Chandra Chaudhary VS Shivanarayan Chaudhary

कारी महतो, चितवन- थारु विद्यार्थी समाज (थाविस)को छैठौं राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा यस संगठनको नेतृत्व आफ्नो हातमा लिन विद्यार्थी नेताहरुले आन्तरिक कसरत थालेका छन्। आफ्नो उम्मेदवारीको घोषणा गर्दै उनीहरुले विद्यार्थीहरुलाई प्रभावित पार्न विभिन्न जिल्लाका क्याम्पसमा सम्पर्क बढाइरहेका छन्।

पुस १० गतेदेखि चितवनको सौरहामा हुने तीन दिने महाधिवेशनमा अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरेका छन्। वरिष्ठ उपाध्यक्ष शिवनारायण चौधरी र महासचिव चन्द्रप्रसाद चौधरीले उम्मेदवारी घोषणा गरेका हुन्।

वर्तमान केन्द्रीय अध्यक्ष रमेश चौधरीले अध्यक्ष पदका लागि नलड्ने मनसाय व्यक्त गरिरहँदा शिवनारायण र चन्द्र प्रसादले भने कुनै पनि हालतमा आफूले नेतृत्व लिने बताइरहेका छन्।

चन्द्रप्रसाद चौधरी ०५४ सालमा थाविसमा आबद्ध भइ ललितकला क्याम्पसमा इकाइ अध्यक्ष भएका थिए। त्यसपछि उनी काठमाडौं उपत्यकाको संयोजक भए। केन्द्रीय समितिको महासचिव पद पनि सम्हालिसकेका उनले अध्यक्ष पदका लागि आफू योग्य भएको बताएका छन्।

यता शिवनारायण चौधरी पनि ०५४ सालदेखि नै थाविसमा आबद्ध भए। उनी चितवनको शहिद स्मृति क्याम्पसका इकाइ समितिमा सदस्य र पछि सचिवको कार्यभार सम्हालेका थिए। उच्च शिक्षाका लागस काठमाडौं आएपछि उनी उपत्यका समितिको तदर्थ समितिको सदस्य र पछि सल्लाहकारका साथै केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरे। त्यसैले छैठौं महाधिवेशनमा उनले आफ्नो नेतृत्व दाबी गरिरहेका छन्।

उनले राजनीतिक संकटका बेला पनि आफू मध्यमार्गी भएर काम गरेको भन्दै थाविसको नेतृत्व आफ्नो हातमा आए त्यसरी नै सबैलाई समेटेर अगाडि बढाउने बताए। यता चन्द्र प्रसाद पनि थारु पत्रकार संघको केन्द्रीय सदस्यमा रहँदा होस् वा थारु आर्टिष्ट संघको केन्द्रीय अध्यक्षमा, आफूले पदीय दायित्व अनुसारको काम गरिसकेकाले थाविसको नेतृत्व आफ्नो हातमा आए संगठनको नीतिअनुरुप सक्रिय भइ थाविसको इतिहास रच्न थप काम गर्ने बताए।

यता थाविस चितवन जिल्ला कार्य समितिले विभिन्न जिल्लाबाट आउने थारु विद्यार्थी प्रतिनिधि तथा पर्यवेक्षकहरुको खाना र आवासको व्यवस्था मिलाउन नौवटा टोली बनाइ आर्थिक तथा भौतिक संकलन अभियानलाई तीब्र बनाएका छन्।

थारु कल्याणकारिणी सभाका केही क्षेत्रका पदाधिकारीहरुले नगद तथा जिन्सी संकलनमा धेरै सहयोग गरेका छन्। ‘बाहिरी जिल्लाबाट आउने विद्यार्थीहरुबाट कुनै गुनासो नआउने गरी खाना र आवासको व्यवस्था मिलाउन हामी दिन रात खटिरहेका छौं,’ जिल्ला उपाध्यक्ष धनकुमारी महतोले भनिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *