Sunandaनियतिमाथि विश्वास गर्नेलाई लाग्न सक्छ– भारतको मानवीय संसाधन विकास राज्यमन्त्री शशी थरुरको पुर्पुरोमा सुखमय दाम्पत्य जीवन लेखेको रहेनछ। दुई जना पत्नीसँग विविध कारणले दाम्पत्य जीवन जम्न नसकेपछि उनले सुनन्दा पुस्करसँग तेस्रो बिहे गरे। तर, तेस्रो लगनगाँठो पनि सुनन्दाको मृत्युसँगै वियोगपूर्ण भएको छ।
एक साताअघि दाम्पत्य जीवनमा तनाव उत्पन्न हुनुअघि यी दुई आफूलाई धनेस जोडी ठान्ने गर्थे। दुवैले पूर्ववैवाहिक जीवनमा ठूलो उथलपुथल बेहोरेका थिए। दुवै एकअर्काका तेस्रो दाम्पत्य जोडी हुन्। थरुरले तिलोत्तमा मुखर्जी नाम गरेकी युवतीसँग पहिलो बिहे गरेका थिए। तिलोत्तमासँगको वैवाहिक जीवन टिक्न नसकेपछि उनले क्रिस्टा गिल्स नाम गरेकी राष्ट्रसंघमा काम गर्ने क्यानडाली कुटनीतिज्ञसँग दोस्रो बिहे गरेका थिए। राष्ट्रसंघका पूर्वकुटनीतिज्ञसमेत रहेका शशीले क्रिस्टासँग दोस्रो बिहे गर्नुपूर्व तिलोत्तमाबाट दुई सन्तानका पिता भइसकेका थिए।
क्रिस्टासँग पनि राम्रोसँग घरजम बस्न नसकेपछि थरुरले उनीसँग डिभोर्स गरे। यसै क्रममा सुनन्दासँग हिमचिम बढेपछि उनलाई लाग्यो– सुनन्दासँग मेरो दाम्पत्य जीवन स्थिर र सुमधुर बन्नेछ। उता सुनन्दाको दुई वटा वैवाहिक जीवन समाप्त भइसकेको थियो। उनको सर्वप्रथम सञ्जय रैनासँग बिहे भएको थियो। उनीसँगको दाम्पत्य जम्न नसकेपछि उनले व्यापारी सुजित मेननसँग दोस्रो बिहे गरेकी थिइन्। तर, एउटा दुर्घटनामा परी सुजितको मृत्यु भएपछि सुनन्दा पुनः एक्ली भइन्।
खुकुरीको चोट अचानोलाई थाहा हुन्छ भनेझैँ घरबार राम्रोसँग जमाउन नसकेका थरुर र सुनन्दा एकअर्कासँग नजिक हुन थाले। कुराकानी मिलेपछि उनीहरूले सन् २०१० को अगस्ट महिनामा बिहे गरे। थरुर र सनन्दा दुवै भारतको दक्षिणी राज्य केरलाका रैथाने हुन्। संस्कृतिजन्य आचारविचार र स्वभावमा पर्याप्त समानता भएकाले उनीहरूको दाम्पत्य जीवन राम्रोसँग जम्ने विश्वास दुवैको पविारले लिएको थियो। तर, वैवाहिक जीवनमा आएको उथलपुथलका बीच सुनन्दाको गत साता मृत्यु भएपछि थरुरको तेस्रो बिहेको अन्त्य ज्यादै वियोगपूर्ण भएको छ। मृत्युअघि सुनन्दाले ट्वीट गरेकी थिइन्, ‘भाग्यमा लेखेको भएरै छोड्दो रै’छ, त्यसैले तनाव नलिनू।’
पाकिस्तानी पत्रकार मेहर तरारसँगको थरुरको सम्बन्ध सुनन्दालाई संशयपूर्ण लागेपछि उनीहरूको वैवाहिक जीवनमा गत साता ठूलो आँधीबेहरी आएको थियो। थरुरको ट्वीटर एकाउन्टबाट पाकिस्तानी पत्रकार तरारसँग प्रेम सम्बन्ध रहेको संकेत मिल्ने केही ट्वीट सार्वजनिक भएका थिए। तरारले थरुरलाई पठाएको भनिएको केही म्यासेज समेत यसरी सार्वजनिक गरिएका थिए। यसले सुनन्दासँगको उनको सम्बन्धमा तनाव उत्पन्न गराएको थियो।
बीस लाख ‘फलोवर्स’ रहेका थरुरको ट्वीटरमा यस्ता ‘प्रेमिल’ ट्वीट हुन थालेपछि यसले सञ्चारमाध्यममा ठूलो चर्चा पायो। आफ्नो ट्वीटर एकाउन्ट कसैले ‘ह्याक’ गरेर जथाभावी ट्वीट गरेको उनले स्पष्टीकरण दिए। तर, सुनन्दाले भने आफूले थरुरको ट्वीटर एकाउन्टमा प्रवेश गरी ट्वीट गरेको खुलासा गरिन्। साथै, उनले ट्वीटरमार्फत पाकिस्तानी पत्रकार तरारलाई आफ्नो श्रीमान् खोस्न खोजेको आरोप लगाउँदै तरार पाकिस्तानी गुप्तचर निकाय आईएसआईकी एजेन्ट भएको दाबी गरिन्। लगत्तै थरुरले बिहीवार प्रेस विज्ञप्ति जारी गरी अनधिकृत ट्वीट र सञ्चारमाध्यमको  अतिरञ्जनाका कारण आफ्नो वैवाहिक जीवनबारे मानिसमा भ्रम उत्पन्न भएको भन्दै आफ्नो वैवाहिक जीवन सुमधुर रहेको बताए। त्यसको भोलिपल्ट नयाँ दिल्लीको एउटा होटलमा सुनन्दाको शव फेला पर्यो ।
सुनन्दाको मृत्युलाई सञ्चारमाध्यमले शंकाका साथ हेरे। विष सेवन गरी उनले आत्महत्या गरेको र उनले लिएको ड्रग्समा विष मिलाएर  हत्या गरिएकाजस्ता अनुमान सार्वजनिक भए। उनको हत्यामा थरुरको संलग्नता भएको आशंकासमेत गरियो। तर, अनुसन्धानले उनी बसेको होटलबाट थरुर निस्किँदासम्म सुनन्दा जीवित रहेको फेला परेपछि थरुरले ‘क्लिन चिट’ पाए। उनले आत्महत्या गरेकी थिइन् वा उनको हत्या भएको थियो, अहिलेसम्म खुल्न सकेको छैन। र, अनुसन्धान जारी छ।
(एजेन्सीको सहयोगमा)




Leave a Reply

Your email address will not be published. Required fields are marked *