थाकस युएईले ‘प्रवासमा थारु’ नामक म्यागजिन प्रकाशन गर्दै

थारू कल्याणकारिणी सभा युएईले नयाँ वर्षको अवसर पारेर म्यागजिन प्रकाशन गर्ने निर्णय गरेको छ। म्यागजिनको नाम ‘प्रवासमा थारू’ हुने सभाका सचिव धर्मराज महतोले जानकारी दिए।
रोजगारीका सिलसिलामा होस्, उच्च शिक्षा हासिल गर्ने सिलसिलामा होस् या अन्य कुनै कारणले होस्, प्रवासमा लाखौं थारूहरु रहेका छन् । थारू समुदायका केही व्यक्तिहरु प्रवासमै आफूलाई पेसागतरूपमा होस् वा उद्यमशिलतामा आफूलाई अब्बल सावित गरेका छन्, तर प्रवासका कतिपय थारू श्रमिकहरुको हालत भने कन्तविजोगसमेत रहेको छ ।

उच्च शिक्षाका लागि गएका थारू विद्यार्थीहरु पनि कतिपय ठाउँमा अब्बल सावित भएका छन् भने कतिपय स्थानमा बेहालको अवस्थामा बाँच्नुपरिहेको छ । थारू समुदायका नाम चलेका हस्तीहरु बेरोजगारीकै कारण विदेशिएका छन्, कतिपय थारू समुदायका व्यक्तिहरु विदेशबाट फर्किएर नेपालमै केही गर्छु भन्दै उद्यमी बनेका छन् ।

‘समग्रमा भन्नुपर्दा प्रवासमा रहेका वा प्रवासबाट फर्केर नेपालमै उद्यमशिलतामा लागेका थारु दाजुभाइ तथा दिदी बहिनीहरुको साझा चौतारीको रुपमा यो म्यागजिनको सुरुवात हुँदैछ। यो म्यागजिनमा प्रवासमा रहेका तिनै दाजुभाइ दिदीबहिनीका दुःखसुख र भोगाइबारेका सामग्री समेट्ने प्रयास गर्नेछ,’ निर्णयपछि सभाका अध्यक्ष खोरबहादुर महतोले भने।

उनका अनुसार म्यागजिन चिल्लो पेपर र पूर्णरुपमा रंगीनमा प्रकाशन हुनेछ। प्रकाशनमा आएपछि विमोचन गरिनुका साथै नेपालको काठमाडौं र थारु बाहुल्य क्षेत्रसँगै प्रवासका विभिन्न स्थानमा विक्री वितरणसमेत गरिने उनले बताए।

म्यागजिनको सम्पान गर्ने जिम्मा पत्रकार मदन चौधरीलाई दिइएको उनले बताए। म्यागजिन प्रकाशनका लागि नेपाल तथा विदेशमा बस्नुहुने सम्पूर्ण थारूहरुमा विज्ञापन उपलब्ध गराएर सहयोग गरिदिन उनले विश्वमाझ रहेका थारुहरुलाई आह्वानसमेत गरेका छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *