दाङका थारु अगुवाले भने- ‘टीकापुर घटनालाई राजनीतिक रुपबाट समाधान गरियोस्’

प्रकाश चौधरी/घोराही।
थारु आन्दोलन र मुद्दालाई राजनीतिक रुपबाट समाधान हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। थारु कल्याणकारिणी सभा दाङले ‘कैलाली टीकापुर आन्दोलनका राजबन्दी, अदालतको फैसला तथा समसामयिक विषय’मा शनिबार घोराहीमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन्।

उनीहरुले पहिचानको लागि गरिएको आन्दोलनका एउटै प्रकृतिका दुर्घटनामा बन्दी बनाइएका व्यक्तिहरुलाई कैलाली जिल्ला अदालतले रिहा गर्नु र सांसद रेशम चौधरीलगायत ११ जनालाई जन्मकैदको फैसला सुनाउनु दुर्भाग्यपूर्ण, बदनियतपूर्ण भएको बताए।

कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य चुर्णबहादुर चौधरीले थारु आन्दोलनको मुद्दा अपराधिक नभई राजनीतिक भएको बताउँदै राज्यले राजनीतिकरुपमै समाधान गर्नुपर्ने बताए। थारु मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नसक्दा समस्या उत्पन्न भएकाले बताउँदै उनले अब जिल्ला जिल्लाबाट दबाब सिर्जना गनुपर्ने बताए।

सभाका पूर्व केन्द्रीय सदस्य सौगतविर चौधरीले राज्यको न्यायपालिका ठूलालाई चैन र सानालाई ऐन भन्ने भनाई सावित गरेको बताए। सोझासाझा थारुलाई झुट्ठा मुद्दा लगाएको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेर दबाब दिनुपर्ने बताए।

सभाका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य धनीराम चौधरी, नेकपाका प्रदेश समिति सदस्य रामबहादुर दहित, सभाका पूर्व अध्यक्षहरु तेजमान चौधरी, चन्द्रप्रसाद चौधरी, पुर्व विद्यार्थी नेता खुसीराम चौधरी, थारु बुद्धिजिवि केवि चौधरी, थारु अभियन्ता विकास चौधरी, अधिवक्ता शुभराज चौधरी, थारु कल्याणकारिणी सभाका क्षेत्रीय सभापति महेश चौधरी लागयतले रेशम चौधरीलगायत जन्मकैद पाएका ११ जनाकै तुरुन्त रिहाईको माग गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *