सहिद दिलिप चौधरीको स्मृति स्तम्भको अनावरण [फोटो फिचर]

सहिद दिलिप चौधरीको सम्झानामा स्मृति स्तम्भको अनावरण गरिएको छ। सप्तकोशी नगरपालिकाको वडा ५ स्थित गंगाजलीमा स्मृति स्तम्भको अनावरण गरिएको हो। नेकपा एमालेकी सचेत शान्ता चौधरी र सहिद दिलिप प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले सुयुक्तरुपमा स्मृति स्तम्भको अनावरण गरेका थिए।

कार्यक्रममा बोल्दै सांसद चौधरीले राज्यले थारु सहिदहरुलाई सम्मान गर्न नसकेको आरोप लगाइन्। उनले माओवादी जनयुद्धकालमा सबैभन्दा धेरै बेपत्ता र सहिद थारुहरु भएको भन्दै राज्यले उनीहरुको सम्मान गर्न नसकेको बताइन्।

‘माओवादी सशस्त्र जनयुद्धमा थुप्रै थारुहरुले बलिदानी दिए। तर माओवादी पटक पटक सरकारमा जाँदा पनि थारु सहिदहरुको सम्मान गर्न सकेन,’ उनले भनिन्।

उनले थारु आफूहरुले दाङमा गुमराह थारुको शालीक निर्माण गरी थोरै भए पनि उनीप्रति श्रदाञ्जली अर्पण गरेको बताइन्। उनले सदिह दिलिप चौधरीजस्ता थुप्रै थारु सहिदहरुलाई सम्मान गर्न शालिक निर्माण, स्तम्भ निर्माणलगायत पूर्वाधारहरु बनाइउनुपर्ने बताइन्।

एमाले नेता एवं प्रतिष्ठानका अध्यक्ष लेखीले प्रमुख राजनीतिक दलका नेताहरुले थारु सहिदहरुलाई अपमान गरेको बताए। उनले राजनीतिक दलका नेताहरुले थारु सहिदका नाममा कुनै स्तम्भ नबनाएको, कुनै शालीक नबनाएको, कुनै बाटोघाटोको नाम नराखेको भन्दै गुनासो पोखे।
उनले थारु जनप्रतिनिधिहरुलाई थारु सहिदहरुको सम्मानका लागि शालिक, बाटोघाटो र प्रतिक्षालयहरुमा उनीहरुको नाम राखिनुपर्ने बताए।

कार्यक्रममा एमालेका राष्ट्रियसभा सदस्य सुमानराज प्याकुरेल, पूर्व मन्त्री हेमराज तातेड, सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतम, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, लहान नगरपालिकाका उप-प्रमुख सरिया चौधरी, नेकपा एमालेका राष्ट्रिय परिषद सदस्य राजेन्द्र प्रसाद चौधरी, सप्तकोशी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष दिपक कुमार लेखीले मन्तव्य दिएका थिए। उनीहरुले सहिद दिलिप चौधरीका लागि आफूहरुले आर्थिक भौतिक दुवै खालको सहयोग उपलब्ध गराउने वाचा गरेका थिए।

तत्कालीन जिल्ला विकास समितिको १ लाख ५० हजार, सप्तकोशी नगरपालिका वडा नम्बर ५ को १ लाख र स्थानीयबासीको सहयोगमा ३ लाखको लागतमा स्तम्भ निर्माण गरिएको प्रतिष्ठानका सचिव हेम नारायण चौधरीले जानकारी दिए।

सप्तरीको तत्कालीन फत्तेपुर गाबिस वडा नम्बर १ फत्तेपुरमा जन्मिएका सहिद चौधरी २०४२ सालको बम काण्डको आरोपमा काठमाडौंस्थित ल क्याम्पसबाट पक्राउ परेका थिए। पक्राउ परे लगत्तै उनको हत्या गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *