राजेन्द्र चौधरी धनको आसमा मलेसिया गए, फर्किए बाकसमा

तुलसी सुवेदी/अन्नपूर्ण पोस्ट

कञ्चनपुर शुक्लाफाँटा–१२ तिल्कीपट्टीका राजेन्द्र चौधरी सात वर्षअघि १९ वर्षकै उमेरमा मलेसिया गएका थिए। उनको उतै माघ १६ गते सवारी दुर्घटनामा निधन भयो। सरकारले राजेन्द्रको शव बुधबार ल्याइदिएको छ।

‘घरको आर्थिक अवस्था मजबुत बनाउँछु भनेर छोरो विदेश गएको थियो। यसरी बाकसमा पो आयो। यसको क्षतिपूर्ति सरकारले देओस्’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोराको शव भएको बाकस उठाउँदै चिप्पु चौधरीले भने, ‘हामी गरिबको जीवनको कुनै टुंगो नहुने रहेछ। जहाँ गए पनि दुःखै दुःख।’

गोरखा गण्डकी गाउँपालिकाका अनिल गुरुङ एक दशकअघि मलेसिया गएका थिए। डेढ महिनाअघि उतै निधन भयो। तर, कम्पनीबाट भागेर अन्तै काम गरेका कारण शव ल्याउन समय लागेको आफन्त टकबहादुर गुरुङले बताए। त्यसका लागि परराष्ट्र मन्त्रालयलाई हारगुहार गर्नुपरेको थियो। टकबहादुर बुधबार दिउँसो अनिलको शव बुझ्न विमानस्थल पुगेका थिए।

यी दुई जनासहित मलेसियामा विभिन्न कारणले निधन भएका ९ जनाको शव बुधबार ल्याइएको छ। अन्य मृतकमा रामकुमार प्रजा, यमबहादुर कार्की, छोटन पासवान, बुद्धिराम खत्री, अकबर मियाँ, केन्द्रा राई, भीमबहादुर तामाङ छन्। कतारबाट एक जनाको शव नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक कर्मचारीले बताए।

वैदेशिक रोजगार बोर्डले यीमध्ये आठ जनाको मात्रै तथ्यांक राखेको छ। दुई जनाको श्रमस्वीकृतिको अवधि सकिएको पाइएको बोर्डका अधिकारी बताउँछन्। अवैधानिक भएका श्रमिकको रेकर्ड बोर्डले राख्दैन। यस्ता व्यक्तिका परिवारले बोर्डबाट आर्थिक सहायता पाउँदैनन्।

बोर्डका अनुसार २०७८/७९ को माघसम्म ४ सय ४० जनाको शव ल्याइएको छ। ५४ वटा ल्याउन बाँकी छ। सबैभन्दा धेरै साउदी र मलेसियामा अड्किएको छ। मलेसियाबाट १ सय ५३, साउदी अरेबियाबाट १ सय २६, कतारबाट ७३, यूएईबाट ४६, कुवेतबाट २५, बहराइनबाट ८ जनाको शव नेपाल ल्याइएको छ। जोर्डन, रोमानिया र कोरियाबाट २/२, उज्बेकिस्तान, ओमन र क्रोसियाबाट १/१ वटा शव ल्याइएको हो।
बोर्डका अनुसार साउदीबाट शव ल्याउन प्रक्रिया सुरु गरेदेखि तीन महिनाभन्दा बढी लाग्ने गरेको छ। कानुन जटिल हुँदा अन्य देशभन्दा साउदीबाट शव ल्याउन सकस पर्ने गरेको छ। मलेसियाबाट पनि शव ल्याउन केही ढिलाइ हुने गरेको पाइएको छ।

बोर्डका अधिकृत आशिष भण्डारीका अनुसार साउदीबाट शव ल्याउन तीनदेखि १७ महिनासम्म लाग्ने गरेको छ। ‘सामान्यतः साउदीबाट तीन–चार महिनामा शव आउँछ’, भण्डारी भन्छन्, ‘हत्याको केस भए धेरै लामो प्रक्रिया पूरा गर्नुपर्ने हुँदा समय लाग्छ।’ उनका अनुसार हत्या घटनामा पोस्टमार्टम गर्न समय लाग्छ। अरू देशबाट भने सातदेखि २० दिनभित्र शव ल्याइने गरेको छ।

२०७७/७८ मा १ हजार २ सय ४२ नेपालीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको बोर्डको तथ्यांक छ। यस हिसाबले औसतमा दैनिक तीन जनाको मृत्यु हुने गरेको छ। श्रम स्वीकृति नभएका कामदारको निधन भए बोर्डलगायत कुनै पनि निकायले तथ्यांक राख्दैनन्। श्रमस्वीकृति नलिई गएका, ओभरस्टे भएका, कम्पनी छोडेर भागेका, अलेखबद्ध कामदारको पनि दैनिक औसत दुई जनाको मृत्यु हुने गरेको सरोकारवाला बताउँछन्।

अझै पढ्नुहाेस