मिट्ठू थारुको कलाकर्म कथा

राज सरगम
बाल्यकालमा विद्यालय देख्नै नपाएका मिट्ठु थारूको दैनिकी महाजनको घरमा खेलेर बित्थ्यो, जहाँ उनका बाआमा कमैया–कमलरी थिए। कैलालीको टीकापुर नजिकैको गाउँ भगतपुरमा ३२ वर्षअघि जन्मिएका मिट्ठुको अघिल्लो तीन पुस्ताले कमैया–कमलरी प्रथा काटिसकेका थिए। कमैया बस्नुपर्ने उनी चौथो पुस्ता थिए।
वर्षमा तीन बोरा धान, एक बोरा गहुँ र केही किलो तोरीबापत वर्षभरि साहुमहाजनको काम गर्नुपर्ने दुःख मिट्ठुले नजिकबाट देखेका थिए।
२०५७ सालमा कमैया मुक्तिको घोषणपछि पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ हजार ५०९ कमैया–कमलरीले नयाँ जीवन पाए।
कमैयाबाट मुक्ति त मिल्यो तर आर्थिक अवस्थाचाहिँ उस्तै रह्यो। सरकारले कमैया–कमलरीबाट मुक्त गराए पनि विपन्नताबाट मुक्त गराउन साधनस्रोत चाहिन्थ्यो, बनिबुतो गर्ने खेतबारी चाहिन्थ्यो।
अभावले पिरोलिएको मिट्ठुको जस्तो परिवार तिनै साहुमहाजनको घरमा काम गर्न जानुपर्ने वाध्यता थियो। ‘कमैया–कमलरी मुक्त भए पनि साहुको काम गर्न जाने दैनिकी छुटेको थिएन,’ मिट्ठु सम्झन्छन्।
त्यहीबेला गाउँमा कसैले हल्ला चलायो– काठमाडौंका गार्मेन्ट र पस्मिना उद्योगमा काम पाइन्छ। कमैयाबाट मुक्ति पाएका दाजु त्यही वर्ष काठमाडौं हान्निए।
एक वर्षपछि गाउँ फर्किएका दाजुले मिट्ठुलाई पनि काठमाडौं ल्याउन चाहे। आफूजस्तै छोराहरू पनि कमैया बस्नुपर्ला भन्ने चिन्ताले पिरोलिएका बाआमालाई दुई छोरा काम गर्न काठमाडौं जाने कुराले खुशी बनायो।
गाउँमा अर्को डर पनि थियो। ०५७ सालतिर माओवादी द्वन्द्व चर्केको समयमा किशोरकिशोरीलाई ललाइफकाइ गरेर लैजान्थे। दुवै डरबाट बच्न बाआमाले १२ वर्षे छोरालाई काठमाडौं पठाए।
काठमाडौं आएको पहिलो दिन मिट्ठुले दाजुले काम गर्ने गार्मेन्टमा रात काटे। भोलिपल्ट नुहाइधुवाइ गराएर मिट्ठुलाई दाजु र गार्मेन्ट साहुले कोटेश्वरको एउटा आलिसान भवन अगाडि पुर्यााए। त्यो घर थियो– पूर्वमेजर रामभरोस वैद्यको।
वैद्य परिवारले काम गरेबापत पढाइदिने भएका थिए। घरायसी काम गर्दै स्कुल जाने अवसर पाउनु मिट्ठुका लागि विल्कुल नौलो थियो। ‘मैले पढ्न नपाए पनि भाइले पढोस् भन्ने सोचले बिनाज्याला वैद्य अंकलकहाँ उसलाई लगेको थिएँ,’ मिट्ठुका दाजु बलराम सम्झिन्छन्।
१२ वर्षको उमेरमा पहिलोपटक मिट्ठु कक्षाकोठामा प्रवेश गरे– कोटेश्वरस्थित सरस्वती माविमा। चार कक्षामा भर्ना भएर स्कुल देख्न पाएका मिट्ठु दंग थिए।
बिहान–बेलुका भान्साको काम गर्दै, घरभरि झाडु–पोछा लगाउँदै बचेको समयमा पढे उनले। ०६४ सालमा एसएलसी पास गरे। १८ वर्षको उमेरमा एसएलसी पास भएपछि उनले चित्रकला पढ्ने इच्छा वैद्य परिवारलाई सुनाए। तर वैद्य परिवार राजी भएन। ‘चित्रकला पढेर भविष्य बन्दैन भन्नुभयो, त्यसपछि मन मारेँ। वैद्य अंकल–आन्टीले पढाइदिएको हुनाले उहाँहरुको कुरा नकार्न सकिनँ,’ मिट्ठु त्यतिबेलाको कुरा सम्झिन्छन्।
त्यसो त अहिले पनि छोराछोरीले चित्रकला पढ्छु भन्दा ‘यसमा भविष्य छैन’ भन्ने अभिभावक प्रशस्तै छन्। त्यो बेला चित्रकला पढेर केको करिअर बन्थ्यो र! यस्तै सोच्यो वैद्य परिवारले।
मन नलागी–नलागी कमर्स पढ्न राजी भए मिट्ठु। कोटेश्वर बहुमुखी क्याम्पसमा प्लस टु भर्ना भए, तर पास गर्न सकेनन्। आफूलाई पढाएको वैद्य परिवारको सपना पूरा गर्न नसकेकोमा भित्रैभित्र पिरोलिएका मिट्ठुलाई आफ्नै सपनाले भने पछ्याइरहेको थियो। ‘उहाँहरूले चित्रकलामा लागेर केही गर्न सकिन्न भन्नुभएको थियो, आफूलाई भने चित्रकला नपढे जीवन चल्दैन कि जस्तो भएको थियो,’ मिट्ठु भन्छन्। प्लस टु मा दुई वर्ष गुमाएकोमा उनलाई पछुतो थियो।
अझै पढ्नुहाेस
Facebook Comment