त्यसपछि टीकापुरमा जे भयो…

तुफान न्यौपाने

संविधानमा आफ्ना मुद्दा समेट्न माग गर्दै थारू समुदायले गरेको आन्दोलन हिंसात्मक बन्दा टीकापुरमा एक नाबालक र आठ सुरक्षाकर्मीको ज्यान गयो। जे नहुनुपर्थ्यो भयो, तर त्यसपछि टीकापुरमा रैथाने थारूले राज्य संयन्त्रबाट भोगेको ज्यादती र पाएको दुःख पनि कम कहालीलाग्दो छैन।

कैलालीको जोशीपुर गाउँपालिका-४ छपहीका रामप्रसाद चौधरी टीकापुर घटनाको अर्को दिन अर्थात् ८ भदौ २०७२ मा घर नजिकैको विद्यालयबाट पक्राउ परे। पछिल्लो ९ वर्षदेखि अध्यक्ष रहेको राष्ट्रिय मावि दहरबेरियाका प्रधानाध्यापकसँग छलफल गरिरहेका वेला उनलाई सादा पोशाकका प्रहरीले शुरूमा केही समयका लागि इलाका प्रहरी कार्यालय, जोशीपुर गइदिन अनुरोध गरे।

तर, जसै थप प्रहरी बल आइपुग्यो, उनका दुवै हात पछाडि पारेर हत्कडी लगाइयो। आँखामा कालो पट्टी बाँधियो र गाडीमा राखेर लगियो। उनलाई कुन आरोपमा पक्राउ गरिएको हो, के विषयमा अनुसन्धान गरिने हो, कहाँ लगिंदै छ जस्ता जानकारी पनि दिइएन। नागरिकलाई पक्राउ गर्दा अपनाउनुपर्ने न्यूनतम कार्यविधि पूरा गरिएन।

चौधरीका अनुसार, गाडीमा राख्ने बित्तिकै उनीमाथि कुटपिट शुरू भयो। “टीकापुरबाट धनगढी पुर्‍याउँदासम्म बीचमा पर्ने सबैजसो चौकीहरूमा रोक्दै, पिट्दै गरे। कठोर यातना पाएँ। टीकापुर घटनामा पक्राउ परेकामध्ये सबैभन्दा बढी यातना पाउने म नै हुँ। मलाई बाँच्छु भन्ने आशै थिएन,” उनी भन्छन्।

७ भदौ २०७२ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा आठ जना प्रहरी र एक नाबालकको ज्यान गयो। घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिए।

यस्तै, डेढ वर्षीय बालक टेकबहादुर साउदको पनि ज्यान गयो। त्यसै घटनामा संलग्न रहेको आरोपमा रामप्रसाद चौधरीलाई प्रहरीले भोलिपल्ट पक्राउ गरेको रहेछ। जुन कुरा चौधरीले धनगढी पुगेपछि मात्र थाहा पाए।

आफूलाई पक्राउ गर्नुको कारण थाहा नपाउँदै प्रहरीको कुटाइबाट चौधरी पटक-पटक बेहोश भइसकेका थिए। जिल्ला प्रहरी कार्यालय धनगढी पुर्‍याइसकेपछि भोग्नुपरेका यातना र अपमान उनी अहिले पनि सम्झन्छन्, “राति रक्सी खाएर आएका प्रहरीले पालैपालो पिटेपछि बाहिर गेटमा लगे। उनीहरूमध्ये एक जनाले गुट्खा खाइरहेको थियो। उसले मेरो मुखमा गुट्खा थुकेर निल्नू भन्यो। मैले नमानेपछि लाठीले पिट्न थाल्यो। बाध्य भएर निलें।”

चौधरी तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का निर्वाचन क्षेत्रस्तरीय नेता थिए। संविधानसभाबाट संविधान जारी हुने दिन नजिकिंदा देशैभर विभिन्न जातीय र क्षेत्रीय समुदायले चलाइरहेका आन्दोलनमध्ये थारूहरूको आन्दोलन पश्चिम तराईमा केन्द्रित थियो। आन्दोलनमा सहभागी हुँदा दाह्री-कपाल काट्ने फुर्सद पनि नपाएका उनी पक्राउ पर्दा कपाल लामो थियो।

“आन्दोलनमा गइरहने भएकाले जुँगा–कपाल काट्न पाएको थिइनँ। मलाई हिरासतमा प्रहरीले दायाँतिरको जुँगा र कन्सिरीको कपाल उखेलिदिए। रगत आइरहेको छ, उनीहरू उखेलिरहेका छन्। शुरूका केही दिन राति तीन घण्टासम्म पिटे। बेहोश भएपछि पानी छम्किन्थे, होशमा आएपछि फेरि पिट्थे,” चौधरी भन्छन्।

चौधरी त्यो वेला पाएको यातनाका कारण खाना खान हात उठाएर मुखसम्म जोड्न नसक्ने, हिंडडुल गर्न र सुत्न पनि नसक्ने अवस्थामा पुगेका थिए। पक्राउ पर्नुभन्दा पाँच दिनअघि टाइफाइड भएका चौधरीको औषधि नपाउँदा स्वास्थ्य झनै बिग्रेको थियो। स्वास्थ्य नाजुक हुँदै गएपछि प्रहरीले अनुसन्धानका लागि म्याद थप्न अदालत लगेको मौकामा चौधरीले न्यायाधीश समक्ष आफूले पाएको यातना र बिग्रँदो स्वास्थ्य अवस्थाबारे जानकारी गराए।

न्यायाधीशले उनको स्वास्थ्य परीक्षण गराउन आदेश दिएपछि १२ असोजमा सेती अञ्चल अस्पताल धनगढी पठाइयो। डा. नवीन खड्काले चौधरीको टाउको, पाखुरा र छातीमा भएको दुखाइको कारणमा ‘ब्लन्ट फोर्स’ उल्लेख गरेका छन्। अर्थात् अत्यधिक यातनाले चौधरीको स्वास्थ्यमा असर परेको थियो। उनी अहिले पनि त्यसको उपचार गराइरहेका छन्।

टीकापुर घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५८ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा चलायो। तीमध्ये दुई जना मुसलमान थिए भने बाँकी सबै थारू। २७ जना पक्राउ परे, ३१ जना हालसम्म पनि फरार सूचीमा छन्। अदालतको आदेशले अहिले छुटिसकेकाहरूमध्ये १७ जनासँग हिमालले यही साउनको दोस्रो साता कुराकानी गर्दा सबैजसोले हिरासतमा चरम यातना पाएको बताए।

टीकापुर घटनाको पाँच दिनपछि १२ भदौमा प्रहरीले भजनी नगरपालिका-६ थापागाउँमा छलफल गरेको थियो। प्रहरी धरपकडबाट आजित भएर भलमन्सा (बडघर) भनिने थारू अगुवाहरूले गाउँ छाडेपछि सद्‌भाव कायम गर्ने नाममा त्यो छलफल आयोजना गरिएको थियो। तर, छलफल गरेको राति प्रहरीले घरघरमा गएर भलमन्सा र अन्य गाउँलेलाई नियन्त्रणमा लियो। शुरूमा भजनी-६ नवलपुरमा मासु र मदिरा पसल चलाउँदै आएका सन्तकुमार चौधरी पक्राउ परे। उनकी पत्नी यमुनादेवी रसाइलीले हिमाललाई बताए अनुसार, उनको मदिरा पसलबाट मनलाग्दी उठाएर रक्सी खाए।

त्यसपछि यमुनालाई पनि कुटपिट गरे। सुदूरपश्चिमकै पहाडी जिल्ला डोटीकी यमुनादेवी रसाइली सन्तकुमार चौधरीसँग प्रेम विवाह गरेर टीकापुर आएकी थिइन्। आफैंमा सामाजिक सद्‌भावको एउटा नमूना बनेको यो जोडीको जीवनमा विवाहको ११ वर्षपछि अखण्ड सुदूरपश्चिम वा थरूहट राज्यको नाममा भएको आन्दोलनका क्रममा हिंसा हुँदा यस्तो बज्रपात भएको थियो।

अझै पढ्नुहाेस