डाक्टर बन्‍ने सपना पूरा भएपछि फुलराम चौधरीले गाउँमै खोले अस्पताल

गाउँकै विद्यालयमा पढ्ने फुलराम चौधरीले बाल्यकालको समयमा डाक्टर नै बन्छु होला भनेर कल्पना सम्म पनि गरेका थिएनन् । कैलालीको गोदावरी नगरपालिका वडा नं. १ अत्तरियामा जन्मेका चौधरीको परिवार कृषि पेशामा निर्भर थियो । ३२ जनाको संयुक्त परिवारमा हुर्केका चौधरी प्रारम्भिक शिक्षा अध्ययन गर्नका लागि गेटीमा रहेको सिद्धबाबा माबीमा १७ जना दाजुभाई संगै जाने गर्दथे । खेतीबारीको कामसँगै अध्ययन गर्नुपर्ने बाध्यता भए पनि उनी पढाईमा अब्बल थिए ।

गाउँकै बिद्यालयबाट १० कक्षा सम्मको अध्ययन सकेर के गर्ने भन्ने दोधारमा परेका चौधरीले स्वास्थ्य क्षेत्रमा लाग्नु पर्छ भन्ने प्रेरणा भने आफ्नी काकीबाट पाए । त्यतिबेला उनकी काकी सोमती चौधरी गेटा आखाँ अस्पतालमा स्विपरको काम गर्थिन । ‘काकी अस्पतालमा काम गर्ने भएकाले मलाई स्वास्थ्य क्षेत्रमा लाग्न सल्लाह दिइन,’ डा. चौधरीले भने ‘त्यो समयमा डाक्टर पढ्नको लागि आर्थिक अवस्था पनि कमजोर भएकाले एचए पढ्ने भनेर काठमाडौं हानिए ।’ काठमाडौंबाट एचएको पढाई सकेर पनि उनी गाउँमै सेवा गर्ने भनेर कैलाली फर्किए । त्यतिबेला उनको परिवार कन्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ६ सिंहपुरमा बस्ने भएकाले उनले सोहि नगरपालिकाको गुलरिया बजारमा क्लिनिक सञ्चालन गरे ।

‘गाउँमै क्लिनिक सञ्चालन गरेर म सन्तुष्ट नै थिए । तर धेरै जसो बिरामीलाई अस्पतालको सेवा आवश्यक पर्ने भएकाले मैले बिरामीलाई क्लिनिकबाट अन्यत्र पठाउनु पर्थ्यो,’ उनले भने ‘गुलरियामा एउटा पनि अस्पताल नभएकाले बिरामीहरुको गाउँमै उपचार गर्नको लागि आफै डाक्टर बन्ने सोच बनाए ।’ डाक्टर बन्नको लागि उनले संचालनमा रहेको क्लिनिक समेत बन्द गर्नुपर्‍यो । ‘डाक्टर बन्ने सोच भएपनि आर्थिक अवस्था कमजोर थियोऽ’ डा. चौधरीले भने ‘आफ्नौ गाउँमा सेवा गर्ने सोचलाई साकार पार्न केही पुर्ख्यौली सम्पत्ति बेचे ।’

४ वर्ष अगाडि चीनबाट एमबीबीएससम्मको अध्ययन गरेर नेपाल आएका उनी सरकारी अस्पतालहरुमा काम गरेपनि आफ्नै गाउँमा अस्पताल खोल्ने सपनालाई भने मर्न दिएनन् । ‘कोरोना महामारी भरखरै सुदूरपश्चिममा फैलिदै थियो । संक्रमितहरुले अस्तालमा बेड पाइरहेका थिएनन्,’ उनले भने, ‘यही समयमा गाउँमा अस्पताल खोल्दा समस्यामा परेकाले सहयोग पाउँछन भनेर महामारीकै बीच करिब १ करोडको लगानी गरेर अस्पताल सञ्चालन गरेको हुँ ।’ यसै वर्षको असार महिनामा अस्पताल सञ्चालनमा ल्याएका उनले कृष्णपुर नगरपालिकाको मुख्य केन्द्रमा रहेको गुलरियामा एउटा पनि अस्पताल नहुँदा यस क्षेत्रका बिरामीले धनगढी जानुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमा अस्पताल खोलेको बताए ।

अझै पढ्नुहाेस