शान्ता चौधरीको प्रश्न- भूमिहीनले सधैं च्यातिएकै लुगा लगाउनुपर्ने?

शान्ता चौधरी

ठूलो सुनको सिक्री लगाएर सुकुम्बासीको आन्दोलनमा मान्छे आएको भन्दै थिए। मेरो प्रश्न, गरिबको आन्दोलनमा धनीहरु आउनु हुँदैन र? गरिबहरुको आन्दोलनमा धनीले साथ दिन हुँदैन? गरिबका अधिकारका लागि उनीहरु मात्रै आउनुपर्छ र ? म अहिले भूमिहीन होइन, तर कुनै दिन म भूमिहीन हुँदाको पीडाले महशुस गरेर लडिरहेकी छु। मैले आन्दोलनको नेतृत्व गरिरहेकी छु।

हाम्रो समाजको मनोविज्ञान कस्तो छ भने कोही भूमिहीनको आन्दोलनमा उभिँदा प्रश्न गरिन्छ– यस्ता पनि भूमिहीन हुन्छन् र? भूमिहीनले सधैं च्यातिएकै लुगा लगाउनुपर्ने? सधैंभरी दुब्लो र पातलो नै हुनुपर्ने? उसलाई पनि सकीनसकी मीठो खान मन लाग्छ, राम्रो लगाउन मन लाग्छ। गरिब भनेर सधैं झुत्रेझात्रे भएर हिँड्नु? धनीले चार-पाँच करोडको गाडी चढ्दा कसैलाई मतलब छैन, उसले कसरी किन्यो? एउटा गरिबले दुःख गरेर आइरन गरेर सर्ट लगायो भने प्रश्न गरिन्छ। त्यसकारण गरिबलाई हेर्ने न समाजको दृष्टिकोण बदल्न सकियो, न राज्यको। मलाई साँच्चिकै दुःख लाग्छ।

यो व्यक्तिको विषय होइन, पार्टीको नभइ देशको समस्या हो। यो समस्यालाई जहाँ छ त्यहीँ राख्यौं भने विकराल रुप लिन्छ। फेरि पनि सुकुम्बासी र भूमिहीन हुनबाट जोगाउँछ। वास्तविक भूमिहीनले मरिजाला बेच्दैन। जीवनभर भूमिहीन हुनुको पीडा छ, मालिक बन्न पाएको छ बेच्छ होला त? हेर्ने दृष्टिकोण भिन्न भयो। म भूमिअधिकार मञ्चको उपाध्यक्ष हुँदा हामीले प्रत्येक राजनीतिक दल र पार्टीमा ज्ञापनपत्र बुझाउने र धर्ना गर्ने गरिन्थ्यो। यो एउटा पार्टीको समस्या मात्रै होइन, यो देशकै समस्या हो भन्थें। मैले सवै दललाई आव्हान गरिरहेकी छु अहिले पनि। मैले त्यो बेला पनि यस विषयमा कुरा उठाएकी हुँ।

अझै पढ्नुहाेस