जमिन्दार थारुहरु सुकुम्बासी बने

भरत खड्का/अन्नपूर्ण पोस्ट

त्रियुगा नगरपालिका–२ जोगीदहका छेदीलाल चौधरीको परिवार ५१ वर्षअघि जमिनदारमा गनिन्थ्यो। आमा भुन्टी थरुनीका नाममा १९ बिघा जमिन थियो। पैनी लाग्ने भएकाले तीन बाली उब्जनी हुन्थ्यो। तर, २०२७ सालमा बबिया, लुहाले र त्रियुगा नदीमा आएको बाढी खेतमा पस्यो। जमिन पुर्यो।
चौधरी परिवार सुकुम्बासीसरह बन्यो। लालपुर्जा छ। तर, जग्गा बगरमा परिणत भएको छ। उनीहरू अहिले पनि जमिन उक्सने आशामा कर तिर्छन्।

‘आमाले जमिन संरक्षणका लागि धेरै ठाउँ चाहार्नु भयो। तर, कहीँबाट सुनवाइ भएन’, छेदीलाल भन्छन्, ‘तत्कालीन समयमा तटबाँधहरू लगाउने अवस्था नभएपछि जमिन खोलाकै भागमा अझै छ।’ सोही वडाका मुक्तिनाथ गौतमको नाममा रहेको पाँच बिघा बगर बनेको छ। छिमेकी हृदयनारायण राजधामीको सात बिघा, महिकर चौधरी सात बिघा, सवुरलाल राजधामीको तीन बिघा एकै समय खोलामा परिणत भयो। उनीहरू सबै सुकुम्बासी बने। उब्जनी हुने जग्गा बगर बनेपछि स्थानीयवासी कि वैदेशिक रोजगार कि त अरूकहाँ मजदुरी गरेर खान बाध्य भएको वडाध्यक्ष घमानसिंह खत्री बताउँछन्। भन्छन्, ‘हामीले थाहा पाउँदा जमिनदारहरू हेर्दाहेर्दै सुकुम्बासी बने। तीनवटा खोलाले मात्र २ नम्बर वडाका करिब ५ सय बिघा खेतीयोग्य जमिन बगरमा परिणत भयो।’

तत्कालीन सुन्दरपुर गाविस (हाल चौदण्डीगढी–५) का थुप्रै स्थानीयवासीको जग्गामा त्रियुगा नदी कुदिरहेको छ। कतै सुक्खा बगर छ। स्थानीय हरिकृष्ण बस्नेतका तीन दाजुभाइको २०, सोनालाल चौधरीको १०, रामकुमार चौधरीको आठ, रामवत्तीदेवी चौधरी पाँच, भुरुङ चौधरीको चार बिघा जमिन खोलाले पुर्यो। छेरु चौधरी, फागु चौधरी, भरत चौधरीको दुई÷दुई बिघाको लालपुर्जा छ। तर, त्यहाँ खोला कुद्छ। बालकदास चौधरीको एक बिघा पाँच कट्ठा, शान्तिराम बास्तोलाको एक बिघा पाँच कट्ठा, नथरीदेवी चौधरी, दीपेश चौधरीको एक÷एक बिघा, बलराम नेपालको १५ कट्ठा, प्रेम धमलाको १० कट्ठा खोलामै छ। उनीहरू सबैको जग्गा २०५३ सालको बाढीले पुरेको हो।

गाईघाटलाई छोएर बग्ने त्रियुगाको कटान र डुबानका कारण चौदण्डीगढी–५ सुन्दरपुरका ५ हजार जग्गाधनी पीडित छन्। यो थारू समुदायको बाक्लो बस्ती भएको स्थान हो। सुरुमा नदी कटानको पीडा सहेका उनीहरूको जमिन विभिन्न समयमा आएको बाढीले पुरेको छ। नदीले जग्गा कटान र बालुवाले पुरेपछि स्थानीय लल्कु चौधरी, मिश्रिलाल, मगलू चौधरीलगायत २४ भन्दा बढी जमिनदार परिवार गुजाराका लागि थातथलो छोडेर हिँडेका छन्। उनीहरूको त्रियुगा नदी आसपासको क्षेत्रमा प्रतिव्यक्ति १५–२० बिघा थियो। तर, अहिले एक बिघा पनि खेत छैन। खेतीयोग्य जमिन नदी कटान र सेताम्य बगरमा परिणत भएपछि थातथलो छोडेर हिँडेको चौदण्डीगढी–५ का वडाध्यक्ष देवनारायण चौधरी बताउँछन्।

‘३० बिघाभन्दा बढी खेतीयोग्य जमिन भएकाहरूको अहिले एक बिघा पनि जग्गा छैन’, वडाध्यक्ष चौधरी भन्छन्, ‘स्रेस्तामा अहिले पनि ३० बिघा जग्गा छ। तर, नापजाँच गर्दा मुस्किलले एक बिघामा खेती हुन्छ। बाँकी सबै खोलामा छ।’ नदी उकास हुन्छ कि भनेर सबै जग्गाको बर्सेनि मालपोत तिर्दै आएको वडाध्यक्ष चौधरी सुनाउँछन्। खेतीयोग्य जमिन खोलाले बगाएपछि धेरै युवा वैदेशिक रोजगार र काठमाडौंदेखि छिमेकी मुलुक भारत पुगेको उनी बताउँछन्।

त्रियुगा नदीका कारण विस्थापितहरू चौदण्डीगढी–५ का जुटपानी, धामीचाप, टोकनीलगायत चुरेवन क्षेत्रमा बसिरहेका छन्। उनीहरूको बसोबास अव्यवस्थित छ। यसले चुरे क्षेत्रमा अतिक्रमण बढेको स्थानीयवासी बताउँछन्।

खेतबारी नदीले ल्याएको बालुवाले पुरिएपछि झन्डै ७० प्रतिशत किसान मजदुरी गरेर गुजारा चलाइरहेको वडासदस्य तुलसी ढकाल बताउँछन्। ‘चुरे क्षेत्रबाट झरेका खहरेले बस्ती र तल्लो क्षेत्रको त्रियुगाले खेत पुरेपछि किसान ज्याल मजदुरी गर्न बाध्य भएका हुन्,’ उनी भन्छन्। चौदण्डीगढी–५ मा मात्रै ५ हजार ७ सय जग्गाधनीले मालपोत बुझाउने गरेका छन्। तर, तीमध्ये ७० प्रतिशतको खेतमा अहिले त्रियुगाको बालुवा मात्रै छ। उब्जनी नगरेको झन्डै २० वर्ष भएको वडासदस्य ढकालले बताउँछन्।

त्रियुगा नगरपालिका-२  
-छेदीलाल चौधरी (आमा भुन्टी थरुनीको नाममा) :  जग्गा १९ बिघा
-नवराज गौतम (वुवा मुक्तीनाथ गौतमको नाममा) : जग्गा ५ बिघा

चौदण्डिगढी नपा ५, साविक सुन्दरपुर गाविस 
-सुमन चौधरी (वुवा सोनालाल चौधरीको नाममा) : जग्गा १० बिघा
-रामकुमार चौधरी : जग्गा ८ बिघा
-रामवत्तिदेवी चौधरी : जग्गा ५ बिघा
-रामकुमार चौधरी (वुवा भुरुङ चौधरीको नाममा) : जग्गा ४ बिघा
-लक्ष्मी चौधरी (वुवा छेरु चौधरीको नाममा) : जग्गा २ बिघा
-नागिनकुमारी चौधरी (वुवा फागु चौधरीको नामा) : जग्गा २ बिघा
-प्रभु चौधरी (वुवा भरत चौधरीको नाममा) : जग्गा २ बिघा

अझै पढ्नुहाेस