Bhagwati Chaudharyपूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले औरावनी–९ सुनसरीमा ६० फिट अग्लो बुद्धको प्रतिमा निर्माणको शिलन्यास गरेका छन् । करिब ११ बिगाहा क्षेत्रफलमा फैलिएको गढदेव बुद्ध पर्यटकीय स्थलमा बन्न लागेको उक्त बुद्धको प्रतिमाले लुम्बिनीको झल्को दिने बताइएको छ ।

दश वर्षे गुरु योजना बनाएर उक्त पर्यटकीय स्थललाई राष्ट्रिय गौरवको रुपमा विकास गर्ने लक्ष्य रहेको पर्यटकीय स्थलकी अध्यक्ष एवंम नेकपा एमालेकी केन्द्रिय सदस्य तथा पुर्व सभासद भगवती चौधरीले जानकारी दिइन्। उनका अनुसार उक्त योजना सम्पन्न गर्न दुई वर्ष लाग्ने छ भने बुद्धको मुर्ती निर्माण र पर्यटकीय स्थल निर्माणका लागि करिब ३५ करोड रुपैयाँ खर्च हुने बताइएको छ।

प्राचिनकालमा थारु समुदायका राजा रुपनारायणले बसोवास गरेको स्थलको रुपमा चित्रित उक्त स्थानमा थारु ग्रामथानको समेत संरक्षण गरेर बुद्ध पर्यटकीय क्षेत्र निर्माणको काम अघि बढाइएको बताइएको छ।

कार्यक्रमका प्रमुख अतिथि रहेका एमाले नेता माधव कुमार नेपालले देशको आर्थिक विकासका लागि पर्यटनको विकास र कृषिलाई आधुनिकिकरण गर्नु आवश्यक रहेको औंल्याएका छन्। अब झै–झगडा गरेर देशको विकास सम्भव नरहको भन्दै सबै दल समुदाय मिलेर राजनीतिक समस्यालाई आपसी समझदारीका माध्यमबाट अन्त्य गर्दै देश विकासमा लाग्नुपर्नेमा उनको जोड थियो।

यसरी बन्दैछ बु्द्धको भीमकाय मूर्ति

सुनसरी जिल्लाको औराबनी गाबिस वडा नम्बर ९ स्थित ग्रामथानमा महत्वाकांक्षी गुरुयोजनाका साथ नयाँ लुम्बिनीको झल्को दिने गरी बुद्ध पर्यटकीय क्षेत्र निर्माणको काम अघि बढेको हो । वुद्ध पर्यटकीय स्थल निर्माण समितिकी अध्यक्ष भगवती चौधरीले राष्ट्रिय गौरवका रुपमा विकास गर्ने लक्ष्यका साथ मूलुककै नमूना पर्यटकीय क्षेत्र निर्माण गरिने बताएकी छन् ।

Buddhaबुद्धबारे अफवाह फैलिरहेका बेला बुद्धभूमि नेपालको प्रचार-प्रसार गर्न तथा शान्तिको सन्देश दिने क्षेत्रका रुपमा बुद्ध पर्यटकीय क्षेत्रले काम गर्ने चौधरीले बताइन् । ‘यहाँ बुद्ध सर्किट बनेपछि बुद्ध सम्बन्धी प्रचार हुने गरेका गलत र भ्रामक कुराहरु निस्तेज बन्न सहयोग पुग्नेछ’ उनले भनिन् ‘बुद्धका वाणीहरुको अनुसरण गर्न र शान्तिको सन्देश फैलाउन यही बुद्ध भूमिबाट सबैलाई मार्गदर्शन हुनेछ ।’

नयाँ पर्यटकीय गन्तव्यका रुपमा मूलुकको पर्यटन प्रवर्द्धनमा समेत यस क्षेत्रले भूमिका खेल्ने उनको भनाइ छ । ‘राजनीतिक मुद्दा पूरा गर्दै मुलुक आर्थिक समृद्धितर्फ अघि बढेको योबेला यस्ता पर्यटकीय धरोहरहरु समृद्धिका आधार बन्न सक्छन्’ उनले बताइन् ।

एमाले केन्द्रीय सदस्य एवं पूर्वसभासद समेत रहेकी चौधरीको पहलमा सुरु भएको पर्यटकीय क्षेत्र निर्माणका लागि निजी श्रोतहरुबाट आर्थिक संकलन भइरहेको बताइएको छ । निर्माणका लागि सरकारले समेत सहयोगको आश्वासन दिएको चौधरीको भनाइ छ ।

दश वर्षे गुरुयोजना अनुसार अघि बढेको काम पहिलो दुई वर्षमा पर्यटकीय क्षेत्रका रुपमा बन्ने स्वरुप निर्माण गरिने बताइएको छ । यो स्थल सुनसरीको दुहबी बजारबाट ६ किलोमिटर पश्चिम-दक्षिण क्षेत्रमा अवस्थित छ । यो परियोजना कुल ३५ करोड लागत अनुमानका साथ काम प्रारम्भ गरिएको हो ।

ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक पर्यटकीय धरोहरका रुपमा यस क्षेत्रलाई विकास गर्ने लक्ष्य राखिएको छ ।

थारुको संस्कृति झल्काइने

स्थानीय गढीवनको नाममा रहेको करिब ११ विघाहा क्षेत्रफलमा बुद्ध सम्बन्धी सम्पूर्ण विषयहरुलाई समेटेर पर्यटकीय स्थल बनाउन लागिएको हो । यस क्षेत्रमा मूख्य मूर्तिका रुपमा ६० फिट अग्लो वुद्धको प्रतिमा बन्नेछ । ध्यान गर्नका लागि प्रार्थना हलसमेत बन्नेछ । यस्तै गार्डेन पनि बन्नेछ । नजिकै रहेको ट्याङ्ग्रा खोलामा र्याफ्टिङ गर्न सकिने दाबी गरिएको छ । यहाँ गौतम बुद्धका सम्पूर्ण महिमाहरुको संघालोका रुपमा मनोरम क्षेत्रहरु बन्ने निर्माण पक्षले जनाएको छ ।

फरक-फरक धर्मको समान अस्तित्वको समेत झल्को पाइने गरी बुद्ध क्षेत्रमा हिन्दुहरुका आस्थाका देवता शिव-पार्वतीका मूर्तिहरु समेत बनाइने भएको छ । धार्मिक सहिष्णुताका लागि र सबै धर्मको सह अस्तित्वका लागि यस्तो गर्न लागिएको चौधरीले बताइन् ।

यस्तै विभिन्न जातजातिका सांकृतिक विविधताहरु समेत समेटिने बताइएको छ । थारु संस्कृति लगायत स्थानीय समुदायको संस्कृतिसमेत यहाँ अध्ययन गर्न पाइने भएको छ । यहाँ बुद्धसम्बन्धी तथा स्थानीय थारु समुदायका विषयमा संग्रहित संग्रहालयसमेत बन्ने भएको छ ।

यस्तै भ्युटावर, पार्क, पजल बँगैचा, पानीको फोहरा लगायतका क्षेत्रहरु बन्दैछन् । प्राचीन थारु राजा रुपनारायणको वासस्थलको रुपमा रहेको धार्मिक किंबदन्ती रहेको यो स्थानमा ग्रामथानको समेत संरक्षण गरेर बुद्ध पर्यटकीय क्षेत्र निर्माणको काम अघि बढाइने चौधरीले जानकारी दिइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *