बुह्रानका थारू र अन्य समुदाय
रामचन्द्र बराल- बुह्रान टापुमा समूदायका अन्तकृयामा उपस्थित रहेका अन्य मुख्य समूदायहरू विशेषगरी जुम्ली समूदाय, अछामी समूदाय, ठकुरी समूदाय, दंगाली समूदाय, पूर्वेली समूदाय, मुसलमान समूदाय, दलीत समूदाय रहेका छन्। अन्तरकृयाका क्रममा ती समूदाय र थारू समूदायका बीच कस्तो सम्बन्ध रहेको थियो भन्ने सबालमा केन्द्रीत रही समूहगत छलफल र अन्तरकृयामा पाइएका निचोडहरूलाई तल प्रस्तत गरिएको छ। छलफलमा द्वन्द्वपूर्वको अवस्था (२०५२ साल पहिले) द्वन्द्व उत्कर्षको बेला (२०५२–२०६२ साल) र द्वन्द्व मत्तथरको बेला २०६३ पछि विभाजन गरी प्रतिकृया खोजिएको थियो।
तिनताका औलो ग्रस्त बुह्रानमा शिक्षाको शुलभ पहुँच थिएन। पढालेखा व्यक्तिहरु को अभाव भएकोले सिकाउने मान्छे पनि बाहिरबाट झिकाउनुपर्थ्यो। धनी जमिन्दारहरुले आफ्ना छोराहरुलाई पढाउनका लागि दाङ्गबाट शिक्षकहरु झिकाउँदथे। दाङबाट आएका शिक्षकहरुले पुषको जाडोमा झर्ने र फागुनको गर्मीले नचेप्दासम्म मात्र पढाइदिन्थे। यही ३ महिना मुस्कीलले पढेपछि अरु नौ महिना पाठशाला विना नै वित्दथ्यो भन्ने कुरा बुह्रान टापुका ज्येष्ठ नागरिक शालिकराम चौधरी (८८) ले बताए। मास्टरहरु शीत र औल दुवैबाट डराउँथे, त्यसैले शीत छल्न र औल नलाग्दै मात्र उपलब्ध हुन्थे। चिठी आएको बेला पढ्नका लागि जमिन्दारको कारिन्दाहरु खोज्न जानु पदर्थ्यो। उक्त बेला आएका शिक्षकहरुले विद्यार्थीबाट प्रति विद्यार्थी १ रुपैया देखि ३ रुपैयासम्म प्रति महिना शुल्क लिने गर्दथे भने ठूलो वर्णमाला पढाउने, तमसुक भरपाई लेख्न सिकाउने बिन्ती पत्र लेख्न र पढ्न सिकाउने त्यस बखतको आधारभूत शिक्षा मानिन्थ्यो’ नयाँगाऊ (लवलपुर) का ८० वर्षीय खुमलाल दहितले जनाए। बुह्रानमा औंलो रोकथाम हुनाले र भूमि सुधारमार्फत् जग्गा विक्रीमा रहँदा जग्गा पाइने अवस्थाले धेरै पहाडेहरु पनि यहाँ आएका थिए। औंलो नियन्त्रण र पहाडीयाहरुको बढ्दो सहभागिताले यहाँ विभिन्न शैक्षिक तथा सामाजिक अन्तरक्रियाका विकल्पहरु पनि बढदै गए।
थारू र जुम्ली
थारू समूदायसँग प्रारम्भिक अन्तरकृया गर्ने पहाडे समूहमा जुम्ली पहिलो समूदाय हो। बुह्रान टापुको राजापुर मण्डीमा हिउँदे हाटबजारको बेला डोकेामा घिउ, जडीबुटी र कम्मलको व्यापार गर्ने जुम्लीहरूसँग थारूहरूको नियमित व्यपारिक सम्बन्धका कारण भेट सम्पर्क बढ्न थालेको थियो। तिनताका राजापुरको कासेघारीमा हुने हाटबजार कर्णालीका घुमन्ते व्यापारीको प्रमुख ग्रामीण ग्राहकसँगको अन्तरकृयाको संयोग मानिन्थ्यो। जुम्लीहरू जमिन्दार नभएकोले थारूहरूसँग कुनै द्वन्द्व थिएन। जुम्लीहरूलाई थारूहरूले “हटालु” भन्ने गर्थे। थारूहरूको बोलीचालीमा हटालु भनेको ‘हटीयाका डोके व्यापारीहरू’ भन्ने बुझिन्छ।
व्यापारिक हिमचिमका कारण कर्णालीको कष्टकर जीवनबाट बसाईसरेर बुह्रान आउन थालेका जुम्लीहरू थारूलाई सोझा र सरल भन्दथे भने थारूहरूले पनि जुम्लीलाई अरु पहाडे भन्दा सरल नै मान्दथे।अन्तरकृया कै दौरानमा पहिलाका दिनमा जुम्लीले थारूलाई लटपट्याउन सकिन्छ भन्ने धारणा लिएर नजिकिएको, थारूले अरु पहाडेका तुलनामा जुम्लीलाई हेप्ने गरेकोले कसले कसलाई लट्पट्याउने भन्ने होड चल्ने गरेको अनुभव छलफलमा पाइयो। ‘अन्तत जुम्लीले आफ्नो दुनो सोझ्याउथ्यो ‘एकजना गैर जुम्लीले समूहको अन्तरकृयालाई नियाली रहेका छिमेकीको आधारमा टिप्पणी गरे। साधारण लवाई खवाई र कत्तिपनि बडापन नदेखिने जुम्लीहरू आर्थिक उपार्जनमा लागि रहने उच्च बानिया सीप’ भएका समुदाय मानिन्छन्।
पछिल्ला दिनहरूमा जुम्ली र थारू समूदायबीचमा केही चिसोपना देखियो। यसको कारण के भने जुम्लीहरूले खेतीकर्म गर्नका लागि थारू किसानलाई बटैया (अधियाँ)मा दिएपछि वर्षे वाली दुवैलाई वटैया र रवीवाली (हिउँदेवाली) भने भूमिवाल जुम्लीलाई मात्र भन्ने विषयका तनावले उचाई लिन थाल्यो। जुम्ली समूदायलाई रवीवालीमा किसानको हक नदिएपछि थारू किसान र जुम्लीका बीचको द्वन्द्व चर्किदै जान थाल्यो भने ‘हटालुहरूलाई डोको बोकाएर फिर्ता पठाउनु पर्छ’ भन्ने खालको आक्रोस थारू समूदायमा उठ्न थालेको पाइयो।
थारू र अछामी
अछाम जिल्लाबाट बसाईं सरी आएका अछामीहरू जुम्ली भन्दाअलि बढी बडप्पन र आक्रामक मानिन्छन्। थारू समूदायमा अछामीलाई असहिष्णु र आक्रामक मान्ने गरेकाले उसँग अन्तरकृया गर्न थारूहरू डराउने गरेको पाइन्छ। फेरी अछामीहरू एकै ठाउँमा वाक्लो वस्ती बनाएर बस्ने र आपसी संगठन तथा सघन अन्तरकृयाले गर्दा एउटा थारू र अछामी बीचमा विवाद भईहालेमा सबै सम्पर्कका अछामीहरू एकजुट भई थारूमाथि खनिने भएकाले सकेसम्म अछामीसँग थारूहरुले भारा पर्म — लेन देन गर्न उत्साहित हुँदैनन। कतिपय समूहगत वस्ती बनाएका अछामीहरू वाहेक एकलासमा बस्ने अछामी समुदायका ब्यक्तिहरु आफ्नै समूहको बस्तीमा घर बनाउन पुगेका वा टापुमा त्यो सम्भव नभएमा कैलालीको टिकापुर तिर बसाई सरेको पाइएको छ। थारूहरूसँग नरम व्यवहार गर्ने मानिएका अछामीमूलका व्यक्तिहरू विशेषगरी ज्योतिष र पुरोहित पेशा अगाल्नेहरू बुह्रान मानै टिकेको पाइएको छ।
थारू र ठकुरी
थारू र ठुकरी दुवै मतवाली संस्कृति मान्ने भएकोले सम्बन्ध सहज हुनुपर्ने हो। तर थारूहरूको अगाडी ‘राजा भनेका हामी नै हौं’ भन्ने रवाफ प्रदर्शन गर्ने भएकोले थारूले ठकुरीहरूलाई ‘राजा भनेका नै हुन्’ भन्ने ठानेको पनि पाइयो र बोली व्यवहारमा ठकुरीहरूले आफूलाई राजा साहेब’, मैया साहेब आदिबाट सम्बोधन गराउने गरेको पनि पाइयो। पूराना जमिन्दारको शास्ती भोगेका थारूहरू ठकुरी भनेका राजा वा राजका मान्छे हुन्, यीनले जे पनि गर्न सक्छन् भन्ने डर र त्रासले थारूहरू प्रस्तुत हुन्थे। ठकुरी परिवारले जिम्दारी खलककै रूपमा सामन्ती प्रचलन गर्ने, थारू श्रमिकको शोषण गर्ने, थारू युवतीका शारीरिक शोषण गर्ने र पीडित थारूको आवाज दवाउने स्थानीय प्रशासनमा आफनो पहुँच प्रयोग गर्ने भएकोले थारू र ठकुरीबीच अत्यन्त द्वन्द्वात्मक सम्बन्ध रहेको पाइयो।
थारू र दंगाली
अधिकांश थारू पनि दांगबाटै आएका पूर्वजका सन्तति भएकोले दंगालीसँग सकारात्मक अन्तरसम्बन्ध भएको अनुभव दुवैले गरे। तर कतिपय बेला ‘दांगबाट तिमिहरुकै कारण हाम्रा पुर्खाले खेदिनु पर्यो, फेरि हामीलाई शोषण गर्न पछ्याउँदै यहाँ पनि आइपुगे ‘भन्ने भावना देखा परेको र द्वन्द्व उत्कर्षका बेला विद्रोही मोर्चाबाट पहाडे विरोधी नारा लगाउन यस्तै सन्दर्भ अगाडी ल्याइएको पनि पाइयो।
थारू र मुसलमान
प्रायजसो राजापुर बजारमा व्यापार गरी बस्ने र गाउँ क्षेत्रमा खेतीपाती, श्रोत परिचालनमा प्रत्यक्ष सम्बन्ध नभएका मुसलमान समूदायसँग थारूहरूको उस्तो घनिष्ठता पनि नभएको र कुनै बैमनस्यता पनि नभएको देखियो।
थारू र दलित
बुह्रान टापुमा हिउँदका दिनमा आएर मजदुरी गर्ने र निवेक (ज्याला) स्वरूप धान लिने दलितहरू पश्चिम पहाडकै हुन्थे।उनीहरूसँग कारोबार गर्न दुवै पक्ष सजिलो मान्थे। यसैक्रममा खेतिपातीमा औजार बनाउने लोहार र सिलाई काममा सघाउने दर्जीहरू त्यतै बसाई सरी आए। अन्य पहाडेहरूले अछुत मान्ने भएकाले र थारू समूदायले उस्तो अछुत नमान्ने भएकाले थारू र दलितका बीच सौहार्द हिम–चिम रहने गरेको पाइयो। दलितहरूलाई थारू समूदाले कहिले पनि परचक्री ठानेन भने सहअस्तिŒवपूर्ण मर्यादा पाएकोले दलित समूदायले पनि थारूलाई पराई ठानेन्।
अन्त्यमा
द्वन्द्व उचाइमा पुगेको बेला ठकुरी समूदायमा विशेष गरी जिम्दारी खलक भनिनेहरूसँगको तनावपूर्ण अन्तरसम्बन्ध र व्राम्हण समूदायका जिम्दारहरूको सामन्ती रवाफका कारण पहिलाका दिनमा द्वन्द्वले उचाई लिइ रहेको बेला पहाडे भनेका हाम्रा प्रगतिका बाधक हुन् , तिनीहरू हामीलाई शोषण गरेर नै धनि भएका हुन् भन्ने अवधारणा निर्माण गर्दै पहाडे विरोधी नारानै लगाउन थालेको पाइयो। पहाडे सबै दुस्मन हुन उनीहरूलाई खेदनु पर्छ भन्ने नारा नै लाग्न थाल्यो। पहाडेहरुले आफनो सुरक्षाकालागि प्रसाशन गुहार्न थाले। समाजमा थारूहरूसँग घुलमिल भएर बसेका मध्यमवर्गीय पहाडे पनि थारूहरुसँग सतर्क रहने र थारूहरु पनि विपन्न पहाडेहरुसँग पनि’ त पर्भाती हुइत, अन्त्यमा उहिन्कैसँग जाइट’ (अर्थ यो त पहाडे पो हो, अन्तमा उनीहरूकैसँगमा जान्छ) भनेर सम्पर्क टाढा हुन थाल्यो। यसरी जति जति द्वन्द्वले उचाई लिन थाल्यो उति उति पहाडे थारूबीचमा अन्तरकृयात्मक सम्बन्ध शिथिल हुन थाल्यो र ध्रुबिकरण बढन थाल्यो । ध्रुविकरणको दर बढदै गएर जति मात्रामा अन्तरकृयात्मक सम्बन्धको गति शिथिल हुन थाल्यो त समन्वय र सहयोगका पक्ष पनि शिथिल हुने र वेवस्ता तथा अविश्वास बढ्न थाल्यो।
लेखक बुह्रानका थारुहरुको राजनीतिक, सांस्कृतिक अवस्थाबारे त्रिविबाट पीएचडी गरेका छन्।
Facebook Comment