रेशम चौधरीको रिहाइ कानुनअनुसार नै हुनेछ : महन्थ ठाकुर

जयन्त ठाकुर
जनता समाजवादी पार्टीभित्र विवाद उत्पन्न भएपछि महन्थ ठाकुरसहितका केही नेता अलग भए। ठाकुरको नेतृत्वमा निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको छ। पार्टी दर्ता भएपछि संगठन निर्माणका लागि अध्यक्ष महन्थ ठाकुर आफैं मधेस दौडाहामा छन्। लोसपाका अध्यक्ष ठाकुर जनकपुरधाम पुगेका बेला नवगठित पार्टीको अवस्था, भावी गन्तव्य, मधेसका मुद्दा र सममायिक राजनीतिक विषयमा उनीसँग गरेको कुराकानीको सम्पादित अंश :

नयाँ पार्टी निर्माण गर्नुपर्ने आवश्यकता किन पर्‍यो?

मधेसका जनता सबल नेतृत्वको खोजीमा छन्। राजनीतिक परिवर्तनपछि अपेक्षा गरेअनुसार मधेसी जनताले आफ्नो अधिकार पाउन सकेको छैनन्। मधेस केन्द्रित दलहरू सत्ता स्वार्थमा केन्द्रित हुँदा मुद्दा ओझेलमा परे। यस्तो अवस्थामा मधेसमा कुशल नेतृत्वका लागि हामीले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराएका हौं। हुन त जसपा गठन पनि हामीले नै गरेका थियौं। त्यति बेला समाजवादी पार्टीको भविष्य संकटमा थियो। सो दल बचाउनकै लागि हामीले समाजवादी पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनाएका थियौं। अहिले मधेसका मुद्दा ओझेलमा परेकाले नयाँ पार्टी गठन आवश्यक भएको हो।

उसो भए एकीकरण गर्नु नै गल्ती थियो त?

त्यो त समयको माग थियो। सोहीअनुसार हामीले समाजवादी पार्टीसँग एकीकरण गरेका थियौं। तर बिना तयारी हतारमा एकीकरण गरिएकाले यो समस्या निम्तिएको हो। समायोजन हुन सकेन र एकीकरण पनि टिक्न सकेन। एकै पार्टीका अलगअलग कार्यक्रम हुन थाले। त्यसपछि मतभिन्नता बढ्दै गयो। अन्ततः पार्टी विभाजनको स्थिति आयो।

विचार नमिलेका दुई नेता एक ठाउँमा आउनु पनि विभाजनको कारण थियो कि?

म विद्यार्थी जीवनदेखि प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्दै आइरहेको छु। जसपामा विभिन्न विचार र पृष्ठभूमिबाट आएका नेताहरू थिए। त्यसैले विचार फरक हुनु पनि पार्टी विभाजनको कारण हुन सक्छ। हुन त नेपालको राजनीतिक अवस्था अहिले अस्थिर छ। दल विभाजनको सुरुवात देशको सबैभन्दा शक्तिशाली दल बनेको नेकपाबाट भयो। अहिले प्रत्येक दलमा आन्तरिक कलह चुलिएको छ। प्रजातन्त्रमा पार्टी विभाजन हुनु सामान्य विषय हो। तापनि पार्टी विभाजन हुँदा मुद्दाहरु ओझेलमा पर्छन्।

अब पार्टी कसरी अगाडि बढाउनुहुन्छ?

देशमा उत्पीडनमा परेका वर्ग र मधेसका मुद्दा सम्बोधन गराउने उद्देश्यले हामीले नयाँ दल दर्ता गराएका छौं। अहिले हामी पार्टी निर्माणमा लागेका छौं। कार्यकर्तालाई एक ढिक्का बनाउँदै छौं। त्यसपछि बिस्तारै अन्य माग र मुद्दातर्फ हाम्रो ध्यान जानेछ।

रेशम चौधरीलाई मुक्त गर्न सक्नु भएन नि?

रेशम चौधरीको मुद्दा कानुनी प्रक्रियामा छ। कानुनअनुसार नै उनी रिहा हुनेछन्। माफी पनि हुन सक्छ। सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। सर्वोच्चले उनलाई निर्दोष साबित गरिदियो भने अति उत्तम। रेशम चौधरीको मुद्दा अहिलेको अवस्थामा सरकारको हातमा छैन।

अझै पढ्नुहाेस