गच्छदारले किन एकाएक पत्रकार सम्मेलन गरे ?

कृष्ण ज्ञवाली
विशेष अदालतमा मुद्दा दायर भएको १७ महिना एक साता सार्वजनिक दृश्यबाट हराएका नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदार ३० असारमा एकाएक विशेष अदालतमा हाजिर भए र १० लाख रुपैंया धरौटीमा छुटे ।
ललिता निवास जग्गा अनियमितता प्रकरणमा ९ करोड ६५ लाख रुपैंयाको भ्रष्टाचार अभियोग लागेका पूर्वउपप्रधानमन्त्री गच्छदारले बुधबार काठमाडौंमा एकाएक पत्रकार सम्मेलन गरे र अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध आक्रोश पोखे ।
‘म करिव डेढ वर्षको मौनतापछि यहाँहरु समक्ष उभिएको छु । राजनीतिक प्रतिशोध साँध्ने उद्देेश्यले मात्रै मुछेर मुद्दा चलाईएको कुरालाई चर्चाको विषय बनाईएको छ’ उनले भने, ‘अख्तियारबाट यस जग्गा प्रकरणका सम्बन्धमा विशेष अदालत समक्ष दायर गरिएको मुद्दावाट उब्जिएका धेरैजसो पूर्वाग्रही कार्यहरु र आशंकाहरुवारे तपाईंहरु प्राय सबैजसो अनभिज्ञ हुनुहुन्न भन्ने मेरो विश्वास रहेको छ ।’
उनले आयोगको नेतृत्वले तत्कालिन ओली सरकारको छाँयाको रुपमा काम गरेको घुमाउरो आरोप समेत लगाए ।
किन एकाएक पत्रकार सम्मेलन ?
अख्तियारसम्बद्ध सूत्रहरुको भनाइमा मुद्दा चल्ने दिन -२०७६ माघ २२ गते) दिउँसो विशेष अदालत मुद्दा दायर हुँदासम्म पनि आफूलाई मुद्दा नचल्नेमा गच्छदार ढुक्क थिए ।
आफूविरुद्ध भइरहेको अनुसन्धानबारे गच्छदार कांग्रेसको सिफारिसमा आयुक्त बनेकी सावित्री गुरुङ थापाबाट अपडेट भइरहेका थिए । अख्तियारका तत्कालिन प्रमुख नविनकुमार घिमिरेको टिमले पनि ‘कुनै पनि राजनीतिज्ञलाई मुद्दा नचलाई अरुलाई मात्रै प्रतिवादी बनाउने गरी तयारी गरेको’ भन्ने सूचना प्रवाह गरिरहेको थियो ।
‘त्यतिबेला कुनै पनि राजनीतिज्ञमाथि मुद्दा चल्ने सूचना बाहिर चुहिएको भए अख्तियारले मुद्दा दायर गर्ने अवस्था नै हुने थिएन’ स्रोतले भन्यो, ‘एकाएक विहानमात्रै निर्णय भएर आरोपपत्र लैजाने तयारी भएपछि सबै पदाधिकारीले थाहा पाएका हुन् । त्यसपछि दिनभर सूचना बाहिरिने सम्भावना थिएन । मुद्दा दायर भएपछि मात्रै सबै थाहा भएको हो । त्यसैले गच्छदारले आफूविरुद्ध मुद्दा चलेपछि ठूलो झड्का खेपेको हुनुपर्छ ।’
भ्रष्टाचार मुद्दा दायर भइसकेपछि गच्छदार सार्वजनिक मञ्चहरुमा देखिन छाडे । किनभने आयोगमा हाजिर टुटाएको आरोप लागेका उनलाई जुनसुकै बेला पक्राउ गरेर विशेष अदालतमा पेश गर्न कानूनी अड्चन थिएन । त्यसमाथि आफूसँगै मुद्दा परेका दीप बस्न्यात र शोभाकान्त ढकाल लगायतलाई पुर्पक्ष थुनामा पठाउने विशेष अदालतको आदेशले उनी झस्किए । जब पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए, उनी विशेष अदालतमा हाजिर भए र १० लाख धरौटीमा छुटे । र, अदालतबाट रिहा भएको दुई महिनासम्म केही नबोलेका उनी कांग्रेस महाधिवेशनको सरगर्मी बढेसँगै पत्रकार सम्मेलन गर्ने हिम्मत निकाले ।
‘उपसभापति रहेका उनी यसपटकको महाधिवेशनमा पनि त्यही पदमा कायम रहन चाहन्छन्’ कांग्रेस सम्वद्ध स्रोतले भन्यो, ‘त्यसैको तयारीस्वरुप उनले पत्रकार सम्मेलन गरेका हुन् । किनभने एकैपटक महाधिवेशनमा जाँदा भ्रष्टाचारको आरोपी भन्ने आरोप लाग्थ्यो ।’ उनले फोरम लोकतान्त्रिकको समायोजनबाट २३ हजार बढी क्रियाशील लिएका छन् र करिव २/३ सय महाधिवेशन प्रतिनिधि भएका उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाका निणर्ायक सहयोगी समेत हुन् । नेतृत्वसँगको सल्लाहमै गच्छदारले पत्रकार सम्मेलन गरेको स्रोत बताउँछ ।
अझै पढ्नुहाेस
Facebook Comment