दीगाे विकासको लक्ष्य सूचकमा थारूको अवस्था दयनीय, खानेपानी र इन्टरनेट उपभोगमा १ प्रतिशतभन्दा कम

थारु आयोगले दीगो विकास लक्षका मुख्य सूचकहरुका आधारमा थारु समुदायको समग्र अवस्थाको अध्ययन विषयक गोष्ठी आयोजना गरेको छ। सोमबार ललितपुरको पाटनढोकामा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र विभागका प्रा.डा. विनोद पोखरेलले अध्ययन प्रतिवेदनमाथि प्रस्तुती दिएका थिए।

प्रतिवेदनअनुससार ७७.५ प्रतिशत थारुहरु ३० मिनेटमै बजारसँग पहुँच बनाउँछन्। थारुहरुको राष्ट्रिय औषतभन्दा कम ५८.८ प्रतिशतको वित्तीय संस्थामा खाता रहेको छ भने ३१.१ प्रतिशत घरपरिवारमा महिलाको नाममा चलअचल सम्पत्ति रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै थारु समुदायमा १७.१ प्रतिशत ५ वर्षमुनिका बालबालिकामा विगत दुई हप्तामा झाडापखाला लागेको देखिन्छ। यो प्रतिशत अन्य बहुसंख्यक जातिहरुको भन्दा बढी भएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै थारु समुदायमा बालबालिकामा लगाइने खोपको प्रतिशत ७९ रहेको छ। तर ५ वर्षमुनिका ६७.१ प्रतिशतले मात्रै खोप लगाएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्‍तै शिक्षामा ९४.७ प्रतिशत थारुहरु विद्यालयमा भर्ना हुने गरेको प्रतिवेदनमा उल्लेख छ। उक्त प्रतिशतमा पुरुषभन्दा महिला धेरै रहेको बताइएको छ। तर माध्यमिक तह पार गर्दासम्म महिलाको संख्या कम भएको प्रतिवदेनमा उल्लेख छ। १५ देखि २४ वर्ष उमेर समूहमा थारु समुदायमा ९६.८ प्रतिशत साक्षरदता दर रहेको प्रतिवेदनमा भनिएको छ।

त्यस्तै थारु समुदायमा प्राविधिक र व्यवसायिक सिप २० प्रतिशत र लैंगिक समता सूचकांक ०.९८ मात्र देखिएको प्रतिवेदनमा भनिएको छ।

थारुहरुको इन्टरनेटमा पहुँच जम्मा ०.५ प्रतिशत रहेको छ भने खानेपानी जम्मा १ प्रतिशत थारुहरुको पहुँच पुगेको प्रतिवदेनमा भनिएको छ। ९५ प्रतिशत थारुहरुले भने शौचालयको प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ भने ३१.५ प्रतिशत थारुले ग्यासमा खाना पकाउने गर्छन्।

त्यस्तै थारु समुदायमा १५ देखि १९ वर्ष उमेर समूहका ९.४ प्रतिशत थारु महिलाहरुको विवाह भएको प्रतिवेदनमा भनिएको छ। थारु समुदायमा९३.८ प्रतिशत पुरुष र ८५.८ प्रतिशत महिलाहरुले नागरिकता प्रमाणपत्र लिएको प्रतिवेदनमा भनिएको छ।

प्रस्तुत प्रतिवेदनले संयुक्त राष्ट्र संघको घोषणा मुताविक नेपालले समेत अवलम्बन गरी कार्यान्वयन गरिरहेको दीगो विकास लक्ष र सूचकहरुका आधारमाथारु समुदायको स्थिति के कस्तो छ, अन्य समुदायहरु र नेपालकै समग्र स्थितिसँग तुलना गर्दा थारुहरुको स्थिति कस्तो देखिन्छ भन्ने मूल प्रश्नहरुको उत्तर प्रस्तुत गरेको त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङले जानकारी दिए।

उनका अनुसार मानवशास्त्र केन्द्रीय विभागले नेपालमा सामाजिक समाबेशीकरणको अवस्थाबारे २०१८ मा राष्ट्रिय सर्वेक्षण गरी त्यसैको आधारमा नेपालका विभिन्न जाति, जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, सम्पूर्णको सामूहिक रुपको अवस्थाको विश्लेषण गरी प्रतिवेदन २०२० मा प्रकाशित गरेको छ।

यसअनुसार प्रतिवेदनले थारु समुदायमा दीगो विकासका लक्ष र सूचकहरुमा के कस्तो प्रगति गरेको छ अध्ययन विश्लेषण गरी दीगो विकासका लक्षहरुका सूचकहरुमा आधारित रहेर प्रस्तुत प्रतिवेदन तयार गरिएको उनको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *