Kamalariरुबी रौनियार, चरिकोट (दोलखा)-बिहान आठै बजे उनीहरु सेतो कुर्ता सुरुवाल, कालो स्विटर र सेतो सलमा छात्रावासबाट निस्कन्छन्। दोलखा जिरीस्थित जिरी प्राविधिक शिक्षालयमा हाजिर गरेर जिरी अस्पताल दगुरिहाल्छन्। शिक्षालयमा अनमी तहको प्राविधिक शिक्षा लिइरहेका ४० जना पूर्वकमलरी कहरको विगत बिर्सिएर दिनभर बिरामीको सेवामा जुट्छन्।
‘छिटो जाऊँ, अस्पतालमा धेरै बिरामी हामीहरुलाई कुरिरहेका हुन्छन्,’ यो संवाददाता त्यहाँ पुग्दा अस्पताल जान हतारिइरहेकी १८ वर्षीया कृष्णा चौधरी साथीहरूलाई छिटो तयार भएर निस्कन भनिरहेकी थिइन्।
बर्दियाकी कृष्णा पाँच महिनाअघि जिरी प्राविधिक शिक्षालय भर्ना भएकी हुन्।
सानै उमेरमा आमाबुबा गुमाएकी उनले १२ वर्ष कमलरी बसेर हदैसम्म दुःखकष्ट खेप्नुपर्‍यो। तीन वर्षअघि मात्र कमलरीमुक्त कृष्णा गत वर्षको एसएलसी परीक्षामा अंग्रेजी, विज्ञान र गणितमा फेल भएपछि नेपाल युथ फाउन्डेसनको साथले प्राविधिक शिक्षाको अवसर मिलेको हो।
‘एसएलसीमा फेल हुँदा सबैथोक गुमेजस्तो लाग्यो,’ कृष्णाले नागरिकसँग भनिन्, ‘तर जब म जिरी प्राविधिक शिक्षालयमा टी. एसएलसीअन्तर्गत अनमी पढ्न पाएपछि जीवनमा केही गर्नसक्ने आश पलायो।’
कृष्णाले नर्स बन्ने सपना बोकेकी छिन्। दुःखलाई प्रेरणाको स्रोत बनाएकी उनले अनमी र एसएलसी दुवैलाई एकैसाथ लिएर अघि बढ्ने योजना सुनाइन्।
फाउन्डेसनको आर्थिक सहयोगमा जिरी प्राविधिक शिक्षालयमा विभिन्न जिल्लाका ४० मुक्त कमलरी प्राविधिक एसएलसी अध्ययनरत छन्। अस्पतालमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उनीहरु गर्भवतीको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य चेतना, परिवार नियोजनका साधन प्रयोगबारे सिकाउँछन्। ‘सेवासँगै चेतना बाँड्न पाएकोमा खुसी छु,’ अर्की मुक्त कमलरी मनिमा डगौरा भन्छिन्।
कैलालीकी मनिमा गाउँमै चार वर्ष कमलरी बसेकी हुन्। त्यतिखेरको दुःख उनी सपनामा पनि सम्झन चाहन्नन्। १८ वर्षीया मनिमाले गरिबीकै कारण पढाइमा ध्यान दिन सकिनन्। गत वर्ष एसएलसी दिएकी उनलाई ६ विषयमा असफलता हात लाग्यो।
‘एक मन त झुन्डिएर मरूँजस्तो लाग्यो,’ मनिमाले दुःख पोखिन्, ‘जब बा–आमाको मुख हेरेँ, नराम्रो विचार बदलेर केही गर्नुपर्छ भन्ने बल मिल्यो।’
आफूले अस्पतालमा उपचारत बिरामीबाट थप जिउने प्रेरणा पाएको उनले सुनाइन्।
उनीहरुले सात घन्टा अस्पतालमा निःशुल्क सेवा दिनुपर्छ। ‘अस्पतालबाट फर्केपछि प्राविधिक शिक्षालयमा तीन घन्टा कक्षामा सहभागी हुनुपर्छ,’ अर्की पूर्व कमलरी रेशमकुमारी चौधरीले जानकारी दिइन्। १२ वर्षको उमेरदेखि नै कमलरी बसेकी रेशम पनि एसएलसीमा अंग्रेजी, गणित र विज्ञान विषयमा फेल भएकी थिइन्।
रेशमलाई सानैमा मातृवियोग पर्‍यो, आमाले कान्छीआमा ल्याएपछि उनको जीवनमा दुःखको बाढी आयो।
‘काम गर्ने मालिकले खाना र बस्ने मात्र व्यवस्था मिलाएको थियो। एक रुपैयाँ पनि दिँदैनथ्यो,’ सात वर्ष कमलरी बसेकी रेशमले सम्भि्कन्। उनी पनि अनमीसँगै एसएलसी तयारी गर्दैछिन्, नर्स बन्ने सपना पूरा गर्न।’
२९ महिने टी–एसएलसी कक्षाले आफूहरुलाई आत्मनिर्भर बनाउने विश्वास जगाएको दाङकी जीवनी चौधरीले सुनाइन्। एसएलसी फेल भए पनि आफूले प्राविधिक विषय पढ्न पाएकोमा उनी खुसी छिन्।
तीन वर्षसम्म कमलरी बसेकाले आफूले पढाइमा ध्यान दिन नपाएकाले एसएलसीमा सफल हुन नसकेको उनको गुनासो छ।
शिक्षालयले एसएलसी फेल भएका विद्यार्थीका लागि २९ महिने टी–एसएलसी कोर्स सञ्चालन गर्दै आएको उपप्रमुख गोपाल जिरेलले बताए। नेपाल सरकार तथा स्विस सरकारको संयुक्त परियोजनाको सहयोगमा शिक्षा मन्त्रालयअन्तर्गत प्राविधिक तथा व्यावसायिक शिक्षा निर्देशनालय मातहत २०४० मा जिरी प्राविधिक शिक्षालय स्थापना भएको थियो।
विसं २०४५ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) गठन भएदेखि शिक्षालय यसैको आंगिक रुपमा सञ्चालन हुँदै आएको छ। शिक्षालयले हालसम्म २ हजार ६ सय ८० दक्ष जनशक्ति उत्पादन गरिसकेको छ।

सुरुमा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा र सोलुुखुम्बु गरी पाँच जिल्लाका विद्यार्थीका लागि मात्र लक्षित शिक्षालय ०५० देखि देशभरिकै विद्यार्थीका लागि खुला गरिएको उपप्रमुख जिरेलले जनाए।

सिटिइभिटीका निर्देशक सौरभराम जोशीले देशभरि २० वटा आंगिक शिक्षालय रहे पनि नतिजामा काठमाडौंको बालाजु प्राविधिक शिक्षालय, दोलखाको जिरी प्राविधिक शिक्षालय र जुम्लाको प्राविधिक शिक्षालय अगाडि रहेको बताए।

नागरिक दैनिक साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *