प्राज्ञिक व्यक्तित्व र सामाजिक अभियन्ता डा. गोपाल दहित

इन्द्रेणी थारु।काठमाडौं।
सामाजिक आन्दोलनको नेतृत्व गर्दागर्दै उनी राजनीतिमा प्रवेश गरेका हुन् । सामाजिक मुद्दाहरु राजनीतिक तवरले मात्र सम्बोधन हुन सक्छ भन्ने बुझेपछि उनलाई राजनीतिमा प्रवेश गर्न करै लाग्यो । तर उनी आफूलाई नेताभन्दा बढी सामाजिक अभियन्ता भन्न रुचाउँछन् । आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउने थारु नेता हुन् डा. गोपाल दहित ।

बर्दियाको राजापुरमा कल्टी दहितको कोखबाट उनको जन्म भएको हो । उनका बुबा खोमलाल दहित पञ्चायतकालीन अगुवा थिए । बुबा नै राजनीतिमा सक्रिय भएकाले उनी पनि राजनीतिबाट टाढा हुन सकेनन् । करिब २० वर्षसम्म सामाजिक आन्दोलनमा होमिएका गोपाल अन्ततः राजनीतिमा सक्रियता बढाउँदै सासंद तथा मन्त्री पनि भइसकेका छन् ।

अधिकारमुखी विभिन्न आन्दोलनहरु आदिबासी जनजाति आन्दोलन, थरुहट आन्दोलन, कमैया कमलरी आन्दोलनहरुमा उनको सक्रिय सहभागिता थियो । नेकपा माओवादीले चलाएको सशस्त्र जनयुद्धका बेला तत्कालीन शाही सेनाले उनलाई गिरफ्तार गरी महिनौ दिनसम्म हिरासतमा राख्यो । त्यसबेला उनलाई विभिन्न तरिकाले मानसिक यातना दिने काम भयो । तर त्यही हिरासतको बसाइलाई उनले फलदायी बनाउने सोच बनाए ।

विभिन्न थारु शब्दहरुको संगालोलाई थारु शब्दकोषको रुप दिए । त्यही थारु शब्दकोष नै थारु शब्दहरुको पहिलो ‘डिक्सनरी’ पनि बन्न गयो । हालसम्म उनका १४ पुस्तकहरु प्रकाशित भइसकेका छन् । यसरी उनले आफ्नो बहुआयामिक परिचयमध्ये प्राज्ञिक व्यक्तित्वको परिचय पनि बनाएका छन् ।

समाजमा व्याप्त उचनिच, छुवाछुत तथा भेदभावले दहितलाई अगाडि बढ्न प्रेरित गरेको हो । उच्च ठाउँमा पुगेपछि समाजका लागि केही गर्न सकिन्छ भन्ने सोचेर राजा ज्ञानेन्द्र सरकारले उनलाई राज्यमन्त्री हुन प्रस्ताव गर्दा उनले नकार्न सकेनन् । आफ्नो गृह जिल्ला बर्दियाको जिल्ला विकास समितिको सभापति पनि भए उनी । त्यतिमात्र होइन, उनी थारु कल्याणकारिणी सभा बर्दियाका सभापति पनि भए ।

थरुहट तराई पार्टी नेपालका तर्फबाट दोस्रो संविधान सभाका सभासद भएका उनी संसदका विभिन्न समितिहरुमा आदिवासी थारुका मुद्दामा गहकिलो बहस गर्नसक्ने सांसदको छबि पनि बनाए । संसदमा थारुहरुका माग मुद्दालाई बुलन्द आवाज बनाउने थरुहट नेताका रुपमा गोपाल दहितको नाम अग्रनी स्थानमै आउँछ ।

थारुहरुको लोपोन्मुख कला, संस्कृति संरक्षण तथा सम्बद्र्धनमा दहितको उल्लेखनीय योगदान छ । कतै लेखेर भने कतिपय ठाउँमा बोलेर उनले थारु संस्कृति संरक्षणमा जोड दिँदै आएका छन् । ‘संस्कृतिको राम्रो र नराम्रो पक्षलाई पहिचान भने गर्न सक्नपर्छ,’ उनी भन्छन् ।

अहिले उनी प्रजातान्त्रिक आन्दोलन संस्थागत गर्नतर्फ बढी उन्मुख छन् । त्यसका लागि बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका छन् । मंसिर २१ ग्ते हुन गइरहेको चुनावका लागि उनले लोकतन्त्र संस्थागत गर्नुलाई नै प्रमुख अजेन्डा बनाएका छन् ।
त्यसैगरी समानुपातिक समावेशी लागू गर्ने र समृद्धिको शिखर चुम्न परिवर्तनलाई तिव्र पार्ने पनि उनका प्रमुख अजेन्डा छन् । आफूहरुले सुरुवातदेखि नै उठाउँदै आएको स्वायत्तः थरुहट प्रदेश र थारु कलस्टरअनुसारको सीमांकनमा पनि प्रमुख अजेन्डा रहेको उनले बताए ।

थारु कल्स्टरमा अडान लिने नेता
दोस्रो संविधानसभामा थरुहट तराई पार्टीको प्रतिनिधित्व गर्दै उनी सभासद् चुनिए । उनको पार्टीबाट उनी संसदीय दलका नेतासमेत भए । संविधानसभाका विभिन्न उपसमितिहरु बनाइएका थिए । ती समितिहरुमा उनले पार्टीबाट प्रतिनिधित्व जनाउँथे । उनले आदिवासी जनजाति, मधेसी, मुस्लिम र विशेषतः थारुका अजेन्डामा उनी कडारुपले प्रस्तुत हुन्थे । उनको बौद्धिकता र तर्क गर्ने शैलीलाई लिएर सहभागी अन्य सांसदहरु जिब्रो टोक्थे । ‘राजनीतिक सम्बाद तथा सहमति समितिमा थारु कलस्टरलाई लिएर भएको बहसमा तर्क प्रस्तुत गर्दा सबै छक्क परेका थिए । सबैले गोपाल दहित को रहेछ ? थारुहरुले पनि यतिको तार्किक कुरा गर्नसक्छन् ? भन्दै कानेखुसी गरेका थिए,’ उनी विगत सम्झिन्छन् । उनले थारु कल्स्टर छुटिनु र थारु आयोगमा बन्नुमा आफूले ठूलो भूमिका निर्वाह गरेको बताए । ‘शोषकहरु थारुलाई पहिल्यैदेखि पेल्दै आएका छन् । उनीहरु अहिले पनि थारु कलस्टर छुट्याउने पक्षमा थिएनन् । निकै ठूलो दबाबले आज संविधानमा थारु कलस्टर छुटिएको छ,’ डा. दहितले भने ।

मन्त्री भएपछिका सराहनीय काम
उनी भूमिसुधार मन्त्री बनेपछि पहिलो काम नै थारुहरुमा अझै विद्यमान कमलरी र कमैयाहरुको व्यवस्थापनमा लागे । उनले कमैयाहरुलाई जग्गा वितरणका लागि बजेट विनियोजन गर्नुका साथै अहिलेसम्म कसैले गर्न नसकेको कमलरीहरुको परिचय पत्र वितरणको सुरुवात आफैँले गरे । परिचय पत्रबाट १२ हजार बढी कमलरीहरु प्रत्यक्ष लभान्वित बन्नेछन् । त्यतिमात्र होइन, उनले अनाधिकृतरुपमा भइरहेको खेतीयोग्य जग्गाहरुको प्लटिमा पनि रोक लगाउने प्रयास गरे । ‘हामी जनताको सेवा गर्न, राष्ट्रलाई समृद्ध बनाउन मन्त्रालयमा आउँछौं । तर आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकिरहेका हुन्छौं । म मेरो कार्यकालमा कदापि चुक्न चाहिनँ र छोटो समयमा धेरै काम गर्ने प्रयास गरेँ,’ दहितले थारुवानसँगको कुराकानीमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *