सरस्वती चौधरीको ओलम्पिक यात्रा

लक्ष्मी जि.सी/नेपालखबर

शको एथ्लेटिक्स परिवार र त्यस खेलसँग रुचि हुनेका लागि त्रिभुवन आर्मी क्लबकी खेलाडी सरस्वती चौधरी नयाँ नाम होइन। जति बेला उनको नाम टोकियो ओलम्पिक खेल्नेका रुपमा आयो त्यसपछि भने उनीबारे देशको खेलकुदमा चासो राख्ने अधिकांशलाई थाहा भयो।

ओलम्पिक खेल्ने सपना नपाल्ने खेलाडी सायदै होलान्! सरस्वती छुट्ने कुरै भएन।

तर, कम्तीमा टोकियो ओलम्पिकमै खेल्न पाउँछु भन्ने आशा भने उनले गरेकी थिइनन्।

किनभने गत वर्ष नै नेपालगञ्ज म्यारथन जितेका गोपीचन्द्र पार्की ओलम्पिक म्याथरनमा जाने लगभग निश्चित भइसकेको थियो, उनी प्रशिक्षणमा पनि जुटेका थिए।

तर गोपीले भने जान पाएनन्। ओलम्पिक कमिटीले गोपीको नाम गत वर्ष नै पठाए पनि कोटा पूरा भएका कारण उनले खेल्न नपाएको बताएको छ।

उनी जान नपाउने भएपछि सरस्वतीलाई पठाउने निर्णय नेपाल ओलम्पिक कमिटी ( एनओसी) र नेपाल एथ्लेटिक्स संघले गरेका थिए।

दुई साताअघि मात्रै उनको नाम टोकियो ओलम्पिकको महिला एक सय मिटर दौडका लागि दर्ता भएको हो।

ओलम्पिकमा नाम सिफारिस भएको दुई दिनअघि मात्रै २४ वर्षीया सरस्वती गृहजिल्ला बर्दिया पुगेकी थिइन्।

बिरामी आमालाई भेट्न घर गएका बेला उनलाई ओलम्पिक खेल्न जानुपर्छ भनेर खबर पुग्यो।

‘घर जानुअघि ललितपुरको लगनखेलमा नै नियमित प्रशिक्षणमा थिएँ, घर गएका बेला ओलम्पिकमा खेल्न जानको लागि छनोट भएको थाहा पाएँ’, उनले भनिन्, ‘आर्मी क्लबबाट फोनमार्फत जानकारी पाएँ, अनि प्रशिक्षणका लागि आउन भनियो। मेरा लागि एकछिन त्यो सपनाजस्तै भयो, पत्याउनै पनि गाह्रो पर्यो।’

खुसीको खबर उनले बुबाआमालाई पनि सुनाइन्।

‘उहाँहरू झन् खुसी हुनुभयो, पहिलेभन्दा राम्रो प्रशिक्षण गर, आफ्नो समय सुधार गर्नु भनेर सुझाव दिनुभयो,’ सरस्वतीले भनिन्, ‘आफूले सक्दो राम्रो गर्ने प्रयास गर्नेछु।’

ओलम्पिक जाने पक्का भएसँगै एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ र उनीसँगै जापान जाने प्रशिक्षक इन्दिराकुमारी मल्लसँगै सरस्वती दशरथ रंगशालामा बिहान र साँझ दुई समय प्रशिक्षण लिइरहेकी छिन्।

‘ओलम्पिक खेल्ने सबैको सपना हुन्छ। कमैको मात्र त्यो सपना पुरा हुन्छ,’ ओलम्पियन बन्ने सपनाको निकट पुग्नै लाग्दा उनले भनिन्, ‘मैले पनि अहिले नै पूरा होला भन्ने सोचेकी थिइन। नियमित अभ्यासमा भइरहेका बेला यसरी नाम आउला भन्ने अनुमान पनि थिएन।’

ओलम्पिकजस्तो ठूलो खेल मेला नेपालीका लागि अनुभव बटुल्ने थलो मात्रै रहँदै आएको छ।

यसपटक पनि त्योभन्दा बढी आशा गरिएको छैन। ओलम्पिकमा भाग लिने ५ मध्ये सरस्वती एक हुन्। पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

सरस्वतीले भनिन्, ‘मेरो लक्ष्य भनेको आफ्नो टाइमिङ सुधार्ने हो।’

एक सय मिटर दौडमा उनको उत्कृष्ट समय १२ः४४ सेकेन्डको छ।

अझै पढ्नुहाेस