SLC

यस वर्षको एसएलसी परीक्षा आगामी चैत १८ गते सुरु हुने भएको छ । तराईमा जारी आन्दोलन र वैशाखमा गएको भूकम्पका कारण यस वर्षको परीक्षा विगत वर्षभन्दा दुई साता ढिलो हुने भएको हो । यसअघि एसएलसी परीक्षा चैतको पहिलो साता सुरु हुन्थ्यो । माध्यमिक शिक्षा परीक्षा समितिको बुधबार बसेको बैठकले चैत्त १८ देखि २९ गतेसम्म एसएलसी परीक्षाको कार्यतालिका तय गरेको छ । कार्यतालिका अनुसार यस वर्ष साधारणतर्फ पहिलो दिन १८ गते अंग्रेजी, १९ गते नेपाली, २१ गते गणित, २२ गते विज्ञान, २३ गते सामाजिक शिक्षा, २४ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम र २६ गते ऐच्छिक दोस्रो विषयको परीक्षा हुने छ ।

परीक्षा नियन्त्रक खगेन्द्र नेपालका अनुसार गत वर्ष सुरु भएको प्राविधिक तर्फको परीक्षा भने २९ गतेसम्म सञ्चालन हुने छ । चैत २७, २८ र २९ गते प्राविधिक तर्फका बाँकी विषयको परीक्षा हुने उनले जानकारी दिए ।

यस वर्षदेखि एसएलसीको नतिजा लेटर ग्रेडिङ अनुसार प्रकाशित हुने छ । भूकम्प र तराई आन्दोलनबाट प्रभावित करिब २२ लाख विद्यार्थी लक्षित गरी कक्षा १० को पाठ्यक्रममा आधारित सबै विषयको अध्यापन रेडियो नेपालबाट सुरु गरेको छ ।

शैक्षिक जनशक्ती विकास केन्द्रका कार्यकारी निर्देशक सूर्य गौतमका अनुसार तराईका ८ जिल्लाका स्थानीय एफएमबाट समेत पढाइ सुचारु गर्ने तयारी भएको छ । नेपाल टेलिभिजनको राष्ट्रिय प्रशारणअन्तर्गत बेलुकी साढे ५ बजे आइतबार र सोमबार अंग्रेजी, गणित र विज्ञान विषयका श्रव्यदृश्य पाठ प्रशारण हुने छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *