ठाकुरबाबाका उपप्रमुख कृष्णकुस्मी थारू, जसले द्वन्द्वकालमा पति र दाजु गुमाए

तत्कालीन माओवादीलाई सहयोग गरेको आरोपमा ०५८ चैत २६ गते सेनाले उनका दाजु रामदासको हत्या गर्‍यो । यो घटनाले लामो समय परिवारलाई पिरोल्यो । दुई वर्षपछि ०६० फागुन ८ गते पति काशीरामको पनि सेनाबाटै हत्या भयो । त्यसपछिका दिन कृष्णकुस्मी थारूका निकै कष्टकर बने ।

दाजु र पतिको हत्याको झोकमा उनी पनि पार्टीमा खटिइन् । उनै थारू अहिले ठाकुरबाबा नगरपालिकामा उपप्रमुख चुनिएकी छन् । उनलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको हो ।

ठाकुरबाबा–४ बरगदाकी ३५ वर्षीया थारूले १ सय ११ मतान्तरले एमालेकी बिना भट्टराईलाई हराइन् । उनले ७ हजार ८६ मत ल्याइन् । विवाह गरेको दुई वर्षमै पतिको हत्या भए पनि उनले हरेस खाइनन्, भूमिगत भएर पार्टीको काममा निरन्तर खटिइन् । त्यही संघर्ष र लगनशीलले उनलाई उपप्रमुखको कुर्सीमा पुर्‍याएको छ । दुईमहिने छोराको उपचारका लागि नेपालगन्ज जाँदा संयुक्त सुरक्षा फौजले पक्राउ गरेर करिब तीन महिना जेलमा राखेको थियो थारूलाई । भूमिगत छँदा थुप्रै चुनौती सामना गरेको उनले बताइन् ।

अब उनी सबै पक्षलाई समेटेर नगर विकासका लागि क्रियाशील हुने योजनामा छिन् । आफूजस्तै द्वन्द्वपीडितको समस्या समाधान गर्ने उनको मुख्य चाहना छ । ‘द्वन्द्वपीडितको पुन:स्थापना र शिक्षित बेरोजगारलाई रोजगारी दिलाउने प्राथमिकता छ । द्वन्द्वमा धेरै दु:ख भोगेकाले पीडितको मर्कालाई नजिकबाट अनुभूति गरेकी छु,’ उनले भनिन्, ‘नगरपालिकाको विकासका लागि सकेसम्म प्रयत्न गर्नेछु ।’

पर्यटकीय र धार्मिक केन्द्रका रूपमा परिचित ठाकुरबाबालाई समृद्ध नगर बनाउने योजना थारूले सुनाइन् । नगरपालिका प्रमुखमा भने एमालेका घननारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

कमल पन्थी/बर्दिया




Leave a Reply

Your email address will not be published. Required fields are marked *