मेटमणि चौधरी: ओली समूहबाटै उदय, ओलीकै विरोधले चर्चा

‘ए बूढा, तपाईंको राजनीति के हुन्छ? पार्टी कस्तो बन्ने हो? फेरि घर आएर हलो जोत्नुपर्ला नि!’
नेकपा (एकीकृत समाजवादी) गठन गर्ने संघारमा मेटमणि चौधरीलाई उनकी श्रीमती खुमाले यस्तै प्रश्न सोधेकी थिइन्। श्रीमती दाङमा थिइन्, उनी काठमाडौँमा। यताको राजनीतिबारे श्रीमती चिन्तित थिइन्। ‘नेताहरु को–को कता–कता लाग्ने भए?’ मेसेन्जरमा पनि खुमाले सोधिरहन्थिन्।
‘घरमा बाबुआमाले मप्रति भरोसा गर्नुभएको छ। तर, श्रीमतीलाई राजनीति कता जाने हो भन्ने चिन्ता छ,’ मेटमणि भन्छन्।
नेकपा एमाले छाडेर नयाँ पार्टी खोल्न सक्रिय नेतामध्येका एक थिए, मेटमणि। त्यसैले उनी निकै व्यस्त भए। मिडियामा पनि खुब छाए।
एमालेमा नै रहँदा पनि अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक थिए। बहस गर्ने, विरोध गर्ने र मिडियामा आफ्ना विचार खरोसँग राख्ने उनको स्वभावले चाँडै राष्ट्रियस्तरमा चिनिए। स्पष्ट वक्ता भएकै कारण एमालेको अन्तरसंघर्षमा उनी चर्चामा रहे।
उनी स्थानीय राजनीतिबाट केन्द्रमा उदाएका नेता हुन्। २०७४ सालमा पहिलोपटक प्रतिनिधि सभाका लागि निर्वाचित भए। दाङ क्षेत्र नं. १ बाट निर्वाचित भएर काठमाडौँ आएपछि उनको छवि नै फेरियो। किनभने, अध्यक्ष ओलीविरुद्ध मुखर हुने थोरै नेतामध्ये उनी पनि थिए।
प्रधानमन्त्रीको हैसियतमा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गर्दा उनी त्यसविरुद्ध निरन्तर लागिरहे। ओलीले झन्डै दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकारलाई छिन्नभिन्न बनाउन र संविधान मास्न लागेको भन्दै उनी नेतृत्वसँग जुधिरहे।
उति बेला केही शुभचिन्तकले मेटमणिलाई आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीविरुद्ध नबोल्न सुझाव पनि दिएका थिए। ‘पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीको किन आलोचना गर्छस्? तैँले भोलि चुनावमा टिकट पाउँदैनस्, तेरो सबै राजनीति सकिन्छ। ओली हुँदासम्म सधैँ पिसिने भइस् भनेर साथीहरुले नबोल्न सुझाव दिन्थे,’ उनले भने, ‘सत्य कुरा सत्य नै हुन्छ। त्यो सानो समूहबाटै सुरुआत हुन्छ र बिस्तारै ठूलो आकार लिन्छ। मैले साथीहरुलाई यही जवाफ दिने गरेको थिएँ।’
उनले एमालेको पछिल्लो आन्तरिक संघर्षमा माधवकुमार नेपाललाई बलियो गरी साथ दिए। नेकपा एकीकृत समाजवादी गठन गर्दा कतिपय वरिष्ठ नेता तथा सांसदहरुले नेता नेपालको साथ छाडे पनि भरोसा दिने थोरै नेतामा उनी पर्छन्। नेकपा एकीकृत समाजवादीले आधिकारिकता पाएको दिन, गत ९ भदौमा उनले मिडियासामु भनेका थिए, ‘अब बल्ल स्वतन्त्र भएर ओलीसँग भिड्न पाइने भयो।’
केन्द्रमा ओलीजस्तै दाङमा पोखरेल प्रवृत्ति!
एमालेको नवौँ महाधिवेशन अघिसम्म मेटमणि ओली समूहमा थिए। ओली समूहका नेता शंकर पोखरेल पनि दाङकै हुन्। तर, उनीसँग मेटमणिको सम्बन्ध भने पहिलो संविधानसभाको निर्वाचनबाटै बिग्रिसकेको थियो।
२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा उनी दाङबाट प्रत्यक्षतर्फको उम्मेदवार बन्न चाहेका थिए। तर, शंकर पोखरेलले नै रोकेको उनी बताउँछन्। यद्यपि, उनीहरु दुवै जना समानुपातिक उम्मेदवार भए।
पोखरेल समानुपातिक सभासद् भए। तर, मेटमणिलाई भने उनै पोखरेलले रोके। ‘उति बेला केपी ओली मलाई सभासद् बनाउन तयार थिए। यो केटो धेरै ट्यालेन्ट छ, असल छ, यसलाई नेता बनाउनु पर्छ– भन्थे,’ मेटमणिले भने, ‘तर, एमए पढेका कति मान्छे छन् कति! अब विश्वविद्यालयका सबैलाई ल्याएर सभासद् बनाइदिउँ भनेर शंकरले भनेछन्। राजीनामाको धम्की दिएर मलाई रोके।’ कमजोर मान्छे मात्रै खोज्ने शंकर पोखरेलको प्रवृत्ति भएकाले आफूलाई सभासद् बनाउनबाट रोकेको उनको आरोप छ।
मेटमणिलाई हरेक ठाउँमा रोक्न खोजेपछि उनी पोखरेलका आलोचक भए। जिल्लामा उनले पोखरेललाई चुनौती दिन थाले। तर, केन्द्रमा पोखरेल र मेटमणि दुवै एउटै समूहमा भएको हुनाले साझा नेता ओली नै थिए। ओली भने पोखरेललाई महत्व दिन्थे। त्यसकारण नवौँ महाधिवेशनअघि नै उनले ओली समूह छाडे।
उनी महाधिवेशनमा नेपाल समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। पोखरेल भने उपमहासचिवमा पराजित भए। तर, ओलीले उनलाई स्थायी कमिटी सदस्य बनाए। दाङबाट एमालेको केन्द्रमा चार नेता भए। उपाध्यक्ष युवराज ज्ञवाली र पोखरेल स्थायी कमिटी तथा मेटमणि र भागवत विश्वास केन्द्रीय सदस्य थिए। नेपाल समूहबाट निर्वाचित भए पनि ओलीले २०७१ सालमा उनलाई दाङ जिल्लाको इन्चार्ज बनाए। त्यसयता गृह जिल्लामा पोखरेल पक्ष अल्पमतमा छ।
Facebook Comment