फ्रन्टलाइन हिरोज : ल्याब टेक्नोलोजिस्ट लोकबन्धु चौधरी

सागर बुढाथोकी, काठमाडौं।
नेपालमा कोभिड– १९ को संक्रमण फैलिरहँदा काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको माहोल कस्तो थियो ?
‘डर नै डर थियो । न सुरक्षा कवच, न भाइरसबारे पर्याप्त ज्ञान । यो भवनमा छिर्नै डरमर्दो थियो’, मेडिकल ल्याब टेक्नोलोजिस्ट लोकबन्धु चौधरी सम्झन्छन्, ‘हामीलाई चाहिने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) पनि अलिपछि मात्र आयो ।’
सुरुवाती दिनमा उनीहरुले नाकमुख सबै एउटा प्लास्टिकभित्र पारेर पानी समेत नखाई १२/१२ घण्टासम्म काम गरे । त्यो क्षण सम्झिँदै चौधरी भन्छन्, ‘एकातिर परीक्षण गर्नपर्ने स्वाबको चाङ लागेको छ, अर्कोतिर सास फेर्नै सकस !’
सकस मात्र होइन, त्रास र अफवाहको समय पनि थियो । तर भाइरससँग खेल्नुपर्ने प्रयोगशालाका कर्मचारीहरुलाई त्रासका कारण डराएर भाग्ने छुट थिएन । ‘बायोसेफ्टी क्याबिनेट ल्याबमा असिन–पसिन बन्दै एकअर्कालाई हौसला दिँदै काम गर्नुको विकल्प थिएन’, मेडिकल ल्याब टेक्नोलोजिस्ट चौधरी भन्छन्, ‘त्यतिगर्दा पनि १०–१२ दिनसम्म स्वाब थन्किएका थिए । आफ्नो समेत परीक्षण गर्न भ्याइएको थिएन । ल्याबमा आएका नमुनाको टेस्ट, टेस्ट र टेस्ट ।’
उनीहरुले यसरी काम गरिरहँदा पनि स्वाब दिएकाहरुले समयमा रिपोर्ट पाएका थिएनन् । आलोचना भयो, मानिसहरुले गाली गरे । त्यसले निकै सकसका साथ प्रयोगशालामा दिनरात खटेका लोकबन्धुहरुलाई भने निराश बनाउँथ्यो ।
समयमा रिपोर्ट दिन नसक्नु उनीहरुको बसको विषय थिएन । अटोमेटेड एक्ट्रयाक्सन किट र पर्याप्त जनशक्ति नहुँदा जति खटेपनि समयमै रिपोर्ट आउँदैनथ्यो । त्यसबेला एक लटमा जम्मा ९६ वटा स्वाब परीक्षण गर्न सकिन्थ्यो । आरएनए एक्सट्रयाक्सन हातले (म्यानुअल) गर्नुपर्थ्यो। चौधरीसहितको टिम दिनरात गरेर भएपनि धेरैभन्दा धेरै नमुना परीक्षण गर्ने कोशिसमा हुन्थ्यो । चौधरी भन्छन्, ‘थोरै मेसिन, त्यो पनि पुरानो सिस्टमको हुँदा धेरै गाह्रो भएको थियो ।’
अहिले मेसिन आधुनिक छ । जनशक्ति पनि थपिएका छन् । रिपोर्टको रेकर्ड राख्ने सिस्टम फेरिएको छ । दुईवटा आरएनए एक्स्ट्रयाक्सन मेसिन थपिएकाले पहिले चार घण्टा लाग्ने काम अहिले ३५ मिनेटमा सकिन्छ । पहिले स्वाबका २०० नमुना परीक्षण गर्ने समयमा अहिले चार हजार परीक्षण हुन्छ । चौधरी भन्छन्, ‘जोखिम त पहिला जत्तिकै हो, तर काम सजिलो र छिटो भएको छ ।’
समाजको वचनबाण
कोरोना भाइरस परीक्षण गर्न किट नभएकै कारण ९ माघमा नेपालमा भेटिएका पहिलो संक्रमितको स्वाब परीक्षण गर्न विश्व स्वास्थ्य संगठनको हङकङस्थित ल्याबमा पठाउन परेको थियो ।
किट आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण मात्र थालेन, क्षमता पनि विस्तारै बढाउँदै लग्यो ।
१० चैतमा फ्रान्सबाट आएकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भयो । टेकु प्रयोगशालाले पत्ता लगाएको त्यो नै पहिलो केस थियो । त्यसअघिका परीक्षणमा सबै रिपोर्ट नेगेटिभ थियो ।
कोरोना पुष्टि भएपछि डर एकाएक बढ्यो । ‘ढोकाको चुकुल र पानीको बोतलमा समेत भाइरस छ कि भनेर शंका गर्थ्यौं’, चौधरी सम्झन्छन्, ‘ल्याबबाट घर जान पनि डर भयो ।’
अनि सबैले अस्पतालमै खानेबस्ने व्यवस्था मिलाइदिन प्रयोगशालाका निर्देशक डा. रुना झासँग आग्रह गरे ।
जबकी त्यो बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाकालमा स्वास्थ्यकर्मीहरुले व्यहोर्नुपर्ने व्यावहारिक समस्याबारे सोचेकै थिएन । त्यसैले अस्पताल वा ल्याबमा नै खानेबस्ने व्यवस्था मिलाइदिने भनेपनि कागजी प्रकिया सुरु हुन केही दिन लाग्यो । चौधरी भन्छन्, ‘साँझ डराउँदै लुरुलुरु घर जान्थ्यौं ।’
परिवारमा डर नै डर । भाइरसबारे सामान्य ज्ञान समेत नभएका मान्छेहरु कुरा काट्थे, ‘टेकु ल्याबमा काम गर्छ रे, आफू त संक्रमित हुने नै भयो, अरुमा पनि सल्काउने भयो ।’
यस्तो वचनबाण प्रयोगशाला तथा अस्पतालहरुमा काम गर्ने अधिकांशले सहनु पर्यो ।
त्यसै पनि कोरोना भाइरसबारे पर्याप्त ज्ञान नहुँदा आफैंमा ब्रम्हाण्ड जत्रो डर थियो । अरु देशमा दिनका दिन मानिस मरेको तथ्यांक आइरहेको थियो । नेपालमा पनि सरकारले अत्यावश्यक सेवाबाहेक सबैलाई आ–आफ्ना घर–कोठामा थुनेर राखेको थियो ।
त्यसमाथि समाजको व्यवहारले हतास बनाउँथ्यो । टेकु ल्याबमा काम गर्ने अधिकांश स्वास्थ्यकर्मी–कर्मचारी विक्षिप्त मनोविज्ञान नजिक पुगेको चौधरी बताउँछन् । ‘समाचार, सामाजिक सञ्जाल जताततै डर फैलाइएको थियो, परिवार र समाजले पनि संक्रमित जसरी व्यवहार गर्थे,’ चौधरी भन्छन् ।
ठीक विपरीत ल्याबमा भने दैनिक ६–७ लट परीक्षण गर्दा पनि टेष्टका लागि जम्मा भएका स्वाबको चाङ घटेको थिएन । जति ल्याबमा बस्यो, उति जोखिम थियो । जति धेरै जोखिम त्यति धेरै मानसिक तनाव । तर सहनुबाहेक अरु उपाय थिएन ।
स्वाब परीक्षण गर्न तयार पार्दासम्म कुनै न कुनै रुपमा प्रयोगशालाकर्मी एक्सपोज हुन्छ नै । ल्याबमा भीटीएमलाई लेभलिङ गरेर कोड राखिसकेपछि त्यसमा भएको स्वाबलाई २–३ वटा भीटीएममा वितरण गरिन्छ । किनकी कुनैको रिपोर्टमा शंका भए पुनः परीक्षण गर्न सहज होस् । तर यसरी भीटीएममा स्वाब विभाजन गर्दा भाइरसको ड्रपलेट हावामा फैलिएर सर्ने जोखिम उच्च हुन्छ ।
मेडिकल ल्याब टेक्नोलोजिस्ट लोकबन्धु चौधरीका अनुसार स्वाबलाई भीटीएमहरुमा राखेपछि भाइरसबाट ‘न्युक्लिक एसिड’ निकालिन्छ, जसलाई एक्सट्रयाक्सन भनिन्छ । एक्सट्रयाक्सन गर्दा ९६ वटा ‘वेल’मा (पीसीआर मेसिनमा हाल्ने प्लेटको प्वाल) एक–एक गरेर राखिन्छ । त्यसपछि ‘मास्टर मिक्स’ गर्नुपर्छ । ‘मास्टर मिक्स’मा आरएनए निकालेर इन्जाइम र बफरसँग मिसाएर मेसिनमा तताइन्छ । त्यसक्रममा आरएनएमा भएका जिनहरु देखिएर भाइरस पहिचान हुन्छ ।
मेडिकल फिजियोलोजीमा एमएस्सी गरेका चौधरीका अनुसार, एक व्यक्तिको पीसीआर रिपोर्ट दिँदा चारवटा प्रकिया पास गर्नुपर्छ । ‘ती सबै प्रकियामा एक्सपोज हुने जोखिम छ,’ उनले अनलाइनखबरसँग भने, ‘ल्याबमा काम गर्दा जुनसुकै बेला संक्रमित भइन्छ । जोखिम नमोले त काम गर्न सम्भव हुन्न ।’
भिडियो हेर्नुस्:
Facebook Comment