पाउँथे । हाल होमस्टे व्यवसायले उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याइदिएको छ । ‘यो अवस्थामा हुन्छौं भनेर सोचेका पनि थिएनौं । तर, कर्मले यहाँसम्मको सफलता मिलेको छ,’ दङ्गाली होमस्टे सञ्चालक फूलपति चौधरीले भनिन् ।

चेतना आएदेखि कम्लरी बस्न जमिनदार घरमा पुगेकी फूलपति बुझाउन चौधरीसँग बिहेबारी गरेपछि पनि कम्लरी नै रहिन् । कम्लरी मुक्ति नहुँदासम्म उनी अरूकै घरमा गरिन् । केही वर्षपछि जमिनदारको ऋण तिर्न नसकेर जन्मथलो दाङबाट बुझाउन पत्नी लिएरै बाँकेको गाभर आए । दाङबाट भाग्दा ट्रकमा बसेर आएको उनीहरूलाई सम्झना छ । ‘विगत सम्भिँmदा हाँसउठ्छ ।

रातारात भागेर त आइयो तर यहाँ पनि खोज्न आउला भन्ने डरत्रास छँदै थियो,’ होमस्टेकै काममा व्यस्त बुझाउनले सुनाए, ‘धन्न जमिनदार यहाँसम्म खोज्न आएन । धेरै वर्ष काम गरिदिएकाले पनि खोज्न नआएको हुन सक्छ ।’

दाङबाट भागेर आएका उनीहरूसँग बस्ने घर हुने कुरै थिए । बासका लागि स्थानीय गणेश चौधरीले सहयोग गरे । केही दिनपछि त्यहाँको ऐलानी जग्गामा छाप्रो बनाए । पेट पाल्नैपर्ने । तर, खेतीका लागि जग्गा भएन । कमैया बस्ने कुरै भएन । जग्गाधनीसँग अँधिया अनाज लिनेदिने गरी बटैयामा खेती लगाए । खेतीको समयबाहेक दुवैले मजदुरी गरे । तर, मजदुरीले पनि जीवन धन्न धौ भयो । दाङबाट भागेर आउँदा बास दिने गणेशले नै होमस्टे चलाउन सुझाए ।

स्रोत साधन भएन । नजिकैको सामुदायिक वनबाट काठ सहयोग मागे । मजदुरी गर्दा सिकेको सीप र कमैया बस्दाको जाँगर लगाए । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पनि होमस्टे स्थापनामा बल पुर्‍याएको हो । उनीहरूले आफ्नै पौरखमा होमस्टेका लागि टहरा बनाए । पाहुना खानपिनका लागि गोलघर निर्माण गरे । ‘सामुदायिक वनबाट काठ पायौँ । आफ्नै परिश्रमले होमस्टेका लागि आवश्यक पर्ने संरचना बनायौँ,’ फूलमती भन्छिन्, ‘श्रीमान्लाई काठको काम गर्न आउँछ । आफैंले गोलघर र पहुना बस्ने घर बनायौँ ।’ होमस्टे बनाउँदा मिस्त्री र कामदार राख्नै परेन । ‘सबैथोक आफैं गर्‍यो । श्रीमान्ले काठको काम गर्नुभयो । मैले घर लिपेर सहयोग गरें,’ फूलमतीले सुनाइन्, ‘आफैंले श्रम गरेपछि धेरै पैसा घर भएन ।’

चारैतिर हरियालीले घेरिएको छ । शान्त वातावरण छ । मोटरको आवाज छैन । फोहोरको नामनिसान छैन । पातलो बस्तीका कारण यो क्षेत्र फोहोरमुक्त छ । कोलाहलबाट मुक्ति पाउन सर्वसाधारणहरू परिवारसहित घुम्न पुग्छन् । नजिकैको सामुदायिक वनमा घुमफिर गर्छन् । जंगल सफारीको पनि व्यवस्था छ ।

बाँके राष्ट्रिय निकुञ्जले सफारीको व्यवस्था गरेको हो । त्यसैले होमस्टेमा आन्तरिक पर्यटकको घुइँचो देखिन्छ । थारू अर्गानिक परिकारको जिब्रोमा झुन्डिने स्वाद छ । लोकल कुखुराको मासु छँदै छ । थारू समुदायको लोकप्रिय परिकार ढिक्री, घोंघी, सिद्रा र सिन्कीको चटनी, आलुको अचार । परिकार सस्तो पनि छ । एक रात बिताउन कोठाको मूल्य जम्मा चार सय रुपैयाँ छ । थारू समुदायले बनाउने महसवाको लोकल रक्सी र अनदी चामलको गुरुगुरी जाँरको स्वाद पनि लिन सकिन्छ ।

पूर्वकमैया ३ परिवारले ३ वर्षअघि सुरु गरेका तीनैवटा होमस्टे आत्मनिर्भर भइसकेका छन् । होमस्टे सञ्चालन गरेपछि परिवारका सबै सदस्यले घरमै काम पाएका छन् । महिलाहरू अर्गानिक खानपिनका परिकार बनाउँछन् । विद्यालयबाट फर्किएपछि छोराछोरी सामुदायिक वनबाट दुनाटपरीका लागि पात ल्याउँछन् । ‘होमस्टे व्यवसाय निकै राम्रो भएको छ । गाउँमा घुम्न आउने पहुनाका कारण आम्दानी बढेको छ,’ न्यू दंगाली अर्गानिक होमस्टेका मालिक तथा पूर्वकम्लरी शर्मिला चौधरी भन्छिन्, ‘कम्लरी बस्दा अरूको घरमा काम गर्‍थ्यौं । अहिले आफ्नै घरको कामले फुर्सद पाएका छैनौं ।’

कम्लरी बस्दा अरूका लागि परिश्रम गर्ने उनी एकाबिहान उठ्छिन् । ढिक्री, खुर्सानीको चटनी र आलुको अचार बनाउन जुट्छिन् । श्रीमान् बालकृष्ण चौधरी लोकल मुर्गा खोज्न पुग्छन् । किनभने त्यहाँको पहिचान नै लोकल कुखुराको मासु हो । ‘अहिले निकै राम्रो भएको छ । यही व्यवसायले दामसँगै पहिचान पनि दिलाएको छ,’ अर्गानिक होमस्टेका सञ्चालक बालकृष्ण भन्छन्, ‘होमस्टे खोलेपछि पहुनाको सत्कार गर्ने ठिक्क छ । अरू काम गर्ने फुर्सदै छैन ।’

नमुना होमस्टेका सञ्चालक बाबुराम र आशा चौधरीको जीवनमा पनि होमस्टेले ठूलो परिवर्तन ल्याइदिएको छ । उनीहरूलाई विगत सम्झिँदा आश्चर्य लाग्छ रे । ऋण तिर्न नसकेर दाङबाट भागेर नआउँदा अझै कसैको घरमा काम गर्थे होला । नभए मजदुरी गर्दै जीवन गुजारा गर्नुपथ्र्यो । ‘तर, यहाँ आएर ठीकै गरेका रहेछौं । कम्तीमा आफ्नो मालिक आफैं हुन सफल भएका छौँ,’ बाबुराम भन्छन्, ‘पहुना बढी आउन थालेकाले होमस्टे अझै बढाउने योजनामा छु ।’

पूर्वकमैयाले सञ्चालन गरेको होमस्टेमा साना कार्यक्रम पनि सहजै गर्न सकिन्छ । २० जनाभन्दा बढीका लागि बास सहज छ । एट्याच बाथरुमसहितको सफासुग्घर कोठा छन् । गोलघरमा परम्परागत घण्ट राखिएका छन् । कुनै परिकार माग्न परे घण्ट बजाए पुग्छ । बिजुलीको व्यवस्था छ । विद्युत् नभएका बेला सोलार छ ।

थारूको पहिचानका रूपमा रहेको करुवामा शुद्ध खानेपानीको व्यवस्था छ । होमस्टे घर छेउछाउमा फूल फुलेका छन् । ‘यो पेसाले छोराछोरीलाई मजाले पढाएका छौँ । केही जग्गा पनि किनेका छौँ,’ पूर्वकम्लरी आशाले सफलता सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *