चितवनका सुकराम महतो दम्पतीमाथि ‘जग्गा दलाल’को चरम खेलबाड

राजेश घिमिरे/चितवन।

डेढ दशकदेखि सानो झुप्रोमा बसेर मदजुरी गर्दै आएका कालिका–५ पदमपुरका सुकराम महतो र उनकी पत्नी बासमतीका दुइटा सपना थिए।

पहिलो, झुप्रो घर भत्काएर इँटावाला बनाउने। दोस्रो, १९ वर्षीय छोरालाई सेकेण्ड ह्याण्डको मोटरसाइकल किनिदिने।

यिनै सपना साकार पार्न दुबैले दैनिक ज्यालादारी मजदुरी गरेर ८० हजार रुपैयाँको इँटा जोरजाम गरिसकेका थिए। इँटामात्रै थुपारेर भएन, घर बनाउन त लाखौं रुपैयाँ चाहिन्थ्यो।

त्यत्रो पैसा कमाएर जुटाउन उनीहरूका लागि सम्भव नै थिएन। अर्काको घरमा हली बसेर कमाएको ९ हजार रुपैयाँ बुझाएर २०६० सालमा एक कट्ठा जमिन जोडेका थिए, सुकरामले। अहिले पनि त्यही जमिनमा काठपात जोडेर बनाएको छाप्रो छ। त्यसमै उनको गुजारा चल्छ।

सुकरामको नाममा बावुले दिएको २५ धुर जमिन भने थियो। राप्ती पारीबाट पदमपुर स्थानान्तरण गर्दा बावु वागड महतोले सरकारबाट पाएको ६ कट्ठा जमिनमध्ये सुकरामको भागमा २५ धुरमात्रै परेको थियो।

उनी र उनकी पत्नीको सपना पुरा गर्ने एउटै अस्त्र पनि यही जमिन थियो। घर बनाउने सपना पुरा गर्न उनीहरूले त्यही जमिन बेच्ने सल्लाह गरे।

सुकराम दम्पत्तीले जग्गा बिक्री गर्ने सोच बनाएको स्थानीय सुनिल शाहीले चाल पाएछन्।

‘जग्गा बेच्ने सोच बनाएको केही दिनमै किन्ने मान्छे घरैमा आइपुगे। यति छिट्टै जग्गा किन्ने मान्छे आउँदा खुसी भयौं,’ सुकरामले भने।

जग्गाको मोलमोलाई हुन थाल्यो। सुरूमा ३६ लाख दिन्छु भनेका शाही मोलमोलाइपछि ५० लाख दिन राजी भए।

उनले सुकरामलाई पदमपुरमै रहेको सिद्धार्थ बैंकमा खाता खोल्न लगाए। नविल बैंकको दश हजार रुपैयाँको ‘एसी पे’ चेक बुझएर हिँडे। सुकराम दंग परे।

भदौको पहिलो साता उनीहरूका बीच जग्गा किनबेचको सहमति भएको थियो।

‘असोज १ गते लकडाउन खुल्छ अनि कारोबार गरौंला भनेर उहाँहरू जानुभयो, हामी कहिले त्यो दिन आउला भनेर कुरेर बस्यौं,’ सुकरामले सुनाए।

असोज २ गते शुक्रबार जग्गा पास गर्ने तय भयो। सुकराम सपरिवार भरतपुर पुगे। जग्गा खरिद गर्न चाहेका थिए मांखा–७ सिन्धुपालचोकका अगस्त तामाङले। सुकरामको परिवार पैसा जम्मा भएपछि जग्गाको राजीनामा दिन तयार थियो। अगस्तले सुकरामका छोरा रोशनलाई गाडीमा चढाएर सिद्धार्थ बैंक लागे। उनीसँग सुकराम महतोको नाम लेखिएका नविल बैंकका दुइटा चेक थिए। एउटामा दश लाख रुपैयाँ लेखिएको थियो, अर्कोमा उनन्चालीस लाख पचास हजार रुपैयाँ। रोशनकै अघि अगस्तले भौचर भरे। बैंकमा बुझाए।

सुकराम जग्गा राजीनामा गर्न तम्तयार भएर मालपोत कार्यालय भरतपुरमा बसिरहेका थिए।

उनी छोराको तीन शब्दको पखाईमा थिए ‘पैसा जम्मा भयो’।

‘फोन गरेको छोरोले पैसा जम्मा भयो भन्यो, हामी भट्टाभट काम सुरू गर्न थाल्यौं’, उनले सुनाए। त्यही दिन जग्गा नामसारी भयो। राजीनामा पत्रमा श्रीमती र छोराले पनि ल्याप्चे लगाए। अगस्तले जग्गा मिलाइदिने सुनिल शाहीको नाममा माघ ४ गते पछि साटिने गरी एक लाख दश हजार रुपैयाँको चेक तयार पारेर थमाए। ५० लाखले छाप्रोसँगै जोडिएको अर्को एक कट्ठा जमिन पनि किन्ने सपना थपेर घरतिर लागे।

शुकरामलाई बैंक पुगेर ‘आफ्नो खातामा कति रुपैयाँ छ?’ सोध्न मन थियो। तर भोलिपल्ट शनिबार बैंक बन्द थियो। आइतबार दशै बजे बैंक पुगेर आफ्नो खाता नम्बर सुनाएर आग्रह गरे ‘कति रुपैयाँ छ हेर्दिनुस् न।’ उताबाट जवाफ आयो ७ सय २० रुपैयाँ।

सुकराम छाँगाबाट खसेझैं भए। उनको होस हवास उड्यो। सँगै उनको सपना पनि उडयो। बैंकमै डाँको छोडेर रून थाले। कर्मचारीहरूलाई पैसा जम्मा भएको आफ्नो छोराले देखेको कुरा सुनाए।

जवाफ आयो, ‘बैंकमा चेक जम्मा गरिएको खातामा पैसा छैन।’

छोराले आफैंले देखेको भनेको चेक र भौचरले सुकरामको सबै सपना उडायो।

सिद्धार्थ बैंक पदमपुर शाखाका प्रमुख सुनिल खनालकाअनुसार बैंकको भरतपुर शाखामा १० लाख र ३९ लाख ५० हजार रुपैयाँको चेक असोज २ गते जम्मा भएको थियो। तर क्लियरेन्समा पठाउँदा पैसा नपुगेको भन्दै चेक फिर्ता भएको उनले बताए। बैंककाअनुसार फिर्ता भएको चेक अगस्तले नै लगेका छन्।

सुकरामले जग्गा किन्ने अगस्त तामाङलाई फोन गरे।

‘भोलि २ बजेसम्म पैसा जम्मा हुन्छ भन्यो। जसरी पनि गर्दिनुस् भनेर फोन राखें,’ उनले सुनाए। भोलिपल्ट पनि बैंक गएर बुझे पैसा आएन। फेरि फोन गरे उस्तै जवाफ आयो। असोज ६ गते उनका ज्वाइँ नाता पर्ने सिखेन्द्र चौधरीले अगस्तलाई फोन गर्दा पनि जवाफ उस्तै आयो, ‘भोलिसम्ममा पैसा जम्मा गर्दिन्छु।’

भोलिपल्ट पनि पैसा जम्मा भएन। बरू मोबाइल ‘स्विच अफ’ भयो।

 

अझै पढ्नुहाेस