Tharkur Sing Tharuठाकुरसिंह थारु/कान्तिपुर

टीकापुर गएर स्थलगत रिपोर्टिङ गर्नुपर्ने भएपछि घटनाको भोलिपल्ट अर्थात् गत मंगलबार बिहानै नेपालगन्जबाट बन्द छिचोल्दै घटनास्थलतर्फ पुगियो। मनमा अलिअलि डर थियो। पूर्वपश्चिम राजमार्ग सुनसान थियो। बर्दियाको बाँसगढी, भुरीगाउँलगायका बजार बन्द थिए। बस्ती रहेको स्थानमा सुरक्षाकर्मी तैनाथ थिए। टीकापुरमा भएको हिंसात्मक घटनापछि सरकारले सुरक्षा बढाएको थियो। बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै चिसापानी पुग्ने बजार भने केही खुलेका थिए। त्यहाँबाट लम्कीबजार पुग्नुपर्ने तर थियो निषेधाज्ञा। बजार पूरै सुनसान र बन्दुक बोकेका सुरक्षाकर्मी मात्रै थिए।

लम्कीपछि दक्षिणतर्फ पर्ने करिब १४ किलोमिटर दक्षिणमा टीकापुर पर्छ। तर त्यहाँ घटना भएलगत्तै अनिश्चितकालीन कर्फ्यू लगाइएको रहेछ। कर्फ्यू पास थिएन। त्यसैले सहकर्मी गणेश चौधरीले लम्की इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न सुझाए। प्रहरी निरीक्षकले टीकापुर आफ्नो इलाका नपर्ने भन्दै तर्किन खोजे। जुनसुकै हालतमा पुग्नुपर्ने अडान राखेपछि आफ्नो एरियासम्म स्कर्टिङ गरिदिए।

करिब ४ किलोमिटरसम्म, जहाँबाट कर्फ्यू सुरु थियो। बाटामा पर्ने राजीपुर, अमौरी, अमौरा, पठरैया, तोरैयापुर, दुर्गौली, भगतपुरगाउँ सुनसान थिए। घरका ढोकाहरू बन्द थिए। सडकभरि सिसा छरपस्ट देखिन्थे। जलेका टायरका टुक्राहरू देखिन्थे। हिंसात्मक घटना भएको अघिल्लो दिन अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबीच भिडन्त भएको तोरैयापुरको पुल नजिकैको सडकमा ढुंगाको अवरोध उस्तै थियो।

तोरैयापुरदेखि सडकमा सुरक्षाकर्मी अलि बढी नै देखिए। कर्फ्यू पास नभएकाले सुरक्षाकर्मी देखिना साथ नजिकै पुगेर रोकिन्थे। नेपालगन्जबाट आएको भनेर अनुरोध गर्दा छाडिदिन्थे। कर्फ्यू पास कसैले मागेनन्। अवरोध पनि भएन। नेपाल पत्रकार महासंघको ज्याकेट र गाडीमा लेखिएको प्रेसले मलाई सुरक्षा दिएको थियो। तर सुनसान सडकमा एक्लै हिँड्दा डर लाग्थ्यो। साथीहरूले बजारको अवस्था निकै तनावपूर्ण भएकाले टीकापुर सामुदायिक एफएममा आउन भने। टीकापुरको मुख्य बजार पुग्नु अगावै खडक चोक रहेछ। त्यहाँ तैनाथ सुरक्षाकमीले रोके। फेरि त्यही जवाफ फर्काए। एक कदम मात्रै हिँडेको थिएँ। दक्षिणबाट आइरहेका तीन जना अग्ला, प्रहरीजस्तै कपाल र हाफ पाइन्ट लगाएका चार युवाले रोकिहाले। ‘तँ थारू होस्,’ तीमध्ये अग्लो कद भएकाले आक्रोशयुक्त प्रश्न गर्दै धम्क्याए, ‘पेट्रोल ल्याए। यसलाई पनि जलाइ दे।’

म झसंग भएँ। जीवनमा यस्तो प्रश्न र अवस्था कहिल्यै झेलेको थिइनँ। ‘म नेपालगन्जबाट आएको पत्रकार हो,’ जवाफ फर्काएँ। कर्फ्यूका बेला मलाई त्यसरी धम्क्याइरहँदा हतियारधारी प्रहरी एक शब्द बोलेनन्। कर्फ्यू तोडेको आरोपमा गोलीसमेत हान्न पाउने अधिकार पाएको सुरक्षाकर्मीले उनीहरूलाई पक्राउ गर्न सक्थ्यो। तर रोक्ने प्रयाससमेत नगरेपछि डराउनु स्वाभाविक थियो। त्यसमध्ये एक युवा अलि बुझ्ने रहेछन्। आफ्ना साथीलाई भने, ‘यो थारू भए पनि बाहिरको हो। मानवीय संवेदनाले पनि छोड्नुपर्छ। तर समाचार राम्रो लेखेस् है, चेतावनी दिन भ्याए। हस् हजुरबाहेक मसँग कुनै शब्द थिएन।

टीकापुर एफएम पुगेपछि थाहा भयो, सहकर्मी गणेश चौधरीको अवस्था बेहाल रहेछ। त्यहाँका पत्रकारहरू कतिसम्म डराएका रहेछन् भने उनलाई रेडियोको अनएयरमा लुकाएका रहेछन्। म पुगेपछि सहकर्मी गणेशलाई केही साहस आयो। त्यहाँका पत्रकारहरूले भन्दै थिए, ‘तपार्इंको साहसलाई हामी सम्मान गर्छौं। तर यस्तो बेला तपार्इं नआउँदा राम्रो हुन्थ्यो। घर जान नसकेर सबै पत्रकारहरू करिब १ बजेसम्म भोकै थिए। बजार बन्द थिए। सबैको अवस्था हेरिरहेकी नजिकैको पहाडी समुदायकी महिलाले दाल र भात पकाएर खुवाइन्। भन्दै थिइन्, ‘बजार बन्द छ। तरकारी छैन। यही खानुस्।’ उनको मानवीयता देखेर अघि भएको दुर्व्यवहार सबै बिर्सियो।

हराएको खबरपछि
खानापछि फेरि सबै एफएममै जम्मा भयौँ। अघि भएको घटना साथीहरूलाई सुनाएँ। कर्फ्यूमा पनि टीकापुरका स्थानीयका घरमा आगजनी भइरहेको थियो। घर जलेको आगोको मुस्लो त्यहाँबाट प्रस्टै देखिन्थ्यो। स्थानीय पत्रकारहरूले फलानोको घर भनेर अनुमान गर्थे। फोटो खिच्न जाने कसैको हिम्मत भएन। एमएफमा जम्मा हुनुुुको एउटै कारण थियो, कम्तीमा यहाँ आगजनी नगर्लान्। तर स्थानीय फूलबारी एमएममा आगो झोसिएको खबर आएपछि स्थानीय पत्रकार पनि त्रसित भए। कर्फ्यूको सूचना मात्रै बजिरहेको उक्त एफएम पनि बन्द गर्ने सल्लाह गरिरहेका थिए।

एक्कासि पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाशविक्रम शाहको फोन आयो। उनले भने, ‘ठाकुरजी, प्लिज तपार्इं टीकापुरमा नबस्नुस्। घटना साम्प्रदायिक भइसक्यो। तपार्इंको ज्यानको खतरा हुन सक्छ। लगत्तै महासंघका पूर्वमहासचिव पोषण केसीको फोन आयो, एफएमको ल्यान्डलाइन नम्बरमा। ‘तिमी टीकापुरमा सम्पर्कविहीन भएको खबर मकहाँ आएको थियो। अहिले कुन अवस्थामा र कहाँ हो? नेपाल प्रहरी र सशस्त्रसँग कुरा हुँदा अहिले सुरक्षा दिन नसक्ने अवस्था रहेको जवाफ फर्काएका छन्। त्यसैले सेनाको हेलिकप्टर पठाउने कुरा छ,’ उनले भने। म सुरक्षित रहेको जानकारी गराएँ। त्यसरी मेराबारेमा हल्ला फैलिएपछि कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा, समाचार सम्पादक हरि थापा, जिल्ला ब्युरो संयोजक गंगा बीसी, नेपालगन्ज क्षेत्रीय ब्युरो प्रमुख जनक नेपाललगायतले फोन सम्पर्क गरी अवस्था सोध्नु स्वाभाविक थियो। उहाँहरूले पहिले सुरक्षा र त्यसपछि मात्रै समाचार संकलनका लागि सुझाव दिनुभयो।

कर्फ्यूमा समाचार संकलन
दिउँसो ३ बजिसकेको थियो। तर टीकापुर घटनाको समाचार संकलनका लागि पुगेको म एफएममै थुुनिएर बस्नुपरेको थियो। कति यसरी बस्नु? नेपाल टेलिभिजनका स्थानीय संवाददाता महेन्द्र भण्डारीले आफ्नै मोटरसाइकलमा बसाएर आगजनी भइरहेका स्थानमा पुर्‍याइदिन्थे। स्थानीय प्रहरीले उहाँलाई चिनेका कारण त्यो दिनको रिपोर्टिङ सम्भव भयो। मलाई अनुहार छोप्नका लागि हेल्मेट लगाइदिएका थिए। बास बस्न होटेल सिद्धार्थमा पुगियो। सहकर्मी गणेश पनि आफ्नो घरमा जान सक्ने अवस्था थिएन, कर्फ्यूका बेला।
घटनापछि त्यहाँ भएका पहुनाले होटेल छोडिसकेका रहेछन्। महेन्द्रनगरका पत्रकार बच्चु विक पनि हामीसँगै थपिएर चार जना भयौँ। राष्ट्रिय मानव अधिकारलगायतका अधिकारवादीहरू त्यस दिन टीकापुर आउने आँट गरेनन्। राति प्रहरीको टोली आयो। थरुहट आन्दोलनका नेताहरू लुकेको शंकामा होटलका कर्मचारीसँग सोधपुछ गर्‍यो।

भोलिपल्ट एकाबिहानै प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको घटनास्थल पुगियो। घटनास्थल पश्चिमतर्फ पर्ने पशुहाट बजार नजिकै भएको रहेछ। घटनास्थलमा सुरक्षाकर्मीको पोसाक र सुरक्षाकवच जलेको अवस्थामा थिए। स्थानीयको घर नजिकै उक्त घटना भएको रहेछ। उक्त दिनका प्रत्यक्षदर्शीहरू मुख खोल्न मानेका थिएनन्। कुरा गर्दा पनि नाम नलेखिदिन आग्रह गरे। उनीहरूका अनुसार घटनाका दिन पनि १८/२० प्रहरी त्यहाँ तैनाथ थिए। निषेधाज्ञा लगाइएको थियो। प्रदर्शनकारीहरू चारैतिरबाट नगरपालिका छिर्ने हल्लाले स्थानीय प्रशासने त्यसरी नै सुरक्षाकर्मी तैनाथ गरेको रहेछ। तर पशुहाट बजार नाकाबाट बढी प्रदर्शनकारी आए। घेरा तोड्न खोजे। तैनाथ सुरक्षाकर्मीले आफ्ना प्रमुखलाई जानकारी गराए।

सञ्चार माध्यममा सुरक्षाकर्मीको एकहोरो कुरा आउन थलोपछि भोलिपल्ट गाउँ छिर्ने कुरा भयो। तर कर्फ्यूमा सुरक्षाको चिन्ता भने उस्तै थियो। जे भए पनि जानैपर्ने थियो। टीकापुरबाट गाउँ हिँडियो। हिंसात्मक घटनापछि गाउँका स्थानीय नयाँ अनुहार देख्नसाथ स्थानीय भाग्थे। स्थानीय प्रशासनले सुरक्षाका लागि आश्वस्त पार्न नसक्दा गाउँ खाली भएको सर्वसाधारणको गुनासो छ। दुवै समुदाय लम्की, धनगढी, बर्दियाको राजापुरलगायत आफन्त र छिमेकीका घरमा गएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *