संसदको अन्तिम बैठकमा उठ्यो रेशम चौधरीको रिहाइ माग

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फास्ट ट्र्याकबाट संविधान ल्याइनु गलत भएको बताएका छन्। उनले दुनियाँमा कहीँ पनि फास्ट ट्र्याकबाट संविधान नबन्ने गरेको बताए। ‘दुनियाँमा कहीँ पनि फास्ट ट्र्याकबाट संविधान आउँदैन। संविधान आउनुअघि धेरै विषयमा बृहत् छलफल हुनुपर्थ्यो, त्यो भएन,’ उनले भने।

उनले संविधानमै कुनै पनि नागरिकलाई राज्यविहीन बनाउनु हुँदैन भन्ने उल्लेख भए पनि नेपालमा अनागरिक बनाउने काम भइरहेको बताए। ‘संविधानले नै नागरिकलाई राज्यविहीन बनाइनु हुँदैन भन्ने उल्लेख छ। तर हाम्रो त के भइरहेको छ? नागरिकता विधेयक के भइरहेको छ? नागरिकलाई अनागरिक बनाउनुजस्तो ठूलो अपराध केही हुँदैन,’ उनले भने।

उनले केपी ओली नेतृत्वकै सरकारले ल्याएको अध्यादेशलाई एक अक्षर नचलाई संसदबाट पारित भइसक्दा पनि राष्ट्रपतिले प्रमाणित नगर्नु दुःखद भएको बताए। ‘दुई दुई पटक संसदले पारित गरिसकेको नागरिकता विधेयक स्वतः कानुनको रुप लिइसक्नुपर्ने हो। तर त्यस्तो भएको छैन। त्यो एकदम गलत कार्य भइरहेको अनुभूत भइरहेको छ,’ उनले भने।

उनले विभिन्न खालखण्डमा भएका राजनीतिक आन्दोलनका बन्दीहरुलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गरे। उनले थरुहट आन्दोलनका रेशम चौधरी, मधेस आन्दोलनका विभिन्न व्यक्तिहरु कैदीबन्दी रहेको अवस्थामा भएकाले तत्काल रिहाइ हुनुपर्ने माग गरे।

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नसमेत माग गरे। ‘थरुहट, मधेस आन्दोलनका बेला लाल आयोग गठन भएको थियो। लाल आयोगले प्रतिवेदनसमेत तयार पार्‍यो। तर त्यो प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। किन के कारणले सार्वजनिक भएन?,’ यादवले प्रश्न गरे।

यादवले पहिलोपटक संसदमा रेशम चौधरीको रिहाइ र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए। रेशम जसपामै रहँदा पनि महन्थ ठाकुर, बाबुराम भट्टराई, राजेन्द्र महतोलगायतले रिहाइ माग गरे पनि यादवले संसदमा रिहाइको माग गरेका थिएनन्।

यो पनि पढ्नुस्:

रेशम चौधरीको प्रश्न- किन खुल्दैन त्यो फाइल?




Leave a Reply

Your email address will not be published. Required fields are marked *