काठमाडौं- परापूर्वकालदेखि नै कोच क्षेत्रमा मनाइने सिरूवा पर्व आज राजधानीमा पनि मनाइएको छ। नयाँ वर्षको आगमनसँगै मनाइने यो पर्व राजवंशी, धिमाललगायत जातिले हिलो छ्यापेर निकै हर्षोल्लासका साथ मनाएका छन्। राजवंशी समाज विकास समितिले काठमाडौंको खुलामञ्चमा सिरूवापर्व आयोजना गरेको हो। 
सिरूवा पर्वका अवसरमा कोच क्षेत्रका बासिन्दाले देवता (प्रकृति) को पूजा गर्छन्। त्यसलाई उनीहरु कूलपूजासमेत भन्ने गर्छन्। देवताको पूजा गर्दा पानी, हिलोलाई पूजा गरेर घाटोसरी (माटाको भाँडो) मा फलफूल राखी चढाउने प्रचलन छ। गएको वर्षलाई बिदाइ गर्दै आगामी वर्षभरि देवता खुसी भएर पानी परोस्, बालीनाली राम्रो होस् भन्ने कामना गर्दै यो पर्व मनाइने गरेकोसमितिका उपाध्यक्ष गोपालचन्द्र राजवंशीले बताए।

यो पर्व विशेष गरी झापा, मोरङ र सुनसरीमा कोच क्षेत्रका बासिन्दा (राजवंशी, धिमाल, सतार, मेचे, ताजपुरिया, सतार आदि) ले मनाउने गर्छन्। ती जिल्लाबाट काठमाडौँमा आई बसोबास गर्ने सो जातिले सो पर्व मनाएका हुन्। यो पर्व तीनदिन मनाइन्छ। नयाँ वर्षको पहिलो दिन एकापसमा पानी छ्यापेर खुसियाली मनाइने, दोस्रो दिन हिलो छ्यापेर र कूल देवताको पूजा गरेर एकापसमा शुभकामना आदानप्रदान गर्ने र तेस्रो दिन विभिन्न प्रकारका रङ खेलेर यो पर्व मनाउने गरिन्छ।
काठमाडौँमा भने यो पर्व पाँच वर्षदेखि मनाइँदैआएको हो। पछिल्लो जनगणनाअनुसार राजवंशी जाति पाँच लाखको हाराहारीमा र कोच क्षेत्रमा बसोबास गर्ने सबै जाति १५ लाखदेखि २५ लाखको हाराहारीमा भएको बताइएको छ। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *