थरूहट क्षेत्रमा जग्गाको मूल्य आकाशियो

ओमप्रकाश चौधरी

पर्साको ग्रामीण भेगमा जग्गाको मूल्य वृद्धि हुनुको साथै खरीद बिक्री बढेको छ । विशेषगरी गण्डक नहरदेखि उत्तर रहेको थारूवान क्षेत्रमा जग्गा खरीद बिक्री बढेको छ । हुलाकी सडक, जनता सडक तथा थरूहट सडक निर्माण भइरहेको हुँदा यातायात, बिजुली बत्तीको सुविधा विस्तार भएसँगै जग्गा खरीद–बिक्री पनि बढेको हो ।

पटेर्वासुगौली गाउँपालिका– रामपुर निवासी सेवानिवृत्त शिक्षक महेन्द्र चौधरीले विभिन्न व्यवसाय सञ्चालनका लागि जग्गा खरीद–बिक्री बढेको बताए । उनले उद्योग, कलकारखाना, गाई, भैंसीपालन तथा कुखुरा फार्म व्यवसाय सञ्चालन गर्ने उद्देश्यले ठूलो क्षेत्रफलको जग्गाको माग बढेको बताए ।

सडक छेउछेउका जग्गा छोइ नसक्नु भएकै छ खोला छेउछाउको जग्गाको पनि राम्रो दाम पाउन थालेको चौधरीले बताए । पर्सागढी नगरपालिका–३ पकडियाका शिक्षक योगेन्द्र चौधरीले बढनियार बजारमा जनता सडकमा मोहडा भएको जग्गाको मूल्य आकाशिएको बताए । बजारमा हालै साढे पाँच लाख प्रतिधुरको दरमा जग्गा बिक्री भएको उनले बताए । अहिले सो क्षेत्रमा जग्गाको मूल्य वृद्धि भएसँगै प्लटिङ गर्ने काम पनि शुरू भएको छ ।

पर्सागढी नगरपालिकाको तीनवटा वडामा अहिले प्लटिड्ढो काम भइरहेको छ । प्लटिङ भएको स्थानमा पनि दुई लाख प्रतिधुर जग्गा तोकिएको छ । शिक्षक चौधरीले घडेरी जग्गाको मोल आकाशिएसँगै खेतीयोग्य जमीनको पनि मोल बढेको बताए । पर्सा राष्ट्रिय निकुञ्जका कारण पर्यटन विकासको सम्भावना बढेर जीराभवानी तथा ठोरी गापामा जग्गा खरीद–बिक्री बढेको बताइन्छ ।

जीराभवानी गापा–१ शान्तिनगरका रविमोहन सापकोटाले निकुञ्जको जङ्गल सीमासँग जोडिएका अधिकांश ठाउँमा होटेल, लज, रेस्टुरा सञ्चालन गर्ने उद्देश्यले जग्गा खरीद गर्ने काम हालका दिनमा बढेको बताए । हुलाकी सडकसँग जोडिएका जग्गा अहिले बीस लाख रुपियाँ प्रतिकठ्ठाको दरमा खरीद बिक्री भइरहेको उनले बताए । अहिले जग्गा खरीद बिक्रीका लागि दैनिक मानिसहरूको आवागमन बढेको छ ।

ठोरी गापा–४ विजयबस्तीका राजनीतिकर्मी सन्तोष श्रेष्ठले भने यस क्षेत्रमा जग्गाको दाम सन्तोषजनकरूपमा वृद्धि नभएको बताएका छन् । उनले पाँच वर्ष अगाडि वृद्धि भएको मूल्य हालसम्म कायम रहेको बताए । सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जको जङ्गलमा भौतिक संरचना निर्माण गर्न नपाउने आदेश जारी गरेपछि जग्गाको मूल्य नबढेको श्रेष्ठले बताए। तर उनले पनि हाल जग्गा खरीद गर्नेको चहलपहल बढेको स्विकारे ।

अझै पढ्नुहाेस