हस्तकलाले फेरिएको कुमालीको जीवन  थप सामग्री

पूरा परियार/काठमाडौं।

जागिर भन्नेबित्तिकै दिमागमा क्लिक हुन्छ । सफा चिटिक्क परेको ड्रेस, सुविधासम्पन्न भवन । कम्युटर, ल्यापटप, फाइल अनि राम्रो तलब । तर बाँसगढी नगरपालिका ४ लक्ष्मणपुर बर्दियाकी कुमाली थारुको परिचय भने भिन्न छ ।

बिहान झिसमिसेमै उठेर घरको धन्दा सकेर ९ नबज्दै उनी काम सुरु गर्छिन् । उनको ड्युटी हो, हस्तकलाका सामान बनाउने अनि बनाउन सिकाउने ।

दिउँसो ४ बजेसम्म उनी काममै हुन्छिन् । उनी थारु समुदायको पहिचान बोकेको हस्तकलाका साम्रगी बनाउन सिकाउने एक कुशल प्रशिक्षकमा रूपमा परिचित छन् ।

कोरोनाका कारण लकडाउन तथा निषेधाज्ञाका बेला पनि उनको काम रोकिएको छैन । यत्तिबेला धेरै संघसंस्था, कार्यालय, व्यापार व्यसाय बन्द छन् । काम नपाएर बिहान बेलुकाको छाक टार्न पनि धेरैलाई मुस्किल छ । काम नपाएर दिनरात छटपटाएर बस्नेको कमी छैन । तर, कुमालीलाई भने दिनभरि थाकेको शरीर भए पनि रात बितेर सुनौलो बिहानी फेरि कति बेला हुन्छ भनेर छटपटी हुन्छ ।

तालिमपछि प्रशिक्षक

‘साथीहरूको लहैलहैमा लिएको तालिमले प्रशिक्षकसम्म बनाउला भन्ने सपनामा पनि सोचेको थिइनँ । तर, जुन काममा एकदमै लगाव हुन्छ, त्यो कामले ढिलोचाँडो सफल बनाउँछ भन्ने अनुभव छ,’ कुमाली भन्छिन् ।

थारू समुदायमा हस्तकलाको ठूलो महत्त्व छ, जसको प्रभावले कुमालीलाई अलिअलि हात बसाउन आउँथ्यो । त्यसैबीच उनी कोहलपुरमा एउटा संस्थाले संचालन गरेको तालिममा साथीको लहलहैमा पुगिन् सीप सिक्न ।

तालिमपछि उनले हस्तकलामा नै अघि बढ्ने निधो गरिन् । सुरुसुरुमा उनी एक्लै विभिन्न सामग्री बनाउने अनि बजारमा बेच्ने गर्थिन् ।

‘हस्तकलाका सामान बनाएर बेचेपछि आएको १ हजार रुपैयाँ मेरो जीवनको पहिलो कमाइ हो । त्यही एक हजारले आज जीवन बदलिएको छ,’ खुसी हुँदै भनिन् उनले ।

पहिलो कमाइले खुसीसँगै दिदीबहिनीहरू मिलेर काम गर्‍याे भने फाइदा हुने महसुस भएपछि उनी समूह बनाउनमा लागिन् ।

अनि बन्यो जासु महिला हस्तकला केन्द्र

पछिल्लो समय थारू महिलाले हस्तकलाका सामग्रीबाट राम्रै आम्दानी गर्न थालेका छन् । थारू महिलाहरू संगठित भएर ‘जासु महिला हस्तकला केन्द्र ‘ नामकाे हस्तकला उद्योग नै संचालन गरेर समूहमै सामग्री उत्पादन गरी राम्राे आयआर्जन गर्न थालेका हुन् ।

‘एकले थुकी सुकी, हजारले थुकी नदी’ भन्ने त उखानै छ । त्यसैले पनि हामी समूहमै काम गरी आम्दानी गरिरहेका छौँ,’ कुमालीले भनिन् ।

वनजंगलबाट सजिलै पाइने तर, त्यसै खेर गइरहेका मुज र कासको बोहोबाट कुमालीसँगै अहिले २८ जनाको समूहले सामग्री बनाउँदै आइरहेका छन् ।

त्यस्ता कच्चा पदार्थको प्रयोग गरेर उनीहरूले गहना राख्ने बाकस, महिलाले बोक्ने झोला, पर्स, पेनहोल्डर, गमला, रोटी राख्ने हटकेस, डस्टबिन, ट्रे कलमदानी, फूलदानी, फाइल, फलफूल राख्ने भाँडा, टिम्याट, हट म्याटल ढकिया, मुडालगायत १७ किसिमका आइटम बनाउँछन् ।

उनीहरूले बनाएका ती आइटम ४ सयदेखि १२ सय रुपैयाँसम्ममा बिक्री गरिरहेकाे कुमाली बताउँछिन् । यीमध्ये रोटी राख्ने हटकेस र लेडिज ब्याग जासु महिला हस्तकला केन्द्र का विशेषता हुन् ।

‘राम्रो अर्डर आयो भने एक महिनामा एक जनाले १० देखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको अनुभव छ । त्यसैले जासु महिला हस्तकला केन्द्र दैनिक मजदुरीको विकल्प बनेको छ,’ गर्व गर्दै भन्छिन् कुमाली ।

अपजसको ओइरो

३५ वर्षीया कुमाली राम्ररी पढ्न र लेख्न नजाने पनि जिज्ञासु स्वभावकी छन् । त्यसमाथि पनि हस्तकला केन्द्रकी अध्यक्ष उनी नै हुन् । उद्याेग स्थापना भएपछि उनी गाउँदेखि शहरसम्म आवतजावत गर्ने र धेरै जनासँग उनको सम्पर्क बढ्यो ।

गुनासो पोख्दै कुमाली भन्छिन्, ‘अर्डर लिन र सामान पुर्‍याउन धेरैजसो म आफैँ जान्छु । त्यसैले धेरैसँग चिनजान छ । अनि गाउँमा बुझ्ने मान्छेले नै आफैँ जान्नेसुन्ने छे भन्दै कुरा काट्छन् । कतिले नाफा धेरै खाई भन्नसम्म भ्याउँछन् ।’

लकडाउनको फाइदा

विश्वव्यापी महामारीको रूप लिएको कोभिड- १९ ले धेरैलाई हानि गरेको छ । तर, बाँसगढी नगरपालिका- ४, लक्ष्मणपुरका थारू महिलाहरूलाई भने फाइदा नै भएको कुमाली बताउँछिन् । लकडाउन सुरु भएसँगै अध्ययनदेखि कामको सिलसिलामा बाहिर रहेकाहरू पनि गाउँ नै फर्किएका छन् ।

हस्तकला केन्द्रमा नियमित २८ जनाले काम गर्दै आइरहेको भए पनि अहिले त्यो संख्या बढेको छ । कारण, लकडाउन र खाली समयको सदुपयोग । प्राय: विवाहित महिलाहरूले धेरै बनाउने हस्तकलाका सामग्रीमा अहिले भने युवतीहरूको आकर्षण बढेको छ ।

‘हिजोआज झन् भ्याई नभ्याई छ । गाउँका छोरीबुहारीहरू सबैले हस्तकलाका सामान बनाउन रहर गरेपछि उनीहरूलाई सिकाउनमा ब्यस्त छु ।’ फुर्सदको समयको सदुपयोग गरेर आम्दानी गर्न सकिने भएपछि युवतीहरू यो काममा आकर्षित भएका हुन् ।

कुमाली भन्छिन्,‘ लकडाउनले एकतातिर सीप सिकाएको छ, अर्कोतिर आफ्नो संस्कृतिको जगेर्नासँगै आम्दानीको बाटो पनि देखाएको छ । त्यसैले लकडाउन फाइदाजनक बन्यो ।’

अबको योजना

घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने थारू महिलाहरूले अहिले यसलाई व्यवसाय नै बनाएका छन् ।

उनीहरूले उत्पादन गरेको हस्तकलाका सामग्री काठमाडौं, पोखरा, नेपालगञ्जलगायत देशका विभिन्न ठाउँमा बिक्रीका लागि जाने गरेका छन् । आकर्षक, पररम्परागत शैली, छिट्टै नबिग्रने भएकाले यस्ता सामग्रीको अर्डर धेरै आउने कुमालीकाे भनाइ छ ।

साथै, हस्तकलाका सामग्री पछिल्लो समय डेनमार्कमा बढी बिक्री हुने गरेको छ । योबाहेक अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडालगायतका देशमा पठाउने गरी काम गर्ने योजनामा छन् ।

हस्तकला अहिले कुमालीजस्ता धेरै थारू महिलाहरूको प्यासन नै बनेको छ । अहिले उनीहरू आफ्नाे फुर्सदिलाे समयकाे सेकेन्ड-सेकेन्ड सदुपयोग गर्दै काम गर्ने गरेका छन् । जसले थारू संस्कृतिको संरक्षण त भएकै छ, साथमा घरमै बसीबसी उद्यमी पनि बनाएको छ ।

अझै पढ्नुहाेस