NEpal

१२औँ दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गतको फुटबलमा आज नेपाल बङ्गलादेशसँग पराजित भएको छ । प्रतियोगिताको समूह चरणमा बङ्गलादेशले नेपाललाई २–१ ले हराएको हो । शाही रङ्गशाला गुहावटीमा भएको खेलमा पराजय भोगे पनि नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब हुने खेलमा मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । 

रङ्गशालामा फुटबल खेल सुरु भएको तेस्रो मिनेटमा नै अनन्त तामाङको गोलमार्फत अग्रता कायम गरे पनि नेपालले जित हासिल गर्न सकेन । बङ्गलादेशका लागि ४०औँ मिनेटमा हसनले बराबरी गोल फर्काए भने ४५औं मिनेटमा महम्मद नविज जिवाजले गोल गरे । यसअघिको खेलमा नेपालले भुटानलाई ५–० ले हराएको थियो ।

महिला समूह फइनलमा
भारतको सिलोङमा जारी साग अन्तर्गत आज भएको महिलातर्फको फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । लिग प्रणाली अनुसार प्रतिद्वन्द्वी भारतसँग खेल्दै फाइनलमा प्रवेश गरेको हो । जवाहरलाल नेहरु रङ्गशालामा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दा खेल रोमाञ्चक बनेको थियो तर गोल भने कसैले गर्न सकेन ।

खेलमा नेपाल ७ अङ्कले फाइनलमा प्रवेश गरेको छ । नेपालले अब श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । नेपालतर्फकी क्याप्टेन अनु लामाले दोस्रो हाफको १३ मिनेटमा प्रहार गरेका बल बारमा लागेर फर्किएपछि समान अङ्क कायम भएको थियो । भारत, बङ्गलादेश र नेपाल समूहको ५-५ अङ्कमा रहेको थियो ।

नामिबियासँग नेपाल पराजित

त्यस्तै बंगलादेशमा भएको खेलमा नामिबियासँग नेपाल १५ रनले पराजित भएको छ। आईसीसी यू १९ विश्वकप क्रिकेटको प्लेअफ खेलमा नेपालले नामिबियाबाट २ सय २६ रनको लक्ष्य पाएको थियो। अन्तिम अोभरसम्म खेल्दा नेपालले सबै विकेट गुमाएर खेल हारेको हो। सुनिल धमलाले नेपालका लागि सर्वाधिक व्यक्तिगत ५९ रन जोडे।

नेपालका लागि योगेन्द्र सिं कार्कीले ३५ र दीपेन्द्रसिंह ऐरीले ३१ रनको योगदान गरे। यो हारसँगै नेपाल यू-१९ विश्वकपको अर्को संस्करणमा छनोट हुनबाट चुकेको छ।

टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो। हुस्सुले खेल ढिला भएपछि आयोजकले ५ ओभर घटाएर ४५ ओभर बनाएको थियो। नामिबियाका लागि लोहन लौवरेन्सले सर्वाधिक ५९ रन बनाए। त्यस्तै माइकल भान लिङ्गेलले ५८, फ्रान्कोइसले ३९ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले ३, सुशील कँडेलले २, प्रेम तामाङ र सुनिल धमलाले एक एक विकेट लिए। धमलाले पहिलो बलमै नामिबियाको विकेट लिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *