‘खिचरा डान्स आइडल’को फाइनलका लागि भोटिङ राउण्ड खुला

आठौँ खिचरा महोत्सवअन्तर्गत ‘स्कुल स्तरीय खिचरा डान्स आइडल’को फाइनलमा प्रवेश गरेका सात जनाको लागि भोटिङ राउण्ड खुला भएको छ। मंगलबारको प्रस्तुतिबाट निर्णायक मण्डलले दिएको ६० प्रतिशत अंकमाथि ४० प्रतिशत अंक भोटिङका आधारमा तय गरिने हुँदा मंगलबार साँझबाटै भोटिङ राउण्ड खुला गरिएको र बुधबार दिउँसो १२ बजेसम्म खुला रहने आयोजकले जनाएको छ। सुरूमा २५ जना सहभागी भएको आइडलबाट सात जना फाइनलमा प्रवेश गरेका थिए।

बुधबार हुने फाइनलबाट प्रथम हुनेले नगद ३० हजार, द्वितीय हुनेले नगद २० हजार र तृतीय हुनेले नगद १० हजार रूपैयाँ पुरस्कार पाउने छन्। खिचरा महोत्सवको समापन समारोहमा उनीहरूलाई पुरस्कार वितरण गरिने छ। प्रतियोगितामा कृष्टिना त्रिपाठी, नवीना भण्डारी, जेशिका चौधरी, सुस्मिता गिरी, दीपिका चौधरीका साथै सुजन खत्री र हिमाल श्रेष्ठ तथा मदरल्याण्ड डान्स ग्रुप फाइनलमा प्रवेश गरेका हुन्।

त्यसका साथै कृषि प्रदर्शनीमा उत्कृष्ट हुन सफल किसानलाई पनि मंगलबार नगरपालिकाका प्रमुख शशि खनियाँ र उपप्रमुख कविता उप्रेतीलगायतको उपस्थितिमा पुरस्कृत गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए। कृषिअन्तर्गत काउली, बन्दा, खुर्सानी, गोलभेँडा, भेँडेखुर्सानी, आलु, मुला, प्याज, गाजर, लसुन, चुकन्दर, केराउलगायतका कृषि उपज प्रदर्शनीमा राखिएको थियो।

पुस २८ गतेदेखि सञ्चालित महोत्सवमा मंगलबार कलाकार एकदेव लिम्बूले सांस्कृतिक प्रस्तुति दिएका थिए। सोमबार जस्तै मंगलबारको प्रस्तुतिमा समेत दर्शकले भरपुर मनोरञ्जन लिएका थिए। गायक लिम्बूले ‘गाजल टिकी’, ‘आँखामा आउने सपनी’, ‘आहै’, ‘बहाना’ ‘मनको कुरा’लगायतका सांगितीक प्रस्तुतिमार्फत दर्शक भुलाए।

महोत्सवको छैठौँ दिन मंगलबार केयर पोलिक्लिनिकको सहयोगमा खुला रक्तदान कार्यक्रमसमेत सम्पन्न भएको छ। महोत्सव अवधिभर विभिन्न खालका खेलकुदसमेत आयोजना भएको थियो। महोत्सवको बुधबार समापन हुँदैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *