थातथलो छाडेर कता गए राना थारू ?

डीआर पन्त, भवानी भट्ट
तीन दशकअघिका ७० बिघा जग्गाका मालिक भुयाँ राना अहिले मुक्त कमैया शिविरमा बस्छन् । बाबु डिट्ठा रानाको समयमा उनको एक सय बिघाभन्दा बढी जग्गा थियो । गाउँका हरेकजसो निर्णय उनकै घरमा कचहरी बसेर हुन्थे । बाजेको ठूलो मानइज्जत थियो । बाबुका बेलाको भुयाँको ७० बिघा जमिन सकिन धेरै समय लागेन । पहाडबाट तराई बसाइँसराइको क्रम बढेसँगै जमिन पनि सकिँदै गएको हो ।

बाँकी रहेको जग्गा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा अधिग्रहणमा परेपछि उनी २० वर्षयता मुक्त कमैया शिविरमा पुगेका हुन् । कञ्चनपुरको अर्जुनी ब्यारेकसँगै जोडिएको उनको जग्गामा भएका आँपका रूख अहिले पनि छन् । अढाई दशकअघि कैलालीको मालाखेतीमा ९० परिवारभन्दा बढी राना थारू परिवार थिए । उनीहरूसँग चार सय बिघाभन्दा बढी जमिन थियो । अहिले जम्मा चार परिवार मात्र छन् । आफ्नो जग्गा तीन बिघा पनि छैन । धनगढी उपमहानगरपालिकासँगै जोडिएको गेटामा मालाखेतीभन्दा पनि निकै बढी परिवार राना थारूको बसोबास थियो । साविकको गेटा गाविसमा झन्डै ५ सय परिवार राना थारू थिए । २५ वर्षपछि उनीहरूको परिवार संख्या एक सय पनि छैन ।

कैलाली र कञ्चनपुरमा मात्र बसोबास गर्ने आदिवासी राना थारू समुदाय विस्थापित भएको अर्जुनी, मालाखेती र गेटाका यी केही उदाहरण मात्र हुन् । तीन दशकअघिका राना थारू समुदायका कतिपय ठूल्ठूला बस्तीमा अहिले एउटा परिवार पनि भेटिँदैन । बेग्लै भाषा, रहनसहन, संस्कृति, छुट्टै लिपि भएका राना थारू समुदाय बिस्तारै थातथलो छाडेर पलायन भए । गाउँमा बस्न रुचाउने, पशुपालन र खेतीपातीमा रमाउने, जंगल बढी चाहिने, ठूलो संयुक्त परिवारमा बस्ने यो समुदाय मुख्य रूपमा सामाजिक असुरक्षाका कारण पलायन हुन थालेको हो । कैलालीको वसन्तादेखि सीमापारि भारतको पलियासम्मको पूरै क्षेत्र राना थारू समुदायको बसोबास थियो । पछिल्लो समय यो क्षेत्रका अधिकांश परिवार पुरानो थलोबाट अन्यत्र सरेका छन् । कैलालीकै श्रीपुर, गेटा, टीकापुरका अधिकांश क्षेत्र, सदरमुकाम आसपास गाउँका घना बस्तीमा पनि निकै कम संख्यामा मात्र उनीहरूको बसोबास छ ।

राना थारू समुदायकै बाहुल्य रहेको कञ्चनपुरको लालझाडी गाउँपालिका, बेलौरी, शुक्लाफाँटा, वेदकोट र भीमदत्त नगरपालिकाका केही स्थानमा मात्रै उनीहरूको बस्ती भेट्न सकिन्छ । देखतभुली, शंकरपुर, श्रीपुर, बाइसेबिचवा र दैजीका केही गाउँमा मात्रै उक्त समुदायको बसोबास छ । कञ्चनपुरमा राना थारू समुदायको बाक्लो बसोबास मासिएको लालझाडी गाउँपालिकामा अहिले अन्य समुदायको बसोबास बाक्लिन थालेको छ । यहाँ पहिले जस्तो सय/डेढ सय जनाको संयुक्त परिवार अब देख्न पाइँदैन । कैलाली र कञ्चनपुरमा रहेका राना थारूका आधाभन्दा बढी परिवार पलायन भएका छन् । ‘२५/३० वर्षयता यो क्रम निरन्तर छ,’ स्थानीय दशरथ राना भन्छन्, ‘बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भूगोलसहित नेपालमा मिसिन आएका राना थारूहरू बिस्तारै लोप हुने अवस्थामा पुग्न थालेका छन् ।’ बाँके, बर्दियामा कहीँ कतै भएका राना थारू पनि अन्य समुदायमै मिसिएको र अहिले थरसमेत परिवर्तन गरिसकेको उनले बताए । ‘पलायन रोकिएन भने कैलाली कञ्चनपुरमा रहेका रानाहरूको अवस्था पनि त्यस्तै नहोला भन्न सकिँदैन,’ उनले भने ।

राना थारू विकास समाजका अनुसार अहिले पनि पलायन तीव्र छ । कैलाली मालाखेतीका वृद्ध बाजु राना भन्छन्, ‘पहाडी समुदायको बसाइँसराइ बढ्दै जाँदा राना थारू पलायन भएका हुन्, बिस्तारै बिस्तारै विभिन्न बहानामा राना थारूमाथि दमन गर्ने, जग्गा कब्जा गर्ने, विभिन्न मुद्दा लगाउन थालेपछि पलायन हुने क्रम बढेको हो ।’ उनका अनुसार ४० वर्षअघि बनेका तमसुकका भरमा १० वर्ष अघिसम्म राना समुदायको जग्गा अरूको नाममा नामसारी भइरहेको थियो । ‘अहिले पनि पुरानो पुर्जा बोकेर आफ्नो जग्गा खोज्ने धेरै छन्,’ उनले भने, ‘मिलेमतोमा थाहै नदिईकन राना थारूको जग्गा अरूको नाममा नामसारी भएका धेरै घटना छन् ।’

५० वर्षदेखि कैलालीको मालाखेतीमा बसोबास गर्दै आएका सामाजिक अगुवा रामचन्द्र अवस्थी पनि राना थारू समुदायको पलायन हुनुमा सामाजिक असुरक्षा पहिलो विषय भएको बताउँछन् । ‘जालझेल गरेर राना थारूको जग्गा नामसारी गर्ने क्रम भर्खर रोकिएको छ,’ उनले भने, ‘अब त उनीहरूसँग जग्गा नै बाँकी रहेन, राना थारू समुदायमा शिक्षित मान्छे पनि औंलामा गन्न सकिने मात्र छन् ।’ यो समुदायको पछिल्लो पुस्तामा पनि शिक्षाको विकास हुन सकेको देखिँदैन । अहिले सभा समारोहको शोभा बढाउन मात्र राना थारू संस्कृतिको प्रदर्शन हुने गरेको उनले बताए । पञ्चायतकालमा राना थारूहरूको जग्गा नामसारी गर्दा अञ्चलाधीशको अनुमति चाहिने प्रावधान थियो । तर पछि आएर त्यो व्यवस्था हटेपछि राना थारूको पलायन पनि बढ्दै गएको अवस्थीले बताए ।

अझै पढ्नुहाेस