‘रोल मोडल’ बन्ने दौडमा थारु चेलीहरू

लखन चौधरी/धनगढी।

कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाकी २९ वर्षीया सुनिता चौधरीले आफ्नो कोखबाट २ बच्चालाई जन्म दिएकी छिन् । तर उनी आज २ बच्चाकी आमा होइनन्, ११ बच्चाकी आमा छिन् । अगाडि बढिरहेकी छिन् भविष्यमा सयौं बच्चाहरूको आमा बन्ने गन्तव्यमा ।

पहिलो पतिको देहन्तपछि लामो समयसम्म झेलेको वियोग तथा अभाव र दोस्रो विवाहपछि परिवारबाट पाएको चरम शारीरिक र मानसिक यातनाले विक्षिप्त बनेकी उनै सुनिता आज समाजमा ‘रोल मोडल’ छिन् ।
२०७० सालदेखि परिवार बालगृह सञ्चालन गरेकी उच्च मनोबलका साथ अनाथ बालबालिकालाई माया र ममता दिई हुर्काइरहेकी छिन् ।

‘जब मेरो ४ महिनाको छोरा पेटमै थियो । तब पहिलो पतिको मृत्यु भयो । जन्म नहुँदै मेरो छोरो टुहुरो भयो । म विधुवा भए । म सोच्थे, म हुँदा त मेरो छोरोको यो अवस्था छ । जुन बालबालिकाको त कोही पनि हुन्न, उनीहरूको के हालत हुन्छ ? पछि मेरो यही सोचले बालगृह सञ्चालनसम्मको यात्रामा ल्यायो,’ उनी भन्छिन् ।

सुनिताको माइती घर बर्दियाको राप्ती सुनारी गाउँपालिका–३ हो । उनको पहिलो विवाह दाङको मानपुरका कालुराम थारुसँग १३ वर्षको उमेरमा भयो । नाचगानमा उत्तिकै सौखिन उनीहरूको नाचगानकै क्रममा प्रेम भयो । अन्ततः उनीहरूको प्रेम कलिलै उमेरमा भएपनि विवाहमा परिणत भयो ।

शुरूवाती दिन साह्रै रमाइला थिए उनीहरूको । ४ महिनाको छोरा पेटमा हुर्किरहेको थियो । नाचगान भनेपछि हुरुक्कै हुने उनीहरू नाचगानमै रमे । दैवको लीला भनौ कि संयोग कालुराम नाच्दानाच्दै अचानक ढले । हृदयघातका कारण ढलेका कालुराम कहिल्यै नउठ्ने गरी ढले ।

अनि शुरू भयो सुनिताका कहाली लाग्दा दिन । उता छोराको जन्म भयो । छोराको आगमनले खुशियाली मनाउनुपर्नेमा उनी पतिको वियोगमा जल्न थालिन् । उसो त उनको ससुरालीमा अपुग केही थिएन । परिवारजनको राम्रो व्यवहार भएपनि उनी पतिकै अनुपस्थितिले बरालिन थालिन् ।

‘सासु, ससुरा, जेठाजु, जेठानीले मलाई छोरीझैं माया गर्थे । कहिलेकाहीँ त भन्ने गर्थे राम्रो केटा खोजेर यहाँबाटै विवाह गरी दिन्छौं,’ उनी विगत सम्झिन्, ‘तर मैले विवाहबारे सोचिन । छोराकै मुख हेरेरै बसे ।’

दिन बित्दै जाँदा पश्चिम नेपालकी थारु चेली छोरासहित पूर्वी नेपालको काँकडभित्ता पुगिन् । नोट पोइन्ट बोडिङ स्कूलको होस्टेलमा काम गर्न गएकी उनी छोरासँगै त्यसै स्कूलमा ७ कक्षामा भर्ना भइन् । २ वर्षपछि पुनः उनी फर्किन गृहजिल्ला ।

तर उनी न माइती घर बसिन्, न त ससुराली घर । बर्दियाको बाँसगढीमा उनी साथीको घरमा बस्न थालिन् । त्यहाँबाट एसएलसी र प्रवीणता प्रमाणपत्र तहको अध्ययन पनि पूरा गरिन्, सँगै जीविकोपार्जनको लागि नेटवर्किङ व्यवसाय ।

उनले नेटवर्किङ व्यवसायमा राम्रो व्यावसायिक सफलता हासिल गरिन् । व्यवसायको क्रममा उनी बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरसम्म पुग्न थालिन् ।
कञ्चनपुर उनको मामा घर पनि हो । जुनकारण कञ्चनपुरमा नेटवर्किङ व्यवसायमा उत्तिकै सफलता हासिल गरेको सुनिता बताउँछिन् । उनको कञ्चनपुरको बेलौरी गाउँपालिका–७ पौलाहाका आफ्नै ठूली आमाको छोरा दिलेन्द्र चौधरीसँग भेट भयो ।

सुनिताको कार्यशैली, काममा निपूर्णताले गर्दा दिलेन्द्र निकै प्रभावित थिए । विधुवा महिला, त्यो पनि एक छोराको आमा भएपनि दिलेन्द्रले एकाएक विवाहको प्रस्ताव राखे उनलाई । शुरूमा प्रस्तावप्रति पत्यार लागेन उनलाई । तर उनको अवस्था दिलेन्द्रले सहर्ष स्वीकार गर्दै आगामी दिनसँगै संघर्ष गर्ने वाचापछि सुनिता राजी भइन् । तर दिलेन्द्रका परिवारजनले स्वीकार गरेनन् ।

‘हाम्रो सम्बन्धलाई परिवारले स्वीकार गरेनन् । उहाँले घरमा मलाई लिएर जाँदा परिवारजनले भौतिक र मानसिक यातना समेत दिए,’ परिवारजनले उखेलिए दिएको टाउको रौं देखाउँदै उनले अगाडि भनिन्, ‘तर हामीले कुनै किसिमले प्रतिकार गरेनौ । विश्वासकै भरमा पति र पत्नीको रुपमा अलग्गै बस्न थाल्यौं ।’

तर मिजासिलो स्वभाव र निकै सहयोगी भावना भएकी सुनिता अहिले उनै शारीरिक र मानसिक यातना दिएको परिवारको सबैभन्दा प्यारो छिन् । उनी भन्छिन्, ‘आजभोलि मेरो परिवार म ब्निा आधुरो रहन्छ । सबैले मलाई माया गर्नुहुन्छ । म पनि उत्तिकै ध्यान दिन्छु ।’

पतिकै सहकार्य र काठमाडौंमा रहेको न्यू बिगेनिङ चिल्ड्रेन होमका सञ्चालक बबि अधिकारीको सहयोगमा उनी बालगृह सञ्चालन गरेकी हुन् । बालगृहमा रहेका बालबालिकालाई धनगढीस्थित एक्सिस विद्या आश्रम इंगलिस बोडिङ स्कूलमा अध्ययनरत छन् ।

कम्युटरमा कखरा पढाउँदै पूर्वकमलरी

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँकी रेखा कुमारी चौधरी (२५)लाई पनि विगतको कमैया, कमलरी जीवन सम्झिदा आँखा रसाएर आउँछ । तर वर्तमानमा आउँदा आफुलाई युद्ध जितेर उल्लास मनाइरहेको सिपाहीको रुपमा पाउँछिन् । बाल्य अवस्थामा बडो मुस्किलले स्कूलको मुख देख्न पाएकी उनी हाल कम्प्युटरको किबोर्ड संग खेल्दै अरुहरुलाई ज्ञान बड्न सफल भएकी छिन् ।

अर्की पुर्वकमलरी सोमकुमारी चौधरी संग मिलेर उनी २०७२ देखि धनगढीमै धनटेक कम्प्युटर प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी छिन् । उनी कम्युटर शिक्षा पढाउँदै आएकी छिन् ।

रेखाका बुवा भरथरी डंगौरा थारु र आमा जोखनी देवी थरुनी जमिनदारको घरमा २६ वर्ष कमैया बसे । जमिनदारको घरमा न खानुको ठेगान न बस्नुको, २४ औं घण्टा जमिनदारको कामकै करकर सहनुपर्ने बाध्यता उनीहरुमा थियो । कमैयाको छोरा कमैया र छोरी कमलरी बस्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछिन् ।

‘बुवा आमा कमैया बस्नुभयो । उहाँहरु संगै म पनि कमलरी बसेको थिए’, विगत कोट्याउँदै उनले भनिन्–‘३ महिना बढी कमलरी बसे । बडो मुस्किलले ताजा खाना खान पाउँथे । घरको सबै कामको जिम्मा मेरै काँधमा लदिए ।’
सरकारले २०५८ साल कमैया मुक्तिको घोषणा गर्‍र्यो । २०६५ सालमा कमलरी मुक्तिको घोषणा भयो । कमैया र कमलरी दासताको जञ्जिरबाट मुक्त भए । रेखा आफ्नै घरमा बस्न थालिन् । स्कूल भर्ना भइन् । उनी कैलाली बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेकी छिन् ।

उनको सफलताको सीमा छैन । अध्ययनको क्रममै उनी महिला विकास समाज नामक गैरसरकारी संस्थामा जागिरे भइन् । त्यहाँ उनी आफु जस्तै अन्य कमलरी बालिकाहरुलाई फ्राई डे क्लासमा जीवन उपयोगी सीप बाड्न थालिन् । पछि उनी त्यसै संस्थामै ५ वर्षसम्म कम्प्युटर शिक्षिकाको रुपमै जिम्मेवारी पाइन् ।

आफुले हासिल गरेको सीप र ज्ञानको सदुपयोग गर्दै उनले सहकर्मी सेमकुमारी संग मिलेर ४ लाखको लागतमा कम्प्युटर परिक्षण केन्द्र सञ्चालन गरेकी हुन् । सो प्रशिक्षण केन्न्द्रमा दैनिक ५० विद्यार्थी कम्प्युटर शिक्षा लिर्दै आएका छन् । आफ्नै पौरखले स्वरोजगार बनेका उनीहरु थप दुई जनालाई रोजगारी समेत दिन सफल भएको रेखा बताउँछिन् ।

जनयुद्धले पीडित योद्धाको बुटिक सेन्टर

१० वर्षे सशस्त्र जनयुद्धताका प्लाटुन कमाण्डर भई बुलेटसंग खेलेकी कैलालीको कैलारी गाउँपालिका ८ टेढीकी सीता चौधरी हाल बुटिक सेन्टरमा रमाएकी छिन् ।

धनगढी उपमहानगरपालिका–७ देवहरियामा सलिम टेलर्स संगै बुटिक सेन्टर सञ्चालन गरी शानदार ढंगले जिविकोपार्जन गरिरहेकी छिन् ।

तर जनयुद्धले उनलाई जीवनभरी नमेटिने घाउ र चोटहरु दिएको छ । जुन घाउ र चोटहरु भुलाउने माध्यम पनि उनको उहि बुटिक सेन्टर बनेको हो ।

कक्षा ८ मा बढ्दै गर्दा २०५८ सालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको क्रममा उनी भूमीगत भइन् । देश बनाउने संकल्पका साथ जनयुद्धमा होमिएका उनी प्लाटुन कमाण्डरसम्मको जिम्मेवारी पाइन् । २०६० सालमा म्याग्दीको बेनीमा माओवादीले आक्रमणको तयारी ग¥र्यो । युद्ध रणनीतिका साथ माओवादीले त्यहाँस्थित तत्कालीन सरकारी सुरक्षा फौजको अखडालाई घेराबन्दी गरे । अनि सुरु भयो, दोहोरो फाइरिङ ।

सीता सम्झिन्–‘बम, गोलीको वर्षा हुन थाल्यो । हाम्रो टोली अगाडी बढ्दै थियो । मोर्चाको नेतृत्व मैले नै सम्मालेको थिए । एक्कासी अगाडीबाट गोली आयो अनि ढलेछु । बेहोसी अवस्थामा साथीहरुले बोकेर लगे । होस खुल्दा टाउको, छातीलगायत शरीरको ४ ठाउँमा गोलीले छेद पारेको पाए ।’

उनको शरीरमा अझैपनि गोलीको छर्राहरु रहिआएका छन् । जसले गर्दा उनी वर्तमानमा जिउ्ँदो तर ठगिएको एक योद्धाको रुपमा महसुस गर्छिन । ‘मेरो शरीरमा रहेका गोलीका छर्राले गर्दा म घाइते हुँ भन्ने कुराको ठूलो प्रमाण रहेको पुष्टि गर्छ । उसो त म संग सबै कागजातहरु पनि नभएका होइनन् । सबै सहकर्मी साथीहरुले राज्यबाट पाउने सुविधा पाए । तर म अझै बञ्चित छु । जसले गर्दा मन भतभती पोलेर आउँछ ।’

उनमा घाइते हुँदाको पीडा त ताजै छ । तर अर्को, सहयोद्धा एंवम श्रीमान गुमाउँदाको पीडा झन दर्दनाक छ उनको । युद्धको क्रममा उनको कैलाली गाउँपालिका–८ टेढीका बलिराम चौधरी ‘तुफान’ संग निकटता बढ्यो । पछि उनीहरु युद्धको मोर्चामै विवाह बन्धनमा बाँधिए । युद्धको मोर्चामा तुफान पनि घाइते भए र पछि उनको मृत्यु नै भयो ।

श्रीमान गुम्नु, शरीर भरीको गोलीको छर्राले उनी छियाछिया भइन् । थला परिन् । पछि कैलाली गाउँपालिका–८ दुधियाका बिजय चौधरीले उनको उद्धार गरे । उनी पुर्नजीवन पाइन् ।

हाल बिजय चौधरीकै सहयोगमा उनी तीन वर्षदेखि सिलाई एंव बुटिक सेन्टर सञ्चालन गर्दै आएकी छिन् । व्यापारमै व्यस्तता बढेपछि उनका श्रीमान बिजय पनि यसै व्यवसायमा क्रियाशिल भएका छन् ।

सुनिता, बिनु, सीता र रेखा समाजको प्रतिनिधि पात्र मात्रै हुन् । समाज यस्ता धेरै पात्रहरु छन् । जो आफ्नो पौरख र मेहनतले समाजमा उदाहरणीय छन् । तर वाहिर आएका छैनन् । समाजमा यस्ता पात्र पनि छन्, जो अझैपनि समाजमा व्याप्त घरेलु, लैंगिकलगायत सामाजिक हिंसाको दलदलमा फसेका छन् । उनीहरुको जीवनको कुनै सार्थकता छैन । उनीहरु विना सुनौलो र समतामूलक समाजको परिकल्पना नै गर्न नसकिने बताउँछिन् दलित महिला अधिकार मञ्च नेपाल कैलालीकी कार्यकारी निर्देशक सावित्रा घिमिरे ।

महिला अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशिल समेत रहेकी घिमिरे भन्छिन्–‘महिला पनि मानव नै हो । स्वतन्त्र र पहिचानका साथ बाँच्न चाहान्छ । उत्पीडनमा बाँच्न चाहन्न । उसको विकास, स्वतन्त्रता र पहिचानको लागि हिंसाबाट मुक्त हुनैपर्छ । हिंसा स्वन्तत्रताको बाधक भएकाले उ अगाडी बढ्न सक्दैन । महिलाको सक्षमता विना परिवार, समाज र देश बनाउने सपना केवल दिवासपना मात्रै हो ।’

कागजी न्याय मात्रै न्यायोचित न्याय नभएको बताउँदै उनले पीडितहरुलाई कानूनी उपचार संगै परिपुरण, पनुस्र्थापना र परिवार र समाजले हेर्ने दृष्टिकोण समेत सकारात्मक बनाउन सके मात्रै हिंसापछिको जीवन सार्थक हुने औल्याइन् । समय–समयमा जीवन उपयोगी सीपवारे परामर्श र रोजगारीको अवसरले पनि पीडितलाई विकास निर्माणमा अग्रसर गराउने आधार रहेको घिमिरेको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *