Laxman Tharu  and Yogendra Chaudhary

झन्डै दशकअघि सुरु भएको थरुहट आन्दोलनक्रममा १६ जनाको ज्यान गइसकेको छ। विभिन्न चरणमा भएका आन्दोलनमा १० सुरक्षाकर्मी, ५ प्रदर्शनकारी र एक नाबालकको ज्यान गयो। थरुहट आन्दोलनले अहिले देशव्यापी चर्चा पाएको छ। यो आन्दोलनले कतै त्रासदी बढाएको छ, कतै चिन्ता र शोक।
२०६३ को अन्तिमतिर पूर्वी तराईमा मधेस आन्दोलनको एक अध्याय पूरा भइसकेको थियो। मधेस प्रदेशको मागसहित चर्किएको आन्दोलनकै सेरोफेरोमा थरुहट आन्दोलनका दुई अगुवा अग्रपंक्तिमा देखिए।

एक थिए, लक्ष्मण थारु। तत्कालीन नेकपा माओवादी परित्याग गरेर आएका। अर्का, योगेन्द्र थारु, कांग्रेस कार्यकर्ता।
काठमाडौँको सुन्धारास्थित एक होटेलमा उनीहरूबीच लामो छलफल भयो। सहमति पनि भयो– थारुहरुको उत्थानका लागि आन्दोलन गर्ने र त्यसको नेतृत्व लिने। आन्दोलनका लागि माहोल विस्तार गर्ने रणनीतिक योजनाका साथ सुन्धाराको होटेलबाट बाहिरिएपछि यी दुई अगुवाले बाँकेको नेपालगन्जमा थारु अगुवाको बृहत भेला गर्ने निर्णय पनि गरे। ‘थारुहरुको उत्थान, जातीय पहिचानको संरक्षण र नेतृत्वका लागि थारुहरुलाई सक्षम तुल्याउने बाचासहित आन्दोलन गर्ने सहमतिमा पुग्यौँ,’ यो आन्दोलनका अगुवा तथा वर्तमान सभासद योगेन्द्रले सुन्धारा भेट सम्झिए।

सुन्धारा निर्णयको केही समयपछि नेपालगन्जमा थारु बुद्धिजीवीको बृहत भेला बोलाइयो। भेला गोप्यजस्तै थियो। यसको कारण हो– लक्ष्मण थारु असुरक्षित हुनु। ‘माओवादी परित्याग गरेकाले उहाँलाई थ्रेट थियो,’ योगेन्द्रले भने। गोप्यरूपमै गरिएको भेलाले थारु उत्थानका निम्ति ‘सक्रिय आन्दोलन’ मा जाने निर्णय भयो। भेलाको कार्यादेश तय भयो– ‘चितवनदेखि कञ्चनपुरसम्मको एकता।’ भेला पनि भयो तर लक्ष्मणले ‘थारुवान’ आन्दोलन नामकरण गर्ने भनेर राखेको प्रस्ताव योगेन्द्रले अस्वीकार गरे। योगेन्द्रले यसको कारण प्रष्ट्याए, ‘थारुवान माओवादीले उठाएको नारा थियो तर थारु आन्दोलन समग्र थारुहरुको।’

उनले आन्दोलनको एजेन्डा थरुहट हुनुपर्ने प्रस्ताव राखे। ‘मेरो प्रस्तावलाई लक्ष्मणले समर्थन गर्नुभयो,’ योगेन्द्रले भने, ‘त्यसपछि थरुहट जन्मियो।’

आन्दोलनको ऐजेन्डा ‘थरुहट’ बन्यो। तत्काल आन्दोलन थाल्न संयुक्त थारु राष्ट्रिय मोर्चा गठन गरियो। जसको अध्यक्षता लक्ष्मणले गरे, उपाध्यक्षमा योगेन्द्र चयन भए।

मोर्चाले पश्चिम तराईका विभिन्न जिल्लामा संगठन विस्तारको कामलाई प्राथमिकता दियो। सँगै एकचरणको आन्दोलन पनि सुरु गर्योम। ‘संगठन विस्तारसँगै आन्दोलनलाई अगाडि बढायौँ,’ योगेन्द्रले भने। २०६४ मा सरकारले थारुवान राज्य परिषद् बनाउने सहमति गरेपछि आन्दोलन केही मत्थर बन्यो, पूरै सेलाएन।

चितवनदेखि कञ्चनपुरसम्मै संगठन विस्तार जारी थियो। २०६४ को संविधानसभा निर्वाचनपछि मोर्चाको नाम फेरेर ‘थरुहट स्वायत्त राज्य परिषद्’ बनाइयो। देउखुरीको बनगाउँमा भएको भेलाले यसको अध्यक्ष र उपाध्यक्षमा लक्ष्मण र योगेन्द्र नै चुनिए।

Tharuhat

आन्दोलन अझ सशक्त बनाउने निर्णयमा थारुहरु पुगे। सोही क्रममा चितवनदेखि कञ्चनपुरसम्म झन्डै ५ हजार ‘थरुहट सेना’ तयार गरिए। ‘स्थानीय सरकार’ चलाउने रणनीतिका साथ जल, जमिन र जंगलमा आदिवासीको अधिकार दाबीसहित ‘सेना’ खटाइयो। स्थानीय स्रोत–साधनमा कर असुलीसमेत सुरु भयो। ‘झन्डै पाँच हजार सेना बनायौं,’ योगेन्द्रले भने, ‘उनीहरू पूरै कम्ब्याटमा थिए।’ पछि तिनै सेना आन्दोलनका लागि जोखिम बन्दै गए। स्थानीय स्रोतमाथि मनपरी कर असुली हुन थालेपछि परिषदले सेना भंग गर्योा। ‘आफैंलाई अप्ठ्यारो पर्न सक्ने स्थिति आएपछि सेना भंग गरियो,’ उनले भने, ‘कर असुलीका नाममा उनीहरुबाट मनपरी हुन थाल्यो।’

संविधानसभा निर्वाचनपछि २०६५ मा मधेसमा फेरि आन्दोलन चर्कियो। यो आन्दोलनले थरुहट आन्दोलनलाई फेरि उत्साही बनायो। पूर्वमा एक मधेस प्रदेशको नारा चर्कियो, पश्चिममा ‘थरुहट’ को नारा लाग्न थाल्यो। मधेसी आन्दोलनकै प्रेरणाले थारुहरुको अर्को चरणको आन्दोलन जागेको योगेन्द्र बताउँछन्।

झन्डै तीन साता पश्चिम तराई ठप्पै पारेर चर्किएको आन्दोलन संयमबाहिर गयो। आन्दोलनमा दुई प्रहरीसहित ७ जनाले ज्यान गुमाए। त्यसबेला चितवनमा दुई प्रहरी र दुई आन्दोलनकारी, दाङमा दुई आन्दोलनकारी र नवलपरासीमा १ आन्दोलनकारीको ज्यान गएको थियो। ‘हाम्रो पनि क्षति भयो, सुरक्षाकर्मीतर्फ पनि क्षति भएको थियो,’ उनले भने।

राज्यले फेरि थरुहट स्वायत्त राज्य परिषद निर्माणमा सहमति जनाएपछि आन्दोलन थामियो। त्यसयता थरुहट आन्दोलन मत्थर बन्यो। नेतृत्व छिन्नभिन्न भयो। अहिले योगेन्द्र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद छन् भने फोरम लोकतान्त्रिकबाटै पछिल्लो संविधानसभा निर्वाचनमा प्रत्यक्ष चुनाव लडेका लक्ष्मण पराजित भए।

लाइन फरक भए पनि थारुका मुद्दाबाट पछि नहटेको बताउँदै आएका योगेन्द्र पछिल्लो थरुहट आन्दोलनलाई यसको उदाहरणका रूपमा लिनुपर्ने बताउँछन्। नेतृत्व छिन्नभिन्न भएर मत्थर बनेको थरहट आन्दोलन प्रदेश सीमांकनपछि पुनः भुसको आगोझैँ फैलिएको छ। कैलाली, टीकापुमार ८ प्रहरीसहित एक नाबालक मारिए भने अन्य जिल्ला अहिले पनि त्रसित छन्।

आन्दोलनको लक्ष्य र उद्देश्य उही छ तर नाम अर्कै। थारुवान/थरुहट संयुक्त संघर्ष समितिको नामबाट आन्दोलन चलिरहेको छ र यसको संयोजन थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरीले गरिरहेका छन्।
नाम परिमार्जन हुनुको मुख्य कारण माओवादी हो। माओवादीले समेत आन्दोलनमा सहभागिता जनाउने भएपछि उसको पुरानो लाइनअनुसारको थारुवान शब्दलाई थरुहटसँग जोडेर संयुक्त आन्दोलन सुरु गरेको योगेन्द्रले बताए। यता संसदमा रहेका थारु सभासदले समेत थारु सभासद संघर्ष समिति बनाएर थरुहट आन्दोलनलाई बल पर्याेइरहेको उनले जानकारी दिए। ‘एमालेबाहेक सबै पार्टीका सभासद बसेर संघर्ष समिति बनाएका हौँ,’ उनले भने, ‘यसको मुख्य लक्ष्य थरुहट आन्दोलनमा बल पुर्‍याउनु हो।’

रेशम चौधरीसँग भेट
पहिलो चरणको आन्दोलनक्रममा कैलालीका रेशम चौधरी समर्थक मात्रै थिए, आन्दोलनमा थिएनन्। फूलबारी एफएमको अध्यक्ष उनी दुई वर्षपछि चर्केको (०६५ को) आन्दोलनमा सामेल भए तर संगठनको कुनै जिम्मेवारी थिएन। पछि थरुहट विस्तारक्रममा उनी कञ्चनपुर संयोजक तोकिए। आन्दोलनका अगुवा योगेन्द्र भन्छन्, ‘सुरुको आन्दोलनमा उहाँ सहभागी हुनुभएन, कञ्चनपुर क्षेत्रको संयोजक तोकिएपछि सञ्चारजगत छाडेर राजनीतिमा होमिनुभयो।’

२०६३ को अन्त्यतिर काठमाडौँको सुन्धाराबाट सुरु भएको थरुहट आन्दोलनको ‘जग’ छुट्टै राज्य ठड्याउने लक्ष्यमा पुगेको छ। प्रदेश सीमांकनपछि चर्केको आन्दोलनले थारुबहुल चितवनदेखि कञ्चनपुरसम्मको भूभागलाई पहिचानसहितको थरुहट प्रदेश मागेको छ। तर, आन्दोलन मत्थर पार्न हालसम्म गहन छलफलसम्म हुन सकेको छैन।

देवेन्द्र बस्नेत/नागरिक दैनिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *