थारूको होरीमा धुमिल हुँदै डम्फूको धुन

रमेशकुमार पौडेल/कान्तिपुर दैनिक

आदिवासी थारू समुदायको फागु पर्व (होरी) मा रङ मात्रै होइन, डम्फूको धुन पनि अनिवार्य जस्तै छ । मान्छे रंगिए जसरी डम्फूलाई पनि सिँगार–पटार गरिएको हुन्छ । होरीमा घरघरमा डम्फू तयार गर्ने होड चल्थ्यो । यो अलि पुरानो कुरा हो । चितवनमा थारू समुदायको बाक्लै बसोबास रहेको बछौलीका ९० वर्षीय सुखलाल चौधरी सम्झन्छन्, ‘अचेल त्यो बेलाको जस्तो रमाइलो र जोसिलो होरी कहाँ बाँकी रह्यो र ?’

‘होरी, होरी हो रङ जैसा होरी

के करे हाथे लाल चुनरी रङ जैसा होरी

किस्नका हाथे लाल चुनरिया

राधिकाके हाथे लगि हो रङ जैसा होरी ।

होरीका बेला गाउँटोलमा गुञ्जने यो गीत सुखलालले अझै बिर्सेका छैनन् । बढ्दो उमेरमा श्वास फुलेर बोल्न गाह्रो छ उनलाई । तर होरीको चर्चा गर्दै जाँदा उनले सम्झे जति गीतका पंक्ति स्वर मिलाएर गाए । ‘होरी आउन लाग्यो भनेपछि सबको घर–घरमा उर्दी दिन्थ्यो कि एउटा–एउटा डम्फू बनाउन भनेर । कसैको घरमा धेरै मान्छे भए दुईवटा पनि बनाउनुपर्थ्यो नि !,’ सुखलालले भने ।

उनका अनुसार गाउँमा औंसी कटेपछि नै होरीको चहलपहल सुरु हुन्थ्यो । बाख्राको छालाको डम्फूलाई आकर्षक देखाउन चुल्ठी नै राखिइन्थ्यो । स–सानो घण्टी पनि राख्नुपर्थ्यो । मयूरका प्वाँख मिलाएर राखेपछि बल्ल डम्फूको सिँगार–पटार पूरा हुन्थ्यो । १२/१५ जनाको टोलीले एकै स्वर र तालमा गाउने, बजाउने र नाच्ने गर्थे । डम्फूले मयूर नाचेको झल्को पो दिन्थ्यो ।

‘अहिले त यो सब पुरानो कुरा भयो,’ सुखलालले सुनाए । सुखलालका ६६ वर्षका जेठा छोरा वासुदेव चौधरी भन्छन्, ‘होरीमा डम्फू त अझै पनि बज्छ नि, तर घरघरमा डम्फू कहाँ पाउनु ? टोलमा दुई/चारवटा भेटिन्छ ।’ पूर्वशिक्षक र राजनीतिक व्यक्तिसमेत रहेका वासुदेव बछौलीको थारू सांस्कृतिक संग्रहालयका संरक्षक पनि हुन् ।

‘पहाडमा पूर्णिमाको दिन होरी मनाइन्छ । हामी भने पूर्णिमाको दिन साँझपख चीर पोल्छौं र भोलिपल्ट बल्ल होरी खेल्छौं,’ वासुदेवले भने, ‘वर्षभरिको रिसराग होरीका दिन पोख्ने चलन नै थियो । कुलोमा पानी लगाउने बेलामा मर्का परेको हुन्छ । कसैलाई कसैको बोली, बचन, व्यवहारले पिर पारेको हुन्छ । त्यसको बदला होरीमा लिने भनेर बस्नेहरू पनि हुन्थे ।’ उनका अनुसार अहिले त्यस्ता गतिविधि नामेट भइसकेको छ । उनले थाहा पाउँदासम्म तीन/चार दिनसम्म होरी धुमधामले मनाइन्थ्यो । चीर पोलेपछि त्यसैको खरानी भोलिपल्ट बिहान लगाएर थारू समुदायको ब्रह्मथानमा ढोग्ने र ‘हामी विजयी होऊँ’ भन्ने कामना गरिन्थ्यो । ‘झगडा हरायो, डम्फू पनि म हुँदै गयो,’ उनले भने ।

डम्फू नाच थारू समुदायले होरीमा नाच्ने विशेष नाच नै हो । यद्यपि डम्फू थारू संस्कृतिको प्रतीक बनेको छ । होरीबाहेक पनि डम्फू नाच सम्मेलन र सांस्कृतिक केन्द्रमा देख्न पाइन्छ । जसका कारण यो जोगिएको उनको बुझाइ छ । नरेश चौधरी ३० वर्षका भए । उनी सुखलालका नाति हुन् । ‘डम्फू त हामीले बजाउन जानेका छौं तर अचेल हाम्रो घरमा छैन । मलाई होरीमा यो डम्फू सिँगारेको पनि खासै याद छैन,’ उनले भने ।

अझै पढ्नुहाेस