२०३८ सालमा झापाबाट भीआईपी हराउने पुहाँतु चौधरी

नेपालखबर
गोरुगाडा चढेर अमेरिका पुगिन्न। तर, गोरुगाडामै भोट मागेर सिंहदरबार छिर्न सकिँदोरहेछ भन्ने उदाहरण हुन्– झापाबाट २०३८ सालमा निर्वाचित सांसद पुहाँतु चौधरी।
अचेल सांसद वा मन्त्री बनेपछि कतिपय नेताहरुले टन्नै सम्पत्ति कमाउँछन्। गाउँबाट काठमाडौं छिरेर घर घडेरी किन्छन्। तर, पुहाँतु त्यस्तो दृष्टान्त हुन्, जो सांसद बनेपछि आर्थिक रुपमा तन्नम भए। भएको धनसम्पत्ति सिंहदरबार छिरेपछि सिद्धियो।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ मा ‘पुहाँतुबाडी’ भन्ने गाउँ छ। गाउँको नाम उनै सांसद पुहाँतु चौधरीका नामबाट रहन गएको हो।
पुहाँतुबाडीमा एउटा माध्यमिक विद्यालय छ। विद्यालयको नाम पनि पुहाँतुकै नामबाट राखिएको हो। ‘पुहाँतु जनज्योति मावि’ को दुई विघा जमीन पुहाँतुले नै दिएका हुन्।
पञ्चायतको अन्त्य भएको केही वर्षपछि पुहाँतुले संसार छाडेर गए पनि भद्रपुर–९ मा उनकै नाममा पुहाँतुबाडी गाउँ छ, गाउँमा पुहाँतुु मावि चलिरहेको छ।
झापाका पुराना वामपन्थी नेता राधाकृष्ण मैनाली पुहाँतुकै छिमेकी गाउँका बासिन्दा हुन्। मैनाली उनलाई सम्झँदै नेपालखरसँग भन्छन्, ‘पुहाँतुजस्तो मान्छे त अब राजनीतिमा पाइँदैन। उनले राजनीतिबाट कमाउने काम कहिल्यै गरेनन्। साँच्चै भन्ने हो झापामा पुहाँतुले खोलेको स्कुलमा उनको शालिक बनाए हुने, कसैले बनाउँदैनन्।’
पञ्चायती व्यवस्थाको पहिलो आम निर्वाचनमा विद्रोही उम्मेदरवारका रुपमा चर्चित पुहाँतु चौधरी को थिए रु पुहाँतुले ०३८ सालमा झापाबाट आम चुनाव जित्दै गर्दा जेलमै रहेका कम्युनिस्ट नेता राधाकृष्ण मैनालीले नेपालखबरसँगको कुराकानीमा पुहाँतुका बारेका यसरी स्मरण सुनाए–
पुहाँतु चौधरीको घर अहिलेको भद्रपुर नगरपालिका वडा नम्बर ९ को पुहाँतुबाडीमा पर्छ। पञ्चायतकालमा यो ठाउँ चन्द्रगढी गाउँ पञ्चायतभित्र पर्थ्यो।
पुहाँतु कुनै लप्पन छप्पन गर्न नजान्ने निकै सोझा थिए। अहिले उनका छोराहरु सामान्य व्यवसाय गरेर बसेका छन्। जग्गा जमीन सबै सकियो। उनी ०४६ सालको परिवर्तन पछि ०५२ सालतिर बिते।
सांसद हुनुुभन्दा पहिले पुहाँतु चौधरी गाउँका सम्पन्न मानिस थिए। अरुले पञ्च भएर धन कमाए तर पुहाँतु भने पञ्च भएर आर्थिक रुपमा खिइँदै गए।
दुईचोटि प्रधानपञ्च र एकचोटि सांसद बनेपछि पुहाँतुका घरमा मान्छे आएको आयै, भोज खाएको खायै गर्थे। सिडिओ आउँदा खसी काट्नै पर्यो। हप्तैपिच्छे भोज गर्दा उनले जग्गा बेच्दै गए।
राजा बीरेन्द्रले पुहाँतुलाई गोरखा दक्षिण बाहु तक्मा दिएका थिए। त्यतिखेरको दुई हजार रुपैयाँ पनि बक्सिस दिएका थिए। त्यो बक्सिस र तक्मा पाएपछि पुहाँतुको दुई विघा जग्गा गयो। मानिसहरुलाई भोज खुवाएरै जग्गा गयो। एउटा समूह आउँछ, हजुरले बक्सिस पाउनुभएको छ, स्कुललाई चन्दा दिनुपर्यो भन्छ। उनले जग्गा बेच्दै चन्दा दिँदै गरे।
पछि उनले राजालाई भने– सरकार, मलाई कुनै तक्मा नमिलाइदिनू। तक्मा मिलाइबक्सनुभयो भने मेरो बाँकी रहेको दुई–तीन विघा जग्गा पनि जान्छ।
पुहाँतु स्थानीय राजनीतिक दाउपेचमा राष्ट्रिय पञ्चायतको चुनावमा उठेका हुन्। त्यहाँ एस एल शर्मा भन्ने खेलाडी पञ्च थिए, बसन्तकुमार खड्का भन्ने अर्का खेलाडी थिए। यिनीहरुले गोपालचन्द्रको विरोधमा पुहाँतुलाई उठाउने हुँदा उनले चुनाव जिते। गोपालचन्द्रले पनि जिते। त्यसबेला झापामा दुई सिट थिए।
चुनाव प्रचार पुहाँतुले रोचक तरिकाले गरे। मुरई ९भुजा० मा सख्खर मिलाएर डल्ला बनाएर बोरामा हाल्ने अनि गोरुगाडामा चढेर गाउँतिर जाने। आयो है पुहाँतु चौधरी आयो भन्दै घरघरमा केटाकेटीलाई मुरईका डल्ला बाँड्ने। यसो गर्दै यिनले झापा जिल्ला घुुमे।
काठमाडौंमा उठेकी नानीमैया अलि छ्ट्टु थिइन्। तर, झापाका पुहाँतु सोझा थिए। तर, नानीमैयाकै स्टायलमा पञ्चायतको खिल्ली उडाउन पुहाँतुलाई भोट हाले। २४ हजार ६०१ भोट ल्याएर उनले चुनाव जिते। पुहाँतुु र गोपालचन्द्र बाहेक झापाका टाठाबाठा सबले चुनाव हारे।
पुहाँतुलाई भोट दिनुको कारण उनले जितेर केही काम गर्लान् भन्दा पनि बाठा पञ्चहरुलाई लडाउन भोट हालेको हो। र, मानिसहरुले उनको सोझोपनको प्रशंशा पनि गरेका हुन्। उनको सोझोपनलाई देखेर कतिपयले त्यसबेला पुहाँतुलाई प्रधानमन्त्री बनाउनुपर्छ पनि भनेर चर्चा गरेका थिए।
पुहाँतु दुईचोटि चन्द्रगढी गाउँ पञ्चायतको प्रधानपञ्चमा जितेका व्यक्ति हुन्। सांसद हुनुअघि उनलाई पञ्चहरुले जिल्ला पञ्चायतको सभापतिमा उठाएछन्। अन्ततः उनको पक्षमा एक भोट मात्रै खस्यो।
उनका प्रस्तावक त्यहाँका छट्टु पञ्च एस एल शर्मा थिए। पुहाँतुले सभामै सोधेछन्, ‘एस एलजी, तपाईले मलाई सभापतिमा उठाउनुभो, यो एउटा भोट तपाईको हो कि मेरो रु’ पुहाँतुको प्रश्नले पञ्चहरुलाई लाजमर्दो भयो।
पछि यही खेलमा पुहाँतुलाई राष्ट्रिय पञ्चायतको सदस्यमा उठाउने हुँदा यिनले चुनाव जिते र काठमाडौं आए। गोरुगाडा लिएर दुई महिना जिल्ला घुम्दाखेरि त यिनले साँच्चिकै चुनाव जिते।
प्रधानपञ्च हुँदा उनले गाउँमा राम्रो काम गरेका थिए। उनी जनताले भनेको मान्थे। आफ्नो कुरा भनाउन मानिसहरुले उनलाई सिडिओकहाँ लिएर जान्थे। उनी एकदमै सोझो खालका मानिस थिए।
काठमाडौंमा पुहाँतुले डेराका रुपमा एउटा घर लिएका थिए। जिल्लाबाट जो खाए पनि पकाएर खुवाउनका लागि भाँडाकुँडा राखिदिएका थिए। बूढो मान्छे। श्रीमती झापामै थिइन्। पहिलेकी श्रीमती बितेपछि अर्की सानी केटी ल्याएका थिए। जिल्लाबाट जो–जो आउँथे त्यहीँ भात पकाएर खान्थे, बस्थे। पुहाँतुको डेरा झापालीहरुको धर्मशालाजस्तो बनेको थियो।
पञ्चायतमा उनी कसैको गुटमा पनि लागेनन्। कीर्तिनीधि विष्टसँग नजिकजस्तो देखिन्थे। स्वतन्त्र पञ्चका रुपमा रहे। राष्ट्रिय पञ्चायतको दाउपेचमा यिनकै केही भूमिका देखिएन। जसले जे भन्नु भनेको छ, त्यो चाहिँ राष्ट्रिय पञ्चायतमा गएर भनिहाल्थे। यस्तो यस्तो भयो, तपाई त जनताको मान्छे, बोलिदिनु पर्यो भन्दियो भने उनले गएर बोलिहाल्थे। बाटैमा कसैले त्यो त भन्नुहुँदैन यो पो भन्नु पर्छ भन्दियो भने त्यो चाहिँ भन्थे।
पुहाँतुलाई दरबारले उठाएको होइन। दरबारले उठाएका चाहिँ गोपालचन्द्रलाई हो। कालीचन्द्र राजबंशी र हंसमान चौधरीहरु चाहिँ दरबारका नजिकका थिए। दरबारको कोही पनि सदस्य झापामा जाँदा गोपालचन्द्रका गएर खान्थे। अनि गोपालचन्द्रमा राजाको प्रभाव छ भने पनि जम्मै राजबंशी कम्युनिटी गोपालचन्द्रको पक्षमा थियो। पुहाँतुकहाँ दरबारको त्यत्रो ठूलो आशिर्वाद पनि रहेन।
राष्ट्रिय पञ्चायतमा आएर उनले गर्न सक्ने काम केही थिएन। विकास निर्माणमा पहुँच थिएन। बजेट पनि थिएन। सांसदले ३ हजार रुपैयाँ पाउँथे, त्यसले खानै पुग्दैनथ्यो। उल्टै, राष्ट्रिय पञ्चायतको सदस्य हुँदा यिनले अलिअलि भएको जग्गा पनि बेचेर सिध्याए।
पुहाँतु सोझो मान्छे। सादगी मान्छे। यिनले राम्राखालका जुत्ता नलगाई प्रायः चप्पलमै जिन्दगी गयो।
पुहाँतु सोझै भएता पनि जिल्लामा राम्रै प्रभाव थियो। पछि पञ्चायत गइसकेपछि त्यो स्थिति रहेन। तर, प्रधानपञ्च हुँदा पनि यिनी जनताकै मान्छे थिए। राष्ट्रिय पञ्चायतको सदस्य हुँदा भन्दा प्रधानपञ्च भएका बेला उनी आफ्नो एरियामा धेरै लोकप्रिय थिए।
प्रधानपञ्च भएका बेला उनी लखर लखर गाउँ घुम्थे। जे–जे समस्या आयो, आफ्नो विवेकले देखेको समाधान दिन्थे। त्यतिखेर उनी साँच्चै लोकप्रिय थिए। अहिले पनि पुहाँतुका नाममा गाउँ छ, स्कुल बनेको छ । क्लबहरु खुलेका छन् ।
अझै पढ्नुहाेस
Facebook Comment