Bigunj Naka

१ सय ३५ दिनदेखि बन्द वीरगञ्ज नाका शुक्रबारबाट खुलेको छ । असोज ७ गतेदेखि बन्द वीरगञ्ज नाका शुक्रबार स्थानीय व्यवसायीले खुलाएका हुन् । मितेरीपुलस्थित धर्नास्थलमा आन्दोलनकारी कम भएका बेला स्थानीय व्यवसायीले नाकाको अवरोध हटाएका थिए ।  

नाका खुलेको थाहा पाएपछि मधेसी मोर्चाका कार्यकर्ता मितेरीपुलमा पुगे पनि स्थानीयको अवरोधका कारण नाका बन्द गर्ने प्रयास असफल भएको छ । स्थानीय व्यापारी, मालसामान ढुवानीकर्ता र केही भारतीयले नाकाको अवरोध हटाएका थिए । धर्नास्थलको अवरोध हटाइन थालेपनि आन्दोलनकारी धर्नास्थल छोडेर हिँडेका थिए ।

 मध्यान्ह १२ बजेतिर एउटा समूहले नाकामा रहेको आन्दोलनकारीको धर्नास्थल भत्काएर नाका खुलाएका हुन् । नाका खुलाउन गएको समूहले धर्नास्थलमा बाँस गाडेर आन्दोलनकारीले बनाएको अवरोध र उनिहरु बस्ने टेन्टसमेत भत्काएर धर्नाकारी बस्ने टेन्ट र ओेढ्ने ओछ्याउने कपडा जलाइदिएका छन् ।

मोर्चाका कार्यकर्ताहरु पुनः पुलमा आएर नाका अवरुद्ध पार्न खोजेका थिए ।  उनिहरुले नाराबाजीसमेत गरेका थिए । तमलोपामा नेता जितेन्द्र सोनलसहितको टोली धर्नास्थलमा पुगेकोमा स्थानीय व्यवसायीको अवरोधका कारण नाका बन्द गर्न सकेनन् । धर्नास्थल आसपासमा प्रहरीको परिचालन बाक्लो तुल्याइएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता सुशील शर्माले धर्नास्थलको अवरोध हटेपछि पुलबाटै मालसामान भित्रिएको जानकारी दिए । भन्सारले अवरोध हटेपटि ट्रक र कण्टेनरमा मालबस्तु आएको बताएको छ । अपरान्हसम्ममा नाकाबाट ५० भन्दा बढी ट्रक र कण्टेनर भित्रिएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *