B-saneshकपिलबस्तुको गजेहडाबाट प्रकाशित भइरहेको बुद्ध सनेश साप्ताहिकको पहिलो वार्षिकी मंसिर २६ गते एक कार्यक्रमकाबीच मनाइएको छ। थारु तथा नेपाली भाषामा प्रकाशित भइरहेको बुद्ध सनेश साप्ताहिकको वार्षिकीमा विभिन्न अतिथिहरुले निरन्तरताको शुभकामना दिएका थिए। प्रमुख अतिथि थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले कार्यक्रमको समुद्घाटन गर्दै थारु समुदायको बारेमा खोजमूलक समाचार, बिचारलाई प्राथमिकता दिन आग्रह गरे।

मानवअधिकारकर्मी सुशील चौधरीले बुद्ध सनेशलाई नियमित लेख पठाएर सहयोग गर्ने प्रतिबद्धता जनाए। रुपन्देहीका गायक हरिनारायण चौधरीले पत्रिकालाई कपिलबस्तुमा सीमित नराखी आफ्नो जिल्लामा पनि पठाइए बिक्री बितरणमा सहयोग गर्ने बताए।

थारु पत्रकार संघ रुपन्देहीका अध्यक्ष श्रीनिवास चौधरीले थारु सञ्चारकर्मी तथा कलाकारलाई आफ्नै समुदायबाट सम्मान नहुँदा यो पेसामा निरन्तरता नभएको बताए। बुद्ध सनेश साप्ताहिकका सल्लाहकार दोलख बहादुर पछाईले पत्रिका नेपाली भाषामा पनि प्रकाशित भइरहेकोले गैरथारुहरुको पनि राम्रो साथ रहेको जनाए। सो पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक श्याम बहादुर चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रिकालाई सहयोग गर्ने स्तम्भकारदेखि विज्ञापनदाताहरु सम्मलाई सम्मान गरिएको थियो।

थारु पत्रकार संघ पुनर्गठन

सोही अवसरमा थारु पत्रकार संघ कपिलबस्तुको प्रथम अधिवेशन पनि सम्पन्न भएको छ। अधिवेशनले श्याम बहादुर चौधरीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको अन्य पदाधिकारीमा उपाध्यक्ष उमाशंकर चौधरी, सचिव रन्जना रौतार, कोषाध्यक्ष सरिता चौधरी छन्। सदस्यमा सोनकली थारु, अनिता चौधरी, कल्पना चौधरी रहेका छन्। थारु पत्रकार संघ कपिलबस्तुका निवर्तमान अध्यक्ष सिताराम चौधरी तथा केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले नयाँ कार्यसमितिलाई कार्यकालको सफलताको शुभकामना दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *