जितिया पर्व सम्पन्न
काठमाडौं- तराईमा बस्ने महिला समुदायले मनाउने जितिया पर्व आज सम्पन्न भएको छ। तिथिका समयमा थपघटका कारण यसपटक आइतबार बेलुकी ८ बजेदेखि अष्टमी तिथिको प्रवेश गरेकाले यो पर्व कठोर बनेको थियो।
सामान्यतः यो पर्वमा सप्तमी तिथिको अन्तिम प्रहरमा सूर्योदय हुनुअगावै व्रतालुले आफूलाई मनपर्ने चोखो भोजन ग्रहण गरी इच्छाभर पानी खाएर व्रतको शुभारम्भ गर्ने प्रचलन रहेकामा यसपल्ट सो साइत नजुरेकाले व्रतालुहरुले करिब ३६ घन्टा निराहार व्रत गरेका थिए।
यस पर्वमा पर्व अवधिभर थुक पनि निल्न नहुने र पर्वलाई खण्डित पनि गर्न नपाइने परम्परा छ। यो पर्वमा सन्तान जीवित रहोस् भन्ने कामनाका साथ जिभूतवाहन भगवान् (यमराज/धर्मराज) को पूजाआजा गरिन्छ। जितिया व्रत बस्नेहरु नदी तलाउ अथवा आफ्नै घर आँगनमा खाल्डो खनी पाकडी रुखको हाँगा रोपी हाँगामा चिल र स्यालको स्वरुपलाई माटोका मूर्ति बनाई ब्रह्मा, विष्णु, महेश्वर, गणेशको पूजाआजापछि यमराजको पूजा गरी आ–आफ्ना सन्तानको दीर्घायूको वर माग्ने चलन छ।
यस वर्षमा माताहरुले आफ्ना मातृ पक्षलाई सम्झना गर्दै विभिन्न सामग्री अर्पण गर्ने परम्परा छ। यस पर्वले भोगविलास, काम, क्रोध र लोभबाट अलग जीवनयापनको प्रेरणा दिनुका साथै खाद्य र अखाद्य वस्तुमा भेद गर्न, सदाचारपूर्वक मनसा, वाचा र कर्मणामा वस्तुनिष्ठ हुन पनि उत्प्रेरित गर्ने गरेको जनविश्वास छ।
Facebook Comment