rasikजनक रसिक

सख्खारे जागी हेर मात्र

जोखनीदेवी!

उत्तरमा लम्पसार पल्टिएको

डरलाग्दो चुरे पर्वत जति अग्लिए पनि

तिम्रो सुरजको बाटो छेक्न सक्दैन।

तिमीलाई थाहा छैन

पीठ्यूमा दुःखका पहाड जोख्दाजोख्दै

कुनै साहु महाजनले राखिदिएको हो तिम्रो नाम –जोखनीदेवी।

महाजनका पयर टेक्ने डगरा सम्याउँदा सम्याउदै

राखिएको हो तिम्रो लोग्नेको नाम–डागीराम

चुपचाप भुइँमा पल्टेर तिम्रो ममता कुरी बस्ने

तिम्रो छोरोको नाम राखिएको हो–सन्तराम

घाउ चोट र कष्टका काँडाघारीमा गुलावझैँ

फक्रेकी

तिम्रो छोरीको नाम राखिएको हो–रामगुलावी

तिमीलाई चित्त बुझे–बुझेनन्

अरु कसैले लेखिदिएका परिबन्धका तमसुकहरुमा

कैयौँ पटक ल्याप्चे लागाएकीछ्यौ यिनै नामहरुमाथि

अब खोज रोज आफ्नै मन परेका नामहरु

र देउ तिम्रा सन्तानलाई

तिम्रो कसीलो ममताको नाम।

 

जोखनीदेवी!

कुनै नयाँ युगको निर्माण हैन

त्यो त खाली

महाजनका  गोठबाट सडकछेऊ सारिएको

सपनाको एक उडान मात्रै हो।

तिमीले चरी झै साँच्चै उड्नुछ

सन्तानहरुलाई उड्न सिकाउनु छ।

 

भर्खर राहतमा पाइएको

एक बटुको मिझिनी र एक खोरिया जाँड

तिम्रो सपना हो, तिम्रा सन्तानको हैन

उनीहरुलाई नयाँ सपना देखाऊ

उनीहरुलाई उनीहरुकै बिहानीको सुरज

देखाऊ र बताऊ

सुरज किन सधैँ रातै भै बस्छ

ऊ किन कुनै सिमा वा किल्ला नाघ्न हिच्किचाउँदैन

ऊ किन कुनै प्रान्त प्रदेश वा राज्य छुट्याउँदैन

युग युगान्तर ब्रमाण्डलाई प्रकाश दिइरहँदा पनि ऊ किन रित्तिँदैन?

सुरजसँग एक अनन्त अनुपम उज्येलो छ।

जोखनीदेवी

त्यो तिम्रो सन्तानसँग पनि त हुन सक्छ।

सक्खारे जागिहेर मात्र जोखनीदेवी।

थारु शब्दावली :-

सख्खारे :  विहानै

पर्वट :  पर्वट

सुरज :  सूर्य

डगरा :  बाटो

आजादी :  मुक्ति

मिझिनी :  बेलुकाको खाना/नास्ता

खोरिया :  कचौरा




Leave a Reply

Your email address will not be published. Required fields are marked *