स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न संघीय गठबन्धनको माग

मधेसी मोर्चासहितको संघीय गठवन्धनले स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न माग गरेको छ । संघीय समाजवादी फोरमको कार्यालयमा बिहीबार बसेको गठवन्धनको बैठकले आफूहरु प्रादेशिक सीमांकनसहितका विषयलाई लिएर आन्दोलनमा रहेको भन्दै अहिले नै स्थानीय तहको पुनर्संरचना गर्नु उपयुक्त नहुने बताएको छ ।

‘हामीले अझै संविधान पूर्ण रुपमा स्वीकार गरेका छैनौं, स्थानीय तह प्रदेश अन्तरगतको हो,’ रामसपाका प्रवक्ता केशव झाले भने, ‘संविधान संशोधन गरेर हाम्रा माग सम्बोधन नहुँदासम्म स्थानीय तह पुनर्संरचना आयोगको काम अघि नबढाउन माग गरेका छौं ।’

गठवन्धनले हतारमा आयोग गठन गरेर सरकारको नेतृत्व गरेको एमालेले संघीयतालाई विथोल्ने प्रयास गरेको आरोप लगाएको छ ।

आयोग गठन भएको झण्डै पाँच महिना भइसक्यो र उसले प्रारम्भिक रुपमा ५६५ स्थानीय तहको प्रस्ताव गरेको छ ।

तर, सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको माओवादीले बुधबार मात्र आयोग पुनर्गठनको प्रस्ताव अघि सारेको छ । कांग्रेसले पनि असन्तुष्टि जनाएको छ । कांग्रेसले प्रस्तावित ५६५ स्थानीय तहको संख्या पर्याप्त नभएको बताएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *