युरोपका ठूला लिग खेल्ने सदीप थनेतको चाहना

युरोपेली देश बेल्जियम फुटबलका लागि आकर्षणको केन्द्र मानिन्छ। त्यहाँ फुटबल खेल्ने जमातको कहिल्यै कमी हुँदैन। त्यही भीडमा नेपाली मूलका सदीप थनेतले कलिलै उमेरमा ख्याति कमाएका छन्। ‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै सदीपले उमेर समूहको खेलमा अब्बल प्रदर्शन गरेका छन्।

बेल्जियममै जन्मिएका सदीपको उमेर भर्खर ७ वर्ष पुग्यो। एक महिने बिदामा नेपाल आएका उनले बाल उमेरमै युरोपका ठूला लिग खेल्ने सपना देखेका छन्। ‘आई वान्ट टु बी अ ग्रेट फुटबलर एन्ड प्ले इन द च्याम्पियन्स लिग,’ सदीपले अंग्रेजीमा प्रतिक्रिया दिँदै ठूलो फुटबलर बनेर च्याम्पियन्स लिग खेल्ने सपना देखेको बताए। बुबा-आमाले पनि सदीपको चाहना पूरा गर्न सक्दो प्रयास गर्ने बताएका छन्।

फुटबलप्रति सदीपको छुट्टै नशा भएको उनका आमा सिर्जना थनेतको भनाइ छ। बेल्जियममा आफू बस्ने वरिपरिको माहोलले गर्दा सदीप फुटबलप्रति बढी आकर्षित भएको उनले बताइन्। ‘विश्वकप होस्् वा युरोपको कुनै पनि लिग, बेल्जियममा सधैं फुटबलको माहोल बनिरहन्छ। घरको टिभीमा पनि अधिकांश समय फुटबल खेल हेर्ने भएकाले छोराको मन त्यता लागेको हुनसक्छ,’ उनले अन्नपूर्णसँग भनिन्।

फुटबलप्रति छोराको लगाव देखेर बुबा प्रदीप थनेतले सदीपलाई पाँच वर्षकै उमेरमा नजिकैको एकेडेमीमा भर्ना गरिदिएका थिए। एक वर्षको प्रशिक्षणपछि सदीपले उमेर समूहको विभिन्न टुर्नामेन्ट खेलेका थिए। टुर्नामेन्टमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

‘छोराले पहिलो टुर्नामेन्टमै उत्कृष्ट प्रदर्शन गर्‍यो। उसलाई यही क्षेत्रमा अझ निखारेर व्यावसायिक फुटबलर बनाउन मन छ,’ बुवा प्रदीपले टेलिफोनमा भने। स्केला स्पोर्ट्समा प्रशिक्षण लिएका सदीप अहिले रोयल एन्थ्रोपेन फुटबल टोलीमा आवद्ध छन्। हालै सम्पन्न उमेर समूहको लिगमा उनले उत्कृष्ट प्रदर्शन गर्दै ट्रफीसमेत दिलाए। ‘हाम्रो लागि योभन्दा ठूलो खुसी अरू केही हुन सक्दैन। छोराको फुटबल करियरका लागि हामी अधिकतम लगानी गर्न तयार छौं। भोलिका दिनमा यहाँको राष्ट्रिय टिम होस् या अन्य लिगका लागि काबिल बनाउँछौं,’ उनले भने।

नवलपरासीको कावासोती–१४ स्थित अग्यौलीका प्रदीप थनेत सन् २००२ मा युरोप छिरेका थिए। टुरिस्ट भिसामा युरोप गएर उनी शरणार्थी हुँदै अहिले बेल्जियमको ‘ग्रीनकार्ड होल्डर’ बनेका छन्। उनी रेस्टुरेन्ट व्यवसाय गर्दै आएका छन्। प्रदीपले छोराको नाममा नवलपरासीमा ट्रस्ट पनि खोलेका छन्। उक्त ट्रस्टले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। सरस्वती उच्च मावि नवलपरासीमा उक्त ट्रस्टले वार्षिक १ लाख २० हजारको छात्रवृत्ति प्रदान गर्दै अएको छ। सानो उमेरमा देखाएको प्रतिभाको सम्मान गर्दै सदीपलाई विभिन्न सामाजिक संस्थाहरूले सम्मान गरेका छन्।

काठमाडौंमा आयोजित समारोहमा उनलाई थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सम्मान गरे। थारूवान मिडिया नेटवर्कले आयोजना गरेको कार्यक्रममा सदीपलाई थप ऊर्जा प्रदान गर्न सम्मान गरिएको आयोजकले जनाएको छ। त्यस्तै उनलाई नवलपरासीको कावासोती नगरपालिका–१४ कार्यालय, नवलपुर जिल्ला फुटबल संघ, रेफ्री संघलगायतले सम्मान गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *