सप्तरी- जिल्ला विकास समितिका कर्मचारीहरूले लिएको पेस्की रकम ब्याजसहित फर्छ्योट गराउनुपर्नेलगायतका मागसहित जिविसमा तालाबन्दी गर्न पुगेका जिल्लास्थित विभिन्न ११ वटा राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। 

प्रहरीको लाठीचार्जबाट विभिन्न दलका पाँचजना आन्दोलनकारी घाइते भएका छन्।

कार्यक्रमका लागि भन्दै पेस्की रकम लिएको वर्षौंसम्म पनि कर्मचारीले रकम फर्छ्योट नगरेको भन्दै जिविसमा तालाबन्दी गर्न पुगेका जिल्लास्थित साना ११ दलका नेता कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको हो।

लाठीचार्जबाट दलित जनजाति पार्टी सप्तरीका अध्यक्ष राजकिशोर खंग, सोही पार्टीका सचिव कुशेश्वर साह, चुरे भावर राष्ट्रिय एकता पार्टीका उत्तम आचार्यलगायतका आन्दोलनकारी घाइते भएका छन्। घाइतेहरूको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। अहिले जिविस क्षेत्र तनाबग्रस्त बनेको छ भने जिविसको सुरक्षाका लागि व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ।

जिविसमा भएको भ्रष्टाचारको विरोधमा आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै साना दलका नेताहरूले प्रदर्शन जारी राखेका छन्। पेस्की लिएको रकम अविलम्ब ब्याजसहित असुली गर्नुपर्ने, जिल्लास्थित विभिन्न विकासे कार्यालयहरूले सम्पन्न गरेका कार्यक्रमको अनुगमन गराई वार्षिक समीक्षा गोष्ठी गर्नुपर्ने माग गर्दै साना दलहरूले चरणबद्ध आन्दोलन गर्दै आएका छन्।

सङ्घीय सद्‍भावना पार्टी, समाजवादी जनता पार्टी, नेपाली जनता दल, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेमकिपा, नेपाल लोकतान्त्रिक समाजवादी दल, नेकपा (माले), नेकपा एकीकृत, नेकपा (माले) समाजवादी, दलित जनजाति पार्टी र चुरे भावर राष्ट्रिय एकता पार्टीले संयुक्तरूपमा आन्दोलन गर्दै आएका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *