थारू समुदायमा माघी : हिजो र आज

छविलाल कोपिला।
बाबाकी सगर गैनु हाँ, मुरिया लहाने
सखि ए हो, सेंडुर छुटल पानीघाट, सखि ए हो ! …….
केही दिन यता थारू वस्तीहरुमा यी र यस्तै गीतहरु सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघी पर्वमा मघौटा, ढमार र ढुम्रु बिशेष गीतको रुपमा लिइन्छ । माथिको गीतले माघी आगमनको संकेत गर्छ र मनभित्र गुम्सिएर रहेका पीडाहरुलाई पनि बिर्साउँछ अनि धेरै दिनदेखि छुट्टिएर बसेका साथी, भाइ, इष्टमित्रहरुसंग भेटघाटमा जोडिदिएको अनुभूत गराउँछ । यसरी सद्भावपूर्ण महत्वका साथ गाइने यस गीतले माघीको वास्तविक सांस्कृतिक झल्को पनि दिन्छ । समय संगै अहिले माघी मनाउने शैली फेरिदै गएको छ । हिजो गाउँघरमा नाचगान गरेर मनाइने माघी अहिले मञ्च कार्यक्रम गरेर राजधानी लगायत शहर केन्द्रित भइरहेको छ भने विदेशमा रहेका थारू समुदायले पनि महोत्सवको रुपमा मनाउँदै आएको खबर आइरहेका छन् । यसैले यसको महत्व अझै बढ्दै गएको अनुभूति गर्न सकिन्छ । अब माघी पर्वको बारेमा थोरै चर्चा गरौं ।

माघी के हो ?
मकर संक्रान्ति अथवा माघ महिनामा महिने हुनले यसलाई माघ अर्थात माघी भनिएको हो । थारू समुदायमा यसलाई नयाँवर्षको रुपमा मनाइने गरिन्छ । ठाउँ अनुसार माघ, माघे संक्रान्ति र खिचडी पनि भनिन्छ । केही वर्ष पहिले अथवा कमैयाँ, कम्लहरीहरु मुक्त हुनुभन्दा पहिले हलिया, मुक्त कमैयाहरु बिशेष छुट्टी पाउँथे भने रैती या अन्य व्यक्तिहरु केही समयको लागि छुट्टी पाउँथे । यसरी कामबाट मुक्त भएर अथवा स्वतन्त्र रुपमा मनाइने भएकोले यसलाई मुक्ति दिवसको रुपमा पनि लिने गरिन्छ । माघी थारू समुदायको चाड मात्रै नभएर यस अवसरमा नयाँ रीति–थिति, नयाँ गणनेता र नीति–नियम निर्माण हुने गर्छ । गाउँको अगुवा ककन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घरसल्लाह लगायतका छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रुपमा पनि लिने गरिन्छ । त्यसैगरि यस पर्वका बाहिर र गाउँमै रहेका इष्टमित्रहरु स्वतन्त्र रुपमा मान्ने र मनोरञ्जनका नाच–गान पनि गरिने हुँदा यसलाई सद्भाव र सांस्कृतिक पर्वको रुपमा पनि लिने गरिन्छ ।

कहिले र कसरी मनाइन्छ ?
थारू समुदायमा धुमधामसंग मनाइने माघीको तयारी केही दिन पहिलेदेखि नै शुरु हुन्छ । पात टिप्ने, दाउरा ल्याउने, जाँड–रक्सी पार्ने, माछा मार्ने ठाउँको छनौट लगायतका कार्य गरिने गरिन्छ । माछा मार्नका लागि माघी अगावै कुलो, खोलानालामा चिनो राखिन्छ । यसलाई थारू भाषामा झुक्का डर्ना अथवा भ्युँरा–डर्ना भनिन्छ । झुक्का (चिनो) राखिएपछि त्यस ठाउँमा कसैले माछा मार्न पाउँदैन । माघीमा सुंगुरको मासु बिशेष मानिन्छ । त्यसैले माघी अगावै कहाँ सुंगुर काट्ने भन्ने कुराको निश्चितता पनि पहिले नै भइसकेको हुन्छ ।

पुस अन्तिम दिन
पुस पहिनाको अन्तिम दिन जसलाई ‘सुवर मर्ना’ दिन भनिन्छ । यस दिन बिहानैदेखि झुक्का हालेर रख्वारी गरेका कुलो तलाउमा माछा मार्ने र सुंगुर मार्ने गरिन्छ । साँझ परेपछि आफ्नो इष्टमित्र, साथी भाइ कहाँ गएर जाँड, सुंगुरको मासु खाँदै पर्व गीत ‘ढमार’ गाउँदै माघी पर्वको प्रारम्भ गर्छन् । ढमार माघीमा मात्रै गाइने आवधिक गीत होे । थारू समुदायमा सुंगुरको मासु बिशेष रुपमा लिने गरिन्छ । यसकारण पनि यस दिनलाई ‘सुवर–मर्ना’ दिन भनिएको हो । रैतीहरु आफ्ना जमिन्दार कहाँ दाउरा, पात दिन जान्छन् । उनीहरुलाई जमिन्दारहरुले पनि ठूलै सम्मानका साथ खुवाउने पिलाउने गर्छन् । र, खानपिनसंगै उनीहरुले ‘ढमार’ गाएर मनोरञ्जन गर्छन् । त्यस दिन राती ककन्दारको घरमा गाउँभरिका मान्छेहरु जम्मा भई मादल, डफको तालमा ढमार गाउँछन् । अँगनामा ठूल–ठूला मूढा बालेर धुनी जलाइन्छ । त्यही धुनी टप्दै उनीहरु जाँड खाँदै रातभरी जाग्राम बसेर ढमार (ढुमरु) गाउने चलन छ । आधुनिक ढमार गीतको केही अंश यस्तो छ ः
–जागो–जागो, जागो रे मोरे डाडु
अब हमार सुत्ना बेला नाइ हो ऽऽ
–पहिलो तो बनुवाँ फँरलै मलिकवन
बनी गैलैं बरे जिम्दार हो ऽऽ
अब तो बनुवा फँरटै हो तस्कर
कैसिक बचाई बर्का बनुवा हो ?ऽऽ
ढमार गीतका विभिन्न सन्दर्भहरु रहेका छन् । पहिलेका पुराना ढमारमा प्रकृतिप्रेम, स्तुतिगान, प्रेमालाप र मनोरञ्जनको प्रभाव बढी भेटिन्थ्यो भने अहिलेको आधुनिक ढमारमा भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण, दमनप्रतिको वितृष्णा र मुक्ति, अधिकार, राष्ट्रियता, प्रकृति एवं शान्तिप्रतिको आशाका भाव झल्किन्छन् । जुन गीतभित्रका गम्भीर अभिव्यक्तिले सकारात्मक चिन्तन, एकापसमा सदभाव र समयबोध गराउँछ । ढमार गीतसंगै माघीमा मघौटा नाच बिशेष मानिन्छ । देउखुरीक्षेत्रमा ढमार गीत गाइए पनि माघी बिशेष भनेर कुनैै छुट्टै प्रकारको नाच हुँदैन अथवा माघी पर्वमा मघौटा नाच नाचिदैन । योे क्षेत्रबिशेषको चलन अन्तर्गत पर्छ । गाउँको सबै रस्तीवस्ती मिलिसकेपछि गाउँका खास जिम्मेवारी पाएकाहरुले ‘संग मिलाई’ चुक्की या माघी आउनुभन्दा पहिले ‘संग छुटाई’ चुक्की खाने चलन छ । यही चुक्कीमा झुम्रा नाच नाचेर रमाउछन् । जुन नाच अरु मनोरञ्जनको अवसरमा पनि नाचिन्छ । तर दाङ लगायत पश्चिमा थारू जिल्लाहरुमा ‘मघौटा नाच’ प्रचलित छ । माघ आउनुभन्दा पहिलेदेखि थारू युवायुवतीहरु मघौटी गीत गाउँदै नाचेर रमाउने गर्छन् । नाचमा मादल, झाल, कस्टार बजाउँदै छाता ओढेर नाच्ने गर्छन् । मघौटा गीतको केही अंश ः
‘सखि ए हो !
माघक पिलि, गुरि–गुरि जाँर, सखिय हो !

माघ १ गते
राती भाले बासेपछि महिलाहरु बिहान ढिक्री÷रोटी बनाउन उठ्छन् भने गाउँका मानिसहरु ढमार गाउँदै, मादल, डफ बजाउँदै नदी, कुलो, खोलानाला, घाट, जलाशयमा नुहाउन जान्छन् । थारू समुदाय प्रकृतिपुजक भएकोले यस पर्वमा उनीहरु ‘कुवँरवर्ती’ (जलदेवी) संग आफ्ना दुःख, सुख सुनाउने र मागहरु माग्ने गर्छन् । उनीहरु पानीमा डुबेर आफ्ना मागहरु राख्छन् । यसरी मागे माग पुरा हुने जनविश्वास छ । त्यत्तिमात्रै होेइन आजको दिन नयाँ कपडा फेर्ने दिनको रुप पनि लिइन्छ । वर्षभरि पुराना लुगा लगाए पनि आजको दिन लुगा फेर्न सके राम्रो हुने पुरानापुस्ताका जानकारहरु बताउँछन् ।

माघीमा नुहाउने चलन स्वस्थ्यको दृष्टिकोणले पनि बैज्ञानिक देखिन्छ । जाडोका कारण कतिपय मानिसहरु महिनौं ननुहाएका कारण छालारोग, लुतो, घाउ, खटिरा लगायत कपालमा जुम्रा पर्ने सम्भावना पनि बढी हुन्छ । तर, माघी पर्वमा सबैले अनिवार्य नुहाउनै पर्ने चलन भएकोले शरिर सफा हुन्छ । घाउ खटिरा लगायत रोग लाग्न पाउँदैन र जलदेवीसंग मागेको मनोइच्छा पनि पुरा भएको अनुभूति हुन्छ । यस अवसरमा कोही लामो समयदेखि विरामीमा परेको छ या कुनैै समस्या छ भने मनोकामना गर्दै जलदेवीलाई भाकल गर्ने गर्छन् । स्वेच्छाले भाले, परेवा या पुज्ने बाचा गर्छन् । यदि आफ्नो माग पुरा भए ३ या ५ वर्षमा आफूले बाचा गरेका भाले, परेवा पुज्ने गर्छन् र यसरी पुज्ने कामलाई ‘मनौटा पुज्ना’ भनिन्छ । नुहाउन जाँदा साथमा पिठो या चामलको टीका र तीलको छन्टी लिएर जान्छन् । थारू समुदायमा सेतो टीका लगाउने चलन छ । सेतो टीका शान्तिको प्रतीकको रुपमा लिइन्छ । यसलाई चोखो अथवा पवित्र वस्तुको रुपमा पनि लिइन्छ । सेतो टीका पारदर्षिताको प्रतीक पनि हो । सेतो वस्तुमा कुनैै पनि दाग लाग्यो भने प्रष्टै देखिन्छ । त्यसैले माघी नुहाएर कुनैै किसिमको गलत क्रियाकलाप नगर्ने प्रतिबद्धताका साथ सपथ खाने गरिन्छ । त्यसैगरि आजको दिन तीलको आँगो ताप्ने चलन छ । तीलको आगो पवित्र मानिन्छ । यसको आगो तापेमा मन पनि पवित्र हुन्छ भन्ने मान्यता छ थारू समुदायमा ।

यसरी नुहाएर घरमा आई ‘निस्राउ’ निकाल्ने चलन छ । निस्राउ भनेको चामल, मासको दाल र नुनको पाहुर होे । जुन आफ्ना चेलीबेटीहरुलाई पाहुरको रुपमा दिने जाने चलन छ । निस्राउ आफ्नो औकात हेरेर केही थप गरेर पनि दिने गरिन्छ । निस्राउ निकालेर जन्म दिने आमा–बुबालाई ढोग गरेर आर्शिवाद लिने गरिन्छ । आमा–बुबा नभएकाहरुले आफ्ना घरमूली वा नजिकको नाता पर्ने ठूला बडाहरुसंग आर्शिबाद लिने गरिन्छ । नाता अनुसार ढोग आशिर्वाद लिदै खानपिन पनि शुरु हुन्छ् । आज दिनभरि गाउँमा यसैगरि सेवा–ढोग गर्दै माघी स्वतन्त्र भएर मान्ने चलन छ । यसले समुदायमा एकता, प्रगाढ सम्बन्ध, आपसी सहयोग सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । समाजमा बसेपछि कहिलेकाहीं कसैसँग ठाकठूक पर्नु स्वाभाविकै हो । यसरी एकापसमा सेवासलाम (ढोग) लागेर अंकमाल गर्दा मेलमिलाप तथा सम्बन्ध प्रगाढ हुन्छ । त्यसैले माघीलाई मेलमिलापको दिनको रुपमा पनि लिइन्छ । मानिसहरु स्वतन्त्र रुपमा माघी मनाए झैं पहिले–पहिले घरमा पालिएका पशुहरु सुंगुर, भेंडा–बाख्रा, गाई–गोरु, राँगा–भैंसी पनि छाडा छाडिन्थे । कसैको बाली नोक्सानी गरेपनि त्यस दिन आममाफी हुन्थ्यो । तर, योे चलन अहिले छैन । योे समयको माग पनि हो । हिजोको अवस्थामा जे जस्तो भएपनि आज यसरी छाडा छोड्दा नोक्सान बढी हुने भएकोले रोक लगाइएको होे ।

माघीमा सुंगुरको मासु, मुलासहितको सुंगुरको मासु, मेंवाको अचार, मसिनो आलुको चट्नी, अन्डीको जाँड र लामो ढिक्री खास परिकार मनाइन्छ । ढिक्री थारू समुदायमा हरेक पर्वमा फरक फरक प्रकारका हुन्छन् । माघीमा लामो ढिक्री हुन्छ । माघी पछि समय लामो हुने भएकोले लामो ढिक्री बनाएको तर्क छ थारू समुदायमा । अर्को तर्क अनुसार माघीमा लामो ढिक्री खाएपछि आयू लामो हुने जनधारणा पनि छ । योे खोजको विषय होे यद्यपि ढिक्रीमा थारू समुदायको मौलिकता झल्किन्छ । आजको दिन साना–साना बालबालिकाहरु पनि निकै रमाउँछन् । उमेर पुगेकाहरु घर–घरमा गएर जाँड, सुंगुरको मासु खाँदै ढमार गएर मनाए जस्तै उनीहरु घर–घरमा गई ढिक्री मागेर रमाउने गर्छन् । उनीहरु समुह–समुह बनाएर घरमा पुग्छन् र कराउँछन् ‘माघ माने अ‍ैली, डसिया–डेवारी ।’ यता घरका मुली महिलाले ती बालबालिकाहरुलाई ढिक्री दिएर विदाई गर्छिन् । उनीहरु खुशी भएर उफ्रिदै अर्को घर लाग्छन् । योे क्रम पनि दिनभरि चल्छ । तर, योे चलन अहिले हराउँदै गएको छ । गाउँमा ढमार गाउने चलन पनि घट्दो छ ।

माघ २ गते
दोस्रो दिन ‘खिच्रहवा’ । खिचडी पकाएर खाने दिन भएकोले ‘खिच्रहवा’ भनिएको हो । खिचडी मासको दाल, चामल, नुन, बेसार, घ्यू या तेलमा पकाइन्छ । खिचडी जस्तै जमिन्दार, रैती, किसान, कमैयाँ, ओर्गिनियाँ, छेग्रहवा, बर्डिवा, भैंसरवा सबै एकै ठाउँ बसेर छलफलमा सहभागी हुने र समान व्यवहार गरिने भएकोले पनि ‘खिच्रहवा’ भनिएको हुनुपर्छ । आज कसैले कसैप्रति पदीय भेदभाव, विभेद गर्न पाउँदैन । सबै स्वतन्त्र रुपमा बोल्न पाउने भएकोले दिल खोलेर छलफलमा सहभागी हुन्छन् । घरभित्रको आन्तरिक छलफल पनि जमेर हुन्छ । को, कुन कामको जिम्मा लिने, उमेर पुगेकाहरुको विवाह गर्ने नगर्ने, ‘छारा’ (बसाई सर्ने) जाने नजाने, घर छुट्टिने नछुट्टिने, अधिया–बटैया लिने–दिने, बर्षभरिको काम गर्दा मनमुटाव भए त्यसैबेला छलफल गरी सहमतिमा ल्याउने, कसैसंगको लेनदेन, हिसाब–किताब लगायतका घरायसी कुराहरुको गम्भीर छलफल गरी पुनः एक वर्षको लागि जिम्मेवारी लिने–दिने काम हुन्छ । अधिया–बटैया गरी खेती किसानी गर्ने रैतीहरु आफ्नो जमिन्दार कहाँ ‘करै’ (रक्सी राख्ने करुवा जस्तै माटोको भाडा)मा रक्सी लिएर माघी दिवानी गर्न जान्छन् । वर्षभरिको कामको समीक्षा गर्ने र पुनः जिम्मेवारी लिन–दिन गरिने छलफललाई माघी दिवानी भनिन्छ । आजकल करैको रक्सी बोक्ने चलन नभएपनि दुबै पक्षको सल्लाहमा खानपिनको व्यवस्था हुन्छ या जमिन्दारकै घरमा छलफल हुने भएकोले उसैले खानपिनको जिम्मा लिएको हुन्छ । छलफल खानपिन पुर्व नै शुरु हुन्छ । अधिया–बटैयाको कुरामा सहमति भए दुबैले एकार्कालाई सेवा–ढोग गरी खुशीयालीमा खानपिनसंगै रमाउँछन् । र, पुनः अघिल्लो दिन बाँकी रहेको ढमारलाई अगाडि बढाउँछन् । यसरी गरिने कामको सम्झौता थारू समुदायमा अलिखित हुन्छ । जुन सम्झौता एक बर्षको लागि मात्रै रहन्छ, अर्को माघीपछि स्वतः खारेज हुन्छ ।

माघ ३ गते
तेस्रो दिन ‘भुराखेल’ (ख्याला) । भुराखेल भनेको गाउँभरिका किसान, जमिन्दार, रैतीहरुको बृहत भेला हो । भेलामा एक घरबाट एकजनाको अनिवार्य उपस्थिति हुनुपर्छ र भेला गाउँको अगुवाको घरमा हुन्छ । आज आगामी वर्षको लागि गाउँका अगुवा पनि चुनिने भएकोले बिशेष महत्व मानिन्छ । अगुवालाई ठाउँ बिशेष अनुसार बरघर, ककन्दार, भल्मन्सा, महटाँवा भनिन्छ । अगुवा चुनिएपछि कुलापानी हेर्ने अघरिया, पन्हेर्वा, गाउँको मर्वा (भूँइह्यारथान)को हेरचाहका लागि चिरकिया, गाउँको रक्षक एवं हुलाकीको रुपमा काम गर्ने चौकिदार पनि चयन गरिन्छ । बैठकमा गतवर्षमा भए गरिएका बाटो–घाटो, कुलानाला, सडक, धार्मिक पूजापाठ लगायत विकासको काम सम्बन्धी समीक्षा हुन्छ । नयाँ नीति–नियम, नियम उलंग्घन गर्नेलाई दण्डजरिवाना बारे छलफल गरेर क्षतिको मूल्य अनुसार रकम तोकिन्छ, जसलाई ‘खारा लेना’ भनिन्छ ।

राज्यबाट विभेद
शदियौंदेखि परम्परागत अनुशासनमा रही आफ्नो शासन पद्धति चलाइरहेको थारू समुदायप्रति भने राज्यले सँधै विभेद गर्दै आएको छ । माघीमा मनोरञ्जन मात्रै होइन महत्वपूर्ण छलफल र जिम्मेवारी बाँडफाँड हुन्छ । यसको लागि गाउँको बौद्धिक अथवा जान्नेमान्ने व्यक्तिहरुको अनिवार्य सहभागिता हुन जरुरी हुन्छ । तर, राज्यले आम नेपालीहरुलाई दिइने मकर संक्रान्तिको नाममा माघ १ गते मात्रै बिदा दिएको छ । जुन समय थारु समुदायमा आफ्ना आफन्त, ठूलावडाहरुसंगको भेटघाट, खानपिन र मनोरञ्जनको समय मानिन्छ । बाँकी २ र ३ गते अत्यन्त जिम्मेवारी र गम्भीर विषयमा छलफल हुने गर्छ । तर यस्तो महत्वपूर्ण समयमा पनि राज्यले बिदा दिएको छैन । बिदा नभएकै कारण महिनौ दिनसम्म रीति–थिति बन्न नसकेर माघी लम्बिने बाध्यात्मक अवस्था सिर्जना हुन्छ । अर्को कुरा बरघर प्रणाली पनि थारु समुदायको लोकप्रिय र बैज्ञानिक प्रणालीको रुपमा मानिन्छ । पछिल्लो समयमा मिश्रित बसाई र कैयौं कानुनी अड्चनका कारण यो प्रणाली पनि बिवादमा तानिदै गएको छ । यसलाई व्यवस्थित गर्नका लागि केही वर्षयता केही जागरुक थारू अगुवाहरुले गाउँपालिका, नगरपालिका र जिल्ला स्तरीय समिति निर्माण गरेका थिए । तर यसबाट पनि आशातीत् उपलब्धि हुन सकेको छैन । यसकारण राज्यले समयमा स्पष्ट नीति र कम्तिमा पनि ३ दिनको बिदा दिनु पर्ने थारू अगुवाहरुको माग हुँदै आएको छ ।

माघीलाई कैयौंले मनोरञ्जन र खानपिनसंग तुलना गर्ने गर्छन् । मुलतः चाड पर्वहरु खानपिन र मनोरञ्जनकै लागि हो यद्यपि थारू समुदायको लागि माघी अंशिक रुपमा यी दुबैसंग जोडिने कुरा स्भाविक भएपनि खाममा यसको महीमा व्यवस्थापन हो । लोकतान्त्रिक ढंगले थारू समुदायमा अगुवा चुन्ने, नीति–निर्माण गरिने भएकोले यस पर्वलाई अझ व्यवस्थित बनाउन जरुरी छ । यसले परम्पराभन्दा पनि अझ लोकतान्त्रिक तथा समृद्ध संस्कृतिको विकास गर्छ । त्यसकारण यसलाई अझ समृद्ध बनाउनका लागि थारू समुदाय आफै लागिपर्नु पर्छ र राज्यले पनि सबै जाति समुदायलाई सद्भावमा रहि एक अर्काको अस्तित्वलाई स्वीकार्न सक्ने नीति र वातावरण सिर्जना गरी दिनुपर्छ । केही वर्षयता शहर, राजधानी लगायत विदेशमा पनि माघी मनाइदै आएको छ । यसले पनि यसको महत्वलाई झल्काउँछ ।